‘धन्यवाद पशुपतिनाथ, मलाई क्यान्सर भएका बिरामीको मर्का बुझ्ने मौका दियौ,’ जीवनको ४० वर्षभन्दा बढी समय बिरामीकै पीरमर्का बुझेर बिताएका डा ध्रुवप्रसाद सिंहले एकदिन फेसबुकमा यस्तो लेखे। जसको अर्थ सोझो र सरल थिएन।
चिकित्सकीय जीवनको पूर्वाद्र्धमा उपत्यका बाहिरका विभिन्न जिल्ला र उत्तराद्र्धका १४ वर्ष वीर अस्पतालको इमर्जेन्सीमा बिताएका उनी ‘टायर्ड’ नभएरै ‘रिटायर्ड’ भएका हुन्। उमेरले ६९ वर्षको बर्खा झेलिरहेका उनमा जोश–जाँगरमा पटक्कै कमी आएको थिएन।
केही महिनाअघि आफ्नो प्रिय सवारीसाधन मोटरसाइकलमा यात्रा गर्दैगर्दा एक्कासि शरीरका केही हड्डीमा पीडा महसुस गरे उनले। एक्स–रेले देखायो– हड्डी त आफैं भाँचिएछन्। उमेरको उकालो उक्लिरहेका सिंहले ‘अस्टोयोपोरोसिस’ (हड्डी कमजोर बनाउने रोग) भएको ठानेर ६ महिना उपाचार गरे। तर आफूलाई यही रोग भएकोमा विश्वस्त भने हुन सकेनन्। उनलाई क्यान्सरका कारण पनि यस्तो समस्या आउनसक्ने ज्ञान थियो। भारत पुगेर चेकजाँच गराउने क्रममा पत्ता लाग्यो, मल्टिपल माइलोमा (क्यान्सर) भएको रहेछ।
अहिले केमो लिइरहेका छन्। तर क्यान्सरले दिने शारीरिक–मानसिक पीडालाई मनभित्रै दबाएर मुस्कुराइरहेका छन् उसैगरी। उनलाई नजिकबाट चिन्नेले महसुस गरेका छन्, डा सिंहको अवोध लाग्ने मुस्कान। शब्दमा त्यही मुस्कानको लेप लगाएर लेखिदिए– धन्यवाद पशुपतिनाथ, क्यान्सर बिरामीको मर्का बुझ्ने मौका दिएकोमा।
नेपालमा क्यान्सरका बिरामी कति मर्कामा छन् ? कति पीडा भोगिरहेका छन् ? औषधिमा कालाबजारीको कति महँगो मूल्य चुकाइरहेका छन् ? यसबाहेक केही खराब आचरणका डाक्टरले गर्ने ‘अनइथिकल अभ्यास’ को शिकार कसरी भइरहेका छन् ? डा सिंहले भोगे। त्यसैले यस्तो लेखे। त्यो लेखाइ क्यान्सरको उपचारमा सक्रिय केही नेपाली डाक्टरका लागि घुमाउरो व्यंग्य पनि थियो। बुझ्नेले बुझे होलान् !
