काठमाडौं– ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले मुटुको उपचारका लागि गरिने विभिन्न ल्याब परीक्षण निःशुल्क गर्ने भएको छ।
विश्व मुटु दिवसको अवसर पारेर अस्पतालले यही असोज १२ गते इजिसी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण सित्तैमा गर्न लागेको हो।
लाइन्स क्लव अफ काठमाडौं अल्का र लियो क्लब अफ काठमाडौं अल्काले यही असोज १२ गते विश्व मुटु दिवस मनाउँदै छन् ।
स्वस्थ्य मुटु सुरक्षित भविष्य भन्ने नाराका साथ मनाउन लागिएको सो दिवसको अवसर पारेर सोही दिनका लागि मात्र यी परीक्षणमा पैसा नलाग्ने अल्का अस्पतालका सिइओ दिलिप थापाले बताए।
उनका अनुसार सो दिन अस्पताल परिसरमा गरिने निःशुल्क शिविरमा बिरामीहरुलाई १० दिनसम्मका लागि औषधि पनि निःशुल्क वितरण गरिने छ ।
शिविरमा जाँच गरेकाहरुको १४ दिनसम्म फलोअपमा आउँदा पनि पैसा तिर्नु नपर्ने उनले बताए।
अल्का अस्पतालले वरिष्ठ चिकित्सकहरुबाट मुटु रोगको उपचार गर्दै आएको छ। साथै अल्का अस्पतालले मुटु रोग पहिचानका लागि विभिन्न हेल्थ प्याकेजसमेत सार्वजनिक गरिसकेको छ।