ललितपुर- आधुनिक पद्धतिबाट शरिरको एन्टिबडी निकाल्ने थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज प्रक्रिया सफल भएको छ। अस्पतालले पहिलो पटक एक ३३ वर्षिय पुरुष बिरामीमा यो उपचार गरेको हो।
बिरामीको मिर्गौला, मुटु र फोक्सोमा समस्या रहेको छ। उनमा यो उपचार प्रभावकारी भएको अस्पतालले जनाएको छ।
अस्पतालका आइसियु विभाग प्रमुख डा दिप्तेश अर्यालका अनुसार बिरामीमा भास्कोलाइटिस विथ किड्नी फेल्युर विथ हेमोरेजको समस्या रहेको थियो।
मिर्गौलासँगै नसारोग, फोक्सोरोग, सेप्सीस, इन्डोक्राइन सम्बन्धित लगायतका अन्य समस्या भएको अवस्थामा पनि यो पद्धति अपनाउन सकिने डा अर्यालको भनाइ छ।
रगतमा हुने तरलता र रक्तकोशबाट प्रोटिन निकाली अर्को प्लाज्मा राख्ने यो प्रक्रियाकालागि करिब २ घण्टा लागेको थियो। सोमबार पहिलोपटक सफल भएको थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज बिरामीमा थप केहि चरण गर्न आवश्यक रहेको चिकित्सकहरुको भनाइ छ।
मेडिसिटीको ब्लड बैंक इन्चार्ज बिपुल गौतमका अनुसार थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज प्रक्रिया एफेरेसिस उपकरणबाट सम्भव भएको हो। अस्पतालमा एफेरेसिसले स्टिम सेल, रेडसेल एक्स्चेन्स, प्लेटलेट एक्स्चेन्ज लगायतका कार्य गर्दै आइरहेको उनले जानकारी दिए।