क्यान्सर भएपछिका आफ्ना भोगाइ थोरै बताएपछि उनी जीवनको अतितमा विचरण गरे।
सप्तरीको दक्षिणी भागमा अवस्थित बनेनियामा जन्मिएका डा. सिंहको बसोबास अहिले ललितपुरको हात्तिबनमा छ। २००७ सालतिरै बनेनिया नेपालकै शिक्षित ठाउँमध्ये गनिन्थ्यो। डा सिंहका अनुसार त्यो समयमै उनको गाउँमा डिग्रीधारी चार जना थिए। त्यो गाउँका शिक्षितमध्ये तेस्रो पुस्ताका हुन् उनी। बोर्डर नजिकैको गाउँ भएकाले भारतका ‘म्याट्रिक्स’ फेलहरु उनको गाउँमा पढाउन आउँथे। प्रारम्भिक शिक्षा सबैको उनीहरुबाटै सुरु हुन्थ्यो। सिंह पनि महिनामा ८/१० माना चामल र दुई÷चार रुपैयाँ शुल्क तिर्नेगरी ती शिक्षकका चेला बने।
प्रारम्भिक शिक्षा यसरी हासिल गरेपछि बाँकी शिक्षा उनले बोर्डरमै रहेको एक विद्यालयमा गरे। कक्षा ८ देखि आइएससी भारतको मुजफ्फरपुर पुगेर गरे। आइएससी सकिएपछि चिकित्सा र इञ्जिनियरिङका लागि तत्कालीन श्री ५ को सरकारले छात्रवृत्ति दिन्थ्यो। छात्रवृत्तिका लागि हुने परीक्षा दिन उनी काठमाडौं आए। उनको ब्याचमा तेस्रो नम्बरमा नाम निस्क्यो। चिकित्सा पढ्ने चाहना व्यक्त गरेका उनलाई भारतको तत्कालीन भागलपुर मेडिकल कलेजमा पढ्न पठाइयो। ६ वर्षे कोर्सका लागि पठाइएका उनी जयप्रकाश आन्दोलनको मारमा परेर ७ वर्षमा मात्रै पासआउट हुन सके।
एमबिबिएस पास गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइपुगे। मन्त्रालयले उनलाई त्यो समय दुर्गम क्षेत्रकै वर्गीकरणमा रहेको दोलखामा पठायो। २०३८ सालमा ८ सय रुपैयाँ तलब पाउनेगरी त्यहाँ पुगेका थिए। साढे ४ वर्ष दोलखा बसे। मधेशको दक्षिणी भेगमा जन्मेहुर्केका उनले पहाडको माथिल्लो भू–भागबाट सेवा प्रारम्भ गर्दाका दुःख त थिए। तर जहाँ पुगे पनि चाँडै घुलमिल हुने स्वभावले उनलाई दोलखाबासी जस्तै बनायो। एउटा डाक्टर आफ्नै सेवामा खटेको दोलाखालीहरुले महसुस गरेका थिए। उनीहरुले प्रेम दिए। हिँडेरै डाँडाकाँडा चहार्नुपर्ने त्यो समयमा दोलखाको कुनै गाउँ छैन, जहाँ उनी नपुगेका हुन्। धेरै ठाउँमा उनी परिवार नियोजनको क्याम्प लिएर पुगेका थिए।
पहाडको कष्टकर र गरिबीमा रमाइरहेका केही पात्रहरुबाट डा सिंह प्रभावित भए, जसले जीवनको शब्दकोषबाट लालच भन्ने शब्द हटाउन प्रेरित ग¥यो। त्यसैले सेतो कोटवाला जीवन बेदाग राखेर अवकाश प्राप्त गरे डा सिंहले।
पैसाका लागि निजी चिकित्सकीय अभ्यासबाट आफूलाई सकेसम्म दूर राखे। जहाँ गर्नैपर्ने भयो, त्यहाँ पनि चिकित्सकीय जाँचको शुल्क न्युनतम राख्न सफल भए। निजी चिकित्सकीय अभ्यासमा मरिहत्ते नगर्नुमा उनलाई एउटा आत्मज्ञानले सघाएको हो। त्यो थियो, ‘निजीले सय रुपैयाँ चोर्न लगाउँछन्। त्यसमा ३० मात्रै डाक्टरलाई दिन्छन्। तर चोर सयकै बनाउँछन्।’
