भैरहवा- रुपन्देहीको पुरानो भीम अस्पताल सुधार गर्ने योजना अघि सारिएको छ। अस्पतालबाट तिहारपछि २४सै घन्टा फार्मेसी, ल्याब र एक्सरे सेवा प्रदान गर्ने लक्ष्य सार्वजनिक गरिएको हो।
अस्पतालमा चौबीसै घन्टा सेवा प्रवाह गर्ने लक्ष्य लिइएको मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले बताएका छन्। ल्याब, फार्मेसी, एक्सरे सेवा अहिले दैनिक ९ घन्टा मात्र सञ्चालनमा छन्।
५ दिनअघि मात्रै मेडिकल सुपरिटेन्डेन्टका रुपमा नियुक्ति लिएर आएका डा दर्नालले अस्पताल सुधारको योजना अघि सारेका हुन्।
स्थापनाकालमा ३ शय्याबाट सुरु भएको अस्पताल २०३५ सालमा १५ शय्या र २०४१ सालबाट २५ शय्याको सुविधा प्रदान गर्दै आएको छ। तर पनि अस्पताल चौबीसै घन्टा सेवा प्रवाह हुन सकेको छैन।
डा दर्नालले शल्यक्रिया सेवा अन्तर्गत पेट चिरेर पाठेघरको शल्यक्रिया गर्न थालिएको बताए। त्यसैगरी बालरोगसम्बन्धी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा पनि सुचारु गर्ने तयारीका साथ काम गरिरहेको उनले बताए। अस्पतालको विकासका लागि अस्पतालमा कार्यरत कर्मचारीहरुको टिम निर्माण गरेर अगाडि बढेको उनले उल्लेख गरे।
अस्पताललाई सफा र सुन्दर बनाउन फूलबारी निर्माण गर्ने, शुद्ध पिउने पानीको व्यवस्था तथा ओपिडीमा चेकजाँचका लागि टिकट लिने ठाँउमा भीड व्यवस्थापन र बिरामीको सहजताका लागि टोकन सिस्टम लागू गर्ने तयारी अस्पतालको रहेको बताएका छन्।

विसं १९९० सालमा स्थापना भएको सिद्धार्थनगर नगरपालिकासहित जिल्लाको पूर्वी र दक्षिणी भेगका ५ लाख जनसंख्याले लाभ लिने अस्पताल भए पनि पूर्वाधार विकास र दक्ष जनशक्तिको अभावमा आशातीत सेवा प्रवाह गर्न सकेको छैन।
उक्त अस्पतालबाट हाल वार्षिक करिब ७० हजारले सेवा लिईरहेको भीम अस्पतालका अहेब गोपाल उपाध्याय बताउँछन्।