काठमाडाैं- नेपाल चिकित्सक संघ जुनियर डाक्टर कमिटीले चितवन मेडिकल कलेजमा भएको तोडफोडको घटनाबारे घोर भर्त्सना गरेकाे छ।
कमिटीले विज्ञप्ति सार्वजनिक गरी चिकित्सकको लापरबाही भनेर अस्पतालमा तोडफोड गरी बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने साथै चिकित्सकको मनोबल गिराउने गिरोहमाथि सरकारले कारबाही गर्ने कि नगर्ने भन्ने प्रश्न गरेकाे छ।
पटक - पटक चिकित्सक संघले जेल विदआउट बेल भनेर माग गर्दा पनि सरकार मौन रहने हो भने चिकित्सकहरु अब कठोर कदम चाल्ने कि नचाल्ने भनेर प्रश्न उब्जिरहेकाे कमिटी बताउँछ।
साथै चिकित्सककाे हकहितका लागि अगाडि के गर्न सकिन्छ भन्ने विषयमा कमिटीले विभिन्न संस्थाको प्रतिनिधिहरुको आज आकस्मिक भेला डाकेको छ।
कमिटीका सदस्य सचिव हुलास अग्रवालका भन्छन्, 'जबसम्म चिकित्सकहरु साझा लक्ष्यको लागि एउटै चौतारीमा बसेर आन्दोलनका कार्यक्रम तय गर्दैन तबसम्म केही उपलब्धि हुने छैन।'
आज कमिटीले चिकित्सक संघ, गैरसरकारी चिकित्सक संघका प्रतिनिधि तथा गृहमन्त्रीसँग बैठक तथा अरु विभिन्न संघसंस्थासँग भेटवार्ता गर्ने छ।