त्यसैले अस्पतालको कामबाट जोगिएको समय उनले बालाजी परोपकार समिति लगायतका कल्याणकारी ठाउँमा निःशुल्क सेवा दिएर सदुपयोग गरे। निजी अस्पतालमा काम गरिदिन गरिएका धेरै चिकित्सक मित्रकै आग्रह टारे।
दोलखामा उनलाई अस्थायी कोटामा पठाइएको थियो। उनले स्थायीका लागि त्यहीँबाट काठमाडौं आएर पटक–पटक परीक्षा दिए। अन्तर्वार्ताका माध्यमबाट हुने परीक्षा आफूले राम्ररी दिएको ठान्थे उनी तर नाम कहिल्यै निस्केन। त्यसपछि उनका साथीहरुले दुर्गममा बसेर लोकसेवा पास हुन नसक्ने ‘क्लु’ दिए।
सोर्सफोर्स चल्ने समयमा आफ्नै बलबुतामा पास हुने कोसिसमा लागेका सिंह चार वर्ष लगातार असफल भएपछि काठमाडौंकै अस्पताल आउने प्रयासमा लागे। लामो समय दुर्गममा सेवा दिएका कारण उनलाई टेकु अस्पताल भनिने हालको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा गरियो। त्यहीँ काम गरिरहेका डा गोविन्द केसीसँग उनको दोस्तीको सुरुवात भयो। अस्पतालमा बिरामीको उपचार गर्ने मात्रै होइन, बृक्षरोपण गर्नेसम्मका काम डा सिंह र डा केसीले गरे। जसका केही सम्झना तस्बिरमा समेत उतारेर राखेका छन् उनले।
काठमाडौं सरुवा भएपछि आफू लोकसेवामा लगातार असफल हुनुको कारण पत्ता लगाउन थाले। यस क्रममा उनका अग्रजहरुले लोकसेवा आयोगका अध्यक्षलाई भेट्न सुझाव दिए। आफूले राम्रै गर्दा पनि फेल हुनुको कारणबारे तत्कालीन राजभण्डारी थरका लोकसेवा आयोग अध्यक्षसँग उनले थुप्रै प्रश्न गरे। आक्रोश मिश्रित प्रश्नहरु उनले सुनिसकेपछि जवाफ दिएका थिए, ‘हरेश नखानुहोस्, भइहाल्छ।’
उनी त्यहाँबाट निस्केर अस्पताल आउन नपाउँदै लोकसेवाले स्थायी डाक्टरका लागि विज्ञापन निकाल्यो। उनले फेरि लोकसेवा दिए। उनको क्रियाको प्रतिक्रिया थियो विज्ञापन। उनी पास नहुने कुरै भएन।
स्थायी भएपछि २०४५ सालसम्म उनले टेकु अस्पतालमै काम गरे। त्यसपछि सप्तरीको रंगोली अस्पताल पठाइयो। बर्खाको समय त्यहाँ पुगेका उनी सम्झिन्छन्, ‘अस्पतालको छत पूरै चुहिने रहेछ। बिरामी कोही अस्पतालभित्र पस्नै नमान्ने रहेछन्।’
आफू गएको ठाउँमा उपचार सेवा नदिएर जागिर पकाउने मानसिकताका चिकित्सक भएका भए निजी क्लिनिक चलाउँथे। अस्पतालको त्यस्तै बिजोग हुन्थ्यो। उनले अस्पतालको सुधारको काम थाले। सबैभन्दा पहिले चुहिने छत टाल्न उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनेक पत्र पठाए। सार्वजनिक निर्माण शाखालाई गुहारे। कुनै उपाय लागेन। त्यसपछि उनीसँग अर्को उपाय थियो, सार्वजनिक निर्माण शाखाका इञ्जिनियरलाई फकाउने। ‘उनीहरुलाई साथी बनाएँ। एक महिनाको तलब उनीहरुको मेजमानीमा खर्च गरेँ। त्यसपछि उनीहरुले छतको ढलान गरेर अस्पताल बस्न योग्य बनाइदिए,’ उनले सम्झिए।
