प्रोफाइल

सामरिका दाहाल : जसले फरेन्सिक डेन्टिस्ट्री स्थापित गरिन्

काठमाडौं– वर्षौंअघि अस्ट्रेलियाको एक घरमा आगो लगाइएको थियो। जलेर सर्वस्व गुमेपछि एक महिला घरभित्र आफ्नो छोरा रहेको भन्दै रोइरहेकी थिइन्।

सुरुमा त घरभित्र बच्चा थियो वा थिएन भन्ने कुनै आधार फेला परेन। किनकि घर खरानीको थुप्रोमा परिणत भइसकेको थियो। कतिपयले पहिले बच्चा चोरेर आगो लगाएको अनुमान गरे भने कसैले आगोमै जलेर बच्चा नरहेको तर्क गरे।

आमाको मन न हो, उनले जसरी भए पनि आफ्नो बच्चाको अवस्थाबारे जान्न पाउनुपर्ने माग गरिन्। यसपछि अस्टे«लियाका फरेन्सिक डेन्टिस्टहरूले  दिनभर खरानी चाल्न थाले। उनीहरूलाई आशा थियो, कतै त्यही खरानीभित्र बच्चाको दाँत भेटिएला कि !

नभन्दै उनीहरूको आशा यथार्थमा बदलियो। बच्चाको दाँत फेला प¥यो। परीक्षण गर्दा दाँत उनै बच्चाको भएको पुष्टि भयो। 

यस्ता घटनामा फरेन्सिक चिकित्सकको महत्व कति छ भन्ने माथिकै उदाहरणबाट थाहा हुन्छ। मानिसका सबै अंगबाट पहिचान गर्न नसकिए पनि अन्तिम अवस्थामा दाँतबाट पहिचान सम्भव छ भन्नका लागि अस्ट्रेलियाको घटना काफी छ।

नेपालको सन्दर्भमा दाँतबाट मानिसको सनाखत गर्न सक्ने विशेषज्ञ चिकित्सक निकै कम छन्। कम मध्येकी एक हुन्सामरिका दाहाल।

०००

विद्यालय शिक्षा अध्ययनका क्रममा चिकित्सक नै बन्छु भन्ने रहर कहिले पनि भएन सामरिकालाई। उनलाई चिकित्सा क्षेत्रका विषयमा चासो पनि थिएन। थियो त केवल साहित्यतर्फ। त्यसैले त उनी सानैदेखि साहित्यका पुस्तकहरू खोजीखोजी पढ्थिन्।

ललितपुरमा जन्मिएर सेन्टमेरिज हाइस्कुलमा पढेकी सामरिकालाई चिकित्सक नै बनाउनुपर्छ भन्ने भित्री इच्छा भने परिवारको थियो। त्यसमा पनि उनका बुबा चाहन्थे– छोरी डाक्टर नै बनून्।

एसएलसीको परीक्षा सकेर सामरिका घरमा नै बसिरहेकी थिइन्। अभिभावकले उनलाई पुतलीसडकमा रहेको एक इन्स्टिच्युटमा ब्रिज कोर्र्स गर्न सुझाए। तर, उनलाई त्यहाँ जान मन थिएन। परिवारले एसएलसीपछि माथिल्लो तहमा अध्ययनका लागि सहज हुने भन्दै सुझाएपछि उनी परिवारको मन राख्न ब्रिज कोर्स पढ्न राजी भइन्। सोही इन्स्टिच्युटमा उनकै अरू सहपाठी पनि पढ्न पुगेका थिए।

एसएलसीको रिजल्ट राम्रो आएपछि बुबाले चिकित्सा नपढे पनि प्लस टु विज्ञान संकायमै गर्नुपर्ने दबाब दिए। त्यसपछि उनले सेन्टमेरिजबाटै विज्ञान विषयमा प्लस टु सकिन्। प्लस टु सकेपछि लिटरेचर पढ्न थियो। तर बुबाले ‘एकपटक बिडिएसको प्रवेश परीक्षा दिइहेर’ भनेपछि फेरि बुबाको कुरा मान्न करै लाग्यो। 

‘मन नहुँदा नहुँदै पनि चिकित्सा शिक्षामै जोडिन पुगेँ, नाम निस्केपछि पढ्न करै लाग्यो,’ उनी भन्छिन्। 

भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सबाट बिडिएस सकेकी उनले एमडिएस पढ्न भारतको कर्नाटकस्थित मणिपाल मेडिकल कलेजमा आवेदन दिइन्, नाम पनि निस्कियो। त्यहाँ उनले ओरल प्याथोलोजी विषय लिएर पढ्न थालिन्।

त्यो समयमा एमडिएस गर्नु ठूलो कुरा थियो। एमडिएस पढ्न भारत जाँदा नेपालमा पाँच/छ जना मात्र चिकित्सक थिए। 

मणिपालमा पढ्दा ओरल प्याथोलोजीमा फरेन्सिक पनि पढ्नुपर्थो। एक वर्षमा २५ वटा सेमिनारमा भाग लिनैपर्थ्यो।

त्यो समयमा उनले एक सेमिनारमा फरेन्सिक विषयमा प्रस्तुतीकरण दिनुपर्ने भयो। त्यहीँबाट फरेन्सिकसँग उनी नजानिँदो पाराले निकट भइसकेकी थिइन्। उनलाई दाँतबाट पनि फरेन्सिक जाँच गर्न सकिन्छ भन्ने ज्ञान भइसकेको थियो। त्यो समयमा नेपाल त के भारत वा अन्य एसियाली मुलुकमा पनि दाँतबाट फरेन्सिक जाँच गर्ने चलन थिएन। 

‘फरेन्सिक डेन्टिस्ट दक्षिण एसियाली मुलुकमा श्रीलंकाबाहेक अन्य देशमा सुरु नै भएको थिएन,’ डा सामरिका सम्झन्छिन्।

मणिपालमै पढ्दा फरेन्सिकबारे आधारभूत जानकारी पाएकी थिइन्। विभागमा पनि कंकाल र मृत शरीरबारे अध्ययन गर्ने अवसर पाइन्। त्यसै समयदेखि उनलाई फरेन्सिक विषयसँग लगाव बढेको हो। त्यही बेला उनलाई लागेको थियो, नेपालमा गएर फरेन्सिक डेन्टिस्ट्रीमै केही काम गर्नेछु।

भारतका अन्य मेडिकल कलेजमा पनि ओरल प्याथोलोजी पढाइ हुन्छ तर उनी पढेको कलेजमा मात्र फरेन्सिक डेन्टिस्ट्रीबारे विशेष अध्ययन हुन्थ्यो। जसकारण पनि उनले अधिक ज्ञान हासिल गर्न पाइन्।

फरेन्सिक ओडोन्टोलोजी विषष् ओरल प्याथोलोजी अन्र्तगत पर्ने भएकोले पनि आफु बुझ्न थप सहज भएको उनको भनाइ छ।

‘घरमा क्लिनिकल पढ्दा पैसा कमाइन्छ, किन ननक्लिनिकल विषय रोजेको भनेर कराउँथे,’ उनी भन्छिन्, ‘फरेन्सिकमै केही गर्ने चाह भित्रभित्रै पलाइसकेको थियो। रुचि बढ्दै गएपछि छोड्न मