माडी- चितवनको माडी नगरपालिकाको एकमात्र अस्पताल बघौडा अस्पतालले ‘माइनर’ शल्यक्रियाको सेवा सुरु गरेको छ। कुल १५ श्ययाको बिरामी भर्ना सुविधासहित सेवा सुरु भएपछि शल्यक्रियाका लागि भरतपुर जानुपर्ने बाध्यता हटेको छ।
विसं २०७० को मन्त्रिपरिषद्को निर्णयले उपस्वास्थ्यचौकीलाई १५ श्ययाको अस्पतालको रुपमा विकास गरेको थियो। अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधारको अभावले गर्दा सेवा प्रदान गर्न सकेको थिएन। लामो समयसम्म अस्पतालले हाडजोर्नीको प्लाष्टर र साधारण सुत्केरी गराउने गरेको थियो। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा आलोक कुमारका अनुसार साधारण शल्यक्रियाका सबै र मुख्य शल्यक्रियाअन्तर्गत सुत्केरी सेवा दिइनेछ।
अस्पतालमा विशिष्टकृत चिकित्सक, स्टाफ नर्स, प्यारामेडिक्स, अहेबसहित ३९ स्वास्थ्यकर्मी छन्। माडी नगरपालिकाको पहलमा अस्पतालमा आवश्यक सामग्री खरिद गरी औपचारिकरुपमा सेवा सुरु गरिएको हो। हाल दैनिक २०० बिरामीको स्वास्थ्य जाँच तथा उपचार र मासिक ३० जना सुत्केरी हुने गरेको मेसु डा कुमारले जानकारी दिए।
बिरामीको चापलाई मध्यनगर राख्दै अस्पताललाई ५० श्ययाको अस्पतालमा स्तरोन्नति गर्न केन्द्रीय सरकारसँग माग गरिएको उनले बताए।
करीब ४३ हजार जनसङ्ख्या रहेको माडीमा सामान्य उपचारबाहेक विशिष्टकृत सेवाका लागि भारत र सदरमुकाम भरतपुर जानुपर्ने अवस्था थियो। माडीमै शल्यक्रियाको सेवा प्रारम्भ भएपछि माडीवासी खुसी भएका छन्। रासस/तस्बिर-गोविन्द न्यौपाने