डा सिंहले अस्पतालका लागि चाहिने सामग्रीसमेत आफ्नै पैसाले किने। यसरी त्यहाँको अस्पतालको स्तर उकास्दै थिए, एकजना उनकै साथी सरुवा भएर त्यहाँ आइपुगे। उनलाई भने उदयपुरको गाईघाट अस्पताल सरुवा गराएछन्। यस्तो अवस्थामा सरुवा हुँदा उनी चकित परे। तर पछि उनले थाहा पाए, मन्त्रालयका एक सहसचिवलाई ११ हजार रुपैयाँ दिएर उनी सरुवा भएर आएछन्। गाईघाट अस्पतालमा पनि हविगत उस्तै थियो। अस्पताल सुँगुरको अखडा भएको थियो। त्यसको सुधारका लागि योजना बनाउँदै थिए, उनी एमडिजिपी अध्ययनका लागि शिक्षण अस्पताल महाराजगञ्ज आए।
एमडिजिपी भइसकेपछि पनि सरकारले तोकेका ठाउँमा पुगेर उनी सेवा दिइरहेका थिए। यस क्रममा धनकुटा, सिरहा र राजविराज पुगेर चिकित्सकीय सेवा दिएका छन्। उपचार मात्रै होइन, उनले जनस्वास्थ्य क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका छन्। सिरहामा रहँदा उनले कालाजार नियन्त्रणमा अहं भूमिका निर्वाह गरेका थिए। सरकारको टाउको दुःखाइ बनेको सिरहाको कालाजार नियन्त्रणमा उनले अबलम्वन गरेको उक्त उपायको निकै तारिफ भएको थियो। एक पल्ट कालाजारबाट ग्रस्त ६८ जनालाई ‘घरदैलोमै सेवा’ दिएर उनले निको पारेको कुरा डब्लुएचओको समेत बहसको विषय बनेको थियो।
कालाजारको उपचार गरेपछि पनि निर्मूल हुन नसक्नुको उपाय खोजे उनले। पत्ता लगाए, ‘कालाजारका लागि छर्किनुपर्ने किट छर्किने नै रहेन छ। नेताहरुका वरिपरिकाले छर्किनका लागि औषधि र भत्ता बुझ्ने रहेछन् तर सबैतिर छर्किने रहेनछन्।’ उनले स्थानीय गाविस अध्यक्षलाई उक्त औषधि छर्किन चार जना नयाँ युवा तालिमका लागि पठाउन आग्रह गरे। उनीहरुलाई तालिम दिएर गाउँ–गाउँमा औषधि छर्केपछि सिरहाको कालाजारको महामारी नियन्त्रणमा आएको थियो। धोबियाघाटको मुसहर बस्तीमा बिरामीको उपचार गर्नुका साथै खानका लागि चामलसमेत जुटाएको सम्झना उनीसँग छ। ती सेवाको दिन सम्झेर उनी आनन्दको श्वास लिन्छन्।
आफूलाई खटाइएको ठाउँमा सकेसम्म धेरै सेवा दिने प्रयास उनको रहन्थ्यो। तर जागिरे जीवनमा इमान्दारिता मात्रै सबथोक नहुने महसुस उनले पटक–पटक गरे। त्यसमध्ये एक पल्ट त कान्तिपुर पत्रिकाको एक पेजभरि राजिनामा लेखेर सरकारी सेवाबाट बिदा लिउँ जस्तो लागेको थियो। यसका लागि उनले आफूले चिनेका पत्रकारको सहयोग मागेका थिए। तर उक्त भावावेश सही नहुने सल्लाह निकटस्थहरुले दिएपछि रोकिए।
