काठमाडौं– हेल्थ एन्ड ब्युटी एक्स्पो नेपाल २०१९ आयोजना हुने भएको छ। आगामी मंसिर ५ देखि ८ गते चल्ने एक्स्पो ब्रान्डवर्थ प्राइभेट लिमिटेड र सौन्दर्य कला व्यवसायी संघले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन्।
काठमाडौंस्थित भृकुटीमण्डपमा सञ्चालन हुने एक्स्पोले व्यक्तित्व विकास र आत्मविश्वास बढाउन समेत मद्दत गर्ने ब्रान्डबर्थ प्राइभेट लिमिटेडका सिइओ मोहन गजुरेलले आज आयोजित पत्रकार सम्मेलनमा बताए।
उनका अनुसार एक्स्पोमा शारीरिक तथा बौद्धिक सौन्दर्यमा सहयोग पु¥याउने सबैलाई एकै थलोमा भेला गराई वस्तु र सेवाबारे जानकारी दिइने छ।
एक्स्पोमा स्वास्थ्य संस्था, कस्मेटिक्स सामाग्री, सौन्दर्यसँग सम्बन्धित संस्थाहरु, मेकअप, स्पा, एन्ड वेलनेस, व्यावसायिक तालिम कोर्स, जिम तथा फिटनेस सेन्टर, योग तथा ध्यान केन्द्र लगायतका एक सय भन्दा बढी स्टल रहने आयोजकले जनाकारी गराएका छन्।
साथै, एक्स्पोमा छाला रोग विशेषज्ञहरुले छाला सम्बन्धी रोगबारे जानकारी गराउने र उनीहरुको सेमिनार समेत सञ्चालन हुनेछ।
कार्यक्रममा छाला रोग विशेषज्ञ डा रुपक घिमिरेले यस्तो खालाको एक्स्पोले मेडिकल टुरिजम प्रवद्धन गर्न मद्दत पुग्ने बताए।
पछिल्लो समयमा मानिस सौन्दर्यप्रति संवेदनशील बन्दै गएको र बजारमा पनि थरीथरीका सौन्दर्य सामाग्री भित्रिरहेको सन्दर्भमा बाहिरी सौन्दर्थका साथै स्वास्थ्यमा असर पर्ने हुँदा त्यस्ता सामाग्रीबारे सही सूचना प्रदान गर्न एक्स्पो प्रभावकारी हुने सौन्दर्य कला व्यवसायी संघका अध्यक्ष कमला क्षेष्ठले बताइन्।