काठमाडौं– संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (युएनएफपिए) की कार्यकारी निर्देशक तथा संयुक्त राष्ट्रसंघकी उप महासचिव डा नतालिया कनेम नेपाल भ्रमणमा आएकी छन्।
कायरो सम्मेलनको दूरदृष्टि तथा सन् २०३० सम्म सम्मेलनको कार्ययोजनाको पूर्ण कार्यान्वयनमा नेपाल सरकारले हालसम्म हसिल गरेका महत्वपूर्ण उपलब्धिहरुसँग साक्षात्कार हुन युएनएफपिएबाट उच्चस्तरीय दुई दिने भ्रमणमा उनी आएकी हुन्
आगामी नोभेम्बर १२ देखि १४ सम्म नैरोबीमा आयोजना हुन लागेको आइसिपिडीको २५औँ शिखर सम्मेलनमा प्रजनन् अधिकार सुनिश्चिततामा नेतृत्वदायी भूमिका सहित सहभागी हुन सरकारको उच्च तहलाई आमन्त्रण गर्ने डा कनेमको उद्देश्यले रहेको छ।
डा कनेमको यो पहिलो औपचारिक भ्रमण हो। उनीसँगै एसिया र प्रशान्तका लागि युएनएफपीएका क्षेत्रीय निर्देशक बियोन एन्डरसन र युएनएफपीएका चिफ अफ स्टाफ पियो स्मिथ पनि आएका छन्।
सन् १९९४मा इजिप्टको कायरोमा सम्पन्न आइसिपिडी सम्मेलनपछि नेपालमा परिवार योजना र तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति गराउने लगायत यौन र प्रजनन् स्वास्थ्य सेवाहरुको पहुँचमा उल्लेखनीय वृद्धि भएको छ। परिणमस्वरुप रोकथाम गर्न सकिने मातृ मृत्युदर आधाभन्दा बढी घटेर हाल प्रत्येक एक लाख जीवित जन्ममा २३९ मा झरेको छ।