काठमाडौँ- मेनोपज सोसाइटी अफ नेपालले तेस्राे विश्व मेनोपज दिवसकाे अवसर पारेर मेनाेपज सम्बन्धी न्युजलेटर र निर्देशिका सार्वजनिक गरेकाे छ।
शुक्रबार राजधानीमा आयाेजित कार्यक्रममा बोल्दै वरिष्ठ अर्थोपेडिक सर्जन शैलज रञ्जितकारले मेनोपज सुरु भएको ५ देखि ७ वर्षको अवधिमा महिलाको २० प्रतिशत बोन डेन्सिटी कम हुने हुदाँ मुटु र हाडको समस्या उत्पन्न हुने बताए।
उनले त्यसका लागि भिटामिन डि र क्याल्सियमयुक्त खानेकुरा प्रशस्त मात्रमा खाना खान जाेड दिए।
'हार्मोन उत्पादन नहुने हुदाँ हाडजोर्नी कमजोर हुन्छ र विशेषगरी ४० कटेपछि महिलालाई हड्डी फ्याक्चर हुने समस्या बढी मात्रामा देखिन्छ,'उनले भने।
साे अवसरमा बाेल्दै साेसाइटीकी अध्यक्ष तथा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा अचला वैद्यले महिनावारी सुकेका महिलाकाे उपचारमा सार्वजनिक गरेकाे गाइडलाइनले सहयाेग पुग्ने बताइन्।
डा अचलाले साेसाइटीकाे बारेमा प्रकाश पार्दै यसले मेनोपज भएका महिलाहरुलाई सेवा दिने उदेश्यले ७ वर्ष अगाडी सोसाइटीकाे स्थापना गरी महिनावारी सुकेका महिलालाई सहयाेग गर्दै आएकाे जानकारी गराईन्।
उनका अनुसार सोसाइटीले गाउँगाउँमा गएर मेनाेपज सम्बन्धि जनचेतनामुलक कार्यक्रम गर्नुका साथै मेनाेपजपछि क्यान्सर भए-नभएकाे जाँज गर्न नि:शुल्क शिविर आयोजना गर्दै आएकाे छ।