उनी उपत्यका बाहिरै रमाइरहेका थिए। यता माओवादी आन्दोलन चर्किंदो थियो। उनले सिरहामा काम गर्दा चिकित्सकीय सेवा लिनेमा माओवादी नेताहरु पनि थिए। उनलाई नजिकबाट चिन्नेले त्यसो नगर्न सुझाउँथे। तर, उनले चिकित्सकीय धर्म निर्वाह गरिरहे। माओवादीलाई उपचार सेवा दिएको भन्दै सेनाले नेपालगञ्जका केही चिकित्सक पक्रेको खबर सुने उनले। त्यसपछि भने डराए। ‘उपचार गर्दिनँ’ भन्नुभन्दा त्यहाँबाट निस्किनु बेस ठानेर उनी काठमाडौं उपत्यका सरुवा भएर आए। दुई वर्ष उनले भक्तपुर अस्पतालमा काम गरे। त्यसपपछि उनलाई वीर अस्पताल सरुवा गरियो।
वीर अस्पतालको पनि इमर्जेन्सी विभागको जिम्मा पाए। यसै पनि वीर अस्पतालको इमर्जेन्सी सजिलो ठाउँ होइन। सहरभरिका बेवारिसे बिरामी प्रहरीले त्यहीँ छाडिदिन्छ। राजधानीको मध्यभागमा भएका कारण आपतकालीन अवस्था सम्झिइने अस्पताल नै वीर हो। पेसाको १४ वर्ष इमर्जेन्सीको प्रमुख भएर बिताए। यहाँ उनले बिरामी पक्षको झापडदेखि मन्त्रीको छड्केसम्म सहे। तर ती उनको गल्तीको परिणाम नभई सही गर्दागर्दैका सजाय थिए। उनलाई त्यो झापड सम्झना छ, ‘एक एन्जाइटी न्युरोसिसका बिरामी थिए। यस्तो बिरामीलाई जति धेरै केयर ग¥यो, त्यति समस्या हुन्छ। त्यसैले हामी आधारभूत उपचार गरेर केयर नगरेको जस्तो गरिदिन्छौं। तर, उसका आफन्तले आफ्नो बिरामीसँगै डाक्टर नबसेको भनेर गालामा झापड हान्यो।’
एक पल्ट उनको भलो नचाहनेले षड्यन्त्र गरे। तत्कालीन स्वास्थ्यमन्त्रीसम्म पहुँच भएका उनले ड्युटीमा डा सिंहलाई नदेखेपछि स्वास्थ्यमन्त्री बोलाएका थिए। तत्कालीन माओवादीका तर्फबाट स्वास्थ्यमन्त्री बनेका उनले छड्के गरे। डा सिंह नभेटिएपछि स्पष्टीकरण सोध्ने निर्णय लिए। तर अवस्था कस्तो थियो भने मन्त्रीले छड्के आठ बजे गरे, डा सिंहको ड्युटी ९ बजेबाट आरम्भ हुन्थ्यो। नियतबस गरिएको छड्केले मन्त्रीलाई उल्टै अप्ठ्यारो पर्यो।
डाक्टरहरुले औषधिका बजार प्रतिनिधि (एमआर) को लोभमा परेर अनावश्यक औषधि लेखिदिने गुनासो सुनिइरहन्छन्। तर डा सिंहले एमआरको सियो पनि लिएनन्। उनले जरुरी पर्दा मात्रै औषधि लेख्थे। रोगको निदान पनि सकेसम्म बिरामीसँग लामो समय कुरा गरेर गर्न खोज्थे। त्यसैले एक समय उनको बारेमा सिरहा जिल्ला अस्पताल वरिपरिका औषधि पसलेले हल्ला गरे, ‘फलानो डाक्टरलाई त उपचार गर्नै आउँदैन।’ बिरामीलाई धेरै समय दिन रुचाउने उनको यही बानीले उपचारमा निकै मद्दत पुगेको छ। अनेक डाक्टर र अस्पताल धाएर आएका बिरामीको रोगको पहिचान गरेर चर्चासमेत कमाएका कति उदाहरण छन्।
डा सिंह एउटा घटना सम्झिन्छन्, ‘सिरहाबाट एक परिवारले बच्चा बिरामी भएर त्यतिबेला म कार्यरत काठमाडौंस्थित एक अस्पताल ल्याइपु¥यायो। मकहाँ ल्याउनुअघि अरु डाक्टरलाई देखाइसकेको रहेछ। सानो बच्चाको कलेजो सुन्निएको पाइयो। कसरी त्यस्तो भयो भन्ने पत्ता लाग्न सकेन। मैले बिरामीका आफन्तसँग उनीहरुको चालचलन, खानपान आदिसमेत गरेर डेढ घन्टा कुरा गरें। यस क्रममा पत्ता लाग्यो, बच्चाको बुबाले हरेक दिन मदिरा पिउने रहेछ र मातमा एक चम्चा जति बच्चालाई पनि खुवाउने गरेको रहेछ।’ त्यो बालकको समस्याको पहिचान गरेका कारण उनको चिकित्सकीय क्षमताको प्रशंसा जिल्लाभरि फैलियो।
सधैं आफूले जानेकै कुरामा मात्रै सेवा दिएर पुग्दैन चिकित्सामा। कहिलेकाहीँ जीवन जोगाउन प्रयोग पनि गर्नुपर्छ। जोखिम मोल्नुपर्छ। अनेक पल्ट उनले जोखिम मोलेर जीवनदान दिएका छन्। त्यसमध्ये दोलखा जिल्ला अस्पतालमा कार्यरत रहँदा सुत्केरी हुन नसकेकी रामेछापकी एक महिलालाई व्यथा लागेको चार दिनपछि जिरी अस्पताल ल्याइयो। बच्चाको हात मात्रै बाहिर निस्केको थियो। पेटभित्रै मरिसकेको बच्चा जन्माउन नसकी आमा छटपटाइरहेकी थिइन्। एमबिबिएस मात्रै पास गरेका उनले प्रसूति हुन नसकेपछि गर्ने शल्यक्रियाको धेरै ज्ञान लिएका थिएनन्। एमबिबिएस पढ्दा प्रसूति वार्डमा अभ्यासका लागि पठाउँदा छलेर हिँडेका थिए। तर कार्यक्षेत्रमा आइलाग्यो। उनले गर्भवतीलाई सलाइन दिएर किताब पल्टाए। किताबमा पढ्दै, यता अभ्यास गर्दै गरेर महिलाको ज्यान जोगाए। अवकाशप्राप्त जीवनमा यस्ता दृष्यहरु उनको आँखामा नाँचिरहन्छन्।
वीर अस्पतालको इमर्जेन्सी सेवा प्रभावकारी बनाउन उनले कुनै कसुर बाँकी राखेनन्। वीर अस्पतालको इमर्जेन्सीबाट बिरामी बाहिर रिफर हुनु वा त्यहाँका चिकित्सकले खप्की खानुमा अस्पतालको प्रणालीको कमजोरी महसुस गरेका छन्। यसबारे उनले पटक–पटक कुरा उठाए पनि अपेक्षित करेक्सन भएन। उक्त प्रणालीका कारण उनी आफैं पनि अप्ठ्यारोमा परेका छन्। अक्सर अस्पतालमा ‘बेड खाली छैन’ भन्ने उत्तर आउनुसँग व्यवस्थापकीय कमजोरी पनि उत्तिकै रहेको उनले देखेका छन्। उनी भन्छन्, ‘हामी इमर्जेन्सीबाट बेड खाली छ ? भनेर सोध्छौं। उता वार्डमा रहेको मान्छेले हुँदा पनि ‘छैन’ भनिदिन्छ। बिरामीलाई त्यही जानकारी दिन्छौं।’
सबै बिरामीका आफन्त सोझा हुँदैनन्। उनीहरुलाई अस्पतालको कमजोरी थाहा हुन्छ। आफैं वार्डमा पुगेर बेड हेरेर आएर इमर्जेन्सीको डाक्टरलाई गाली गर्ने गरेको उनले भोगेका छन्। इमर्जेन्सी सेवा प्रभावकारी बनाउन लागिपर्नुका साथै आवश्यक उपकरणको तर्जुमासमेत उनले गरेका छन्।
डा सिंहलाई चिन्नेहरु भन्छन्, ‘उनले पैसा चाहिँ त्यति कमाएनन्।’ उनलाई लाग्छ, ‘मेरो प्राथमिकता नै थिएन त्यो।’ उनी जहाँ पुगेका छन्, त्यहाँ प्रशंसित बनेका छन्। ‘प्रशंसा पैसाभन्दा धेरै माथि हुन्छ,’ डा सिंहको बुझाइ छ।