काठमाडौं– पोषणसम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलन आगामी कात्तिकमा काठमाडौंमा हुने भएको छ। ‘मानव र पृथ्वीलाई सँगै पोषित गर्दै’ भन्ने नाराका साथ पोषण विस्तार अभियान (‘स्केलिङ अप न्युट्रिसन– सन मुभमेन्ट’) को अन्तर्राष्ट्रिय सम्मेलन आगामी कात्तिक १८ देखि २१ सम्म हुन लागेको हो।
सन मुभमेन्टको सुरुवाती चरणको सदस्यकै रुपमा सन् २०११ मा सहभागी भएपछि नेपालले कुपोषण घटाउने कार्यमा उल्लेख्य प्रगति हासिल गरेको छ।
नेपाल सरकारको नेतृत्वमा हुने यो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीहरुले न्युन पोषण र मोटोपनसहित कुपोषण अन्त्य गर्न विश्वभरि प्रभावकारी भइरहेका प्रयासहरुबारे छलफल गर्ने छन्।
मानव र पृथ्वीलाई नै सुपोषित गर्ने रुपान्तरणकारी सरकारी प्रतिवद्धताहरुलाई सन् २०२० डिसेम्बरमा हुने ‘वृद्धिका लागि पोषण टोकियो शिखर सम्मेलन’ लाई समेत दृष्टिगत गरी छलफल हुने अयोजकको भनाइ छ।
आर्थिक र सामाजिक विकासको मुटु नै पोषण हो। असमानता घटाउने र सबैको लागि गरिबी उन्मुलन गर्ने प्रमुख उपाय पनि पोषण नै भएको बताइन्छ।
यी तथ्यका बाबजुद संसारभर मर्ने बालबालिकामध्ये आधा जति कुपोषणका कारण आफ्नो जीवन गुमाउन पुग्छन्।
कमसल आहार नै मृत्युको प्रमुख कारण हो जसले सुर्ती सेवन, उच्च रक्तचाप वा अन्य स्वास्थ्य समस्याले भन्दा बढी ज्यान लिने बताइन्छ।
नेपालको नेतृत्वमा हुने पोषण विस्तार अभियानको यो अन्तर्राष्ट्रिय सम्मेलनले पोषण क्षेत्रमा काम गर्ने प्रमुख सरोकारवालाहरुलाई एक ठाउँमा ल्याई सबै प्रकारका कुपोषणलाई इतिहासमा सीमित गर्दै दिगो विकास लक्ष्य प्राप्तितर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।
नेपाल सरकारले र सन मुभमेन्टको संयुक्त आयोजनमा हुने उक्त सम्मेलनमा विभिन्न राष्ट्रका राष्ट्र प्रमुखसहित एक हजार भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सो सम्मेलनमा युनिसेफकी कार्यकारी निर्देशक तथा सन् लिड ग्रुपकी अध्यक्ष हेन्रिता एच फोर, संयुक्त राष्ट्रसंघकी सहायक महासचिव तथा सन मुभमेन्टकी संयोजक गेर्डा भर्बर्ग लगायत उपस्थित हुने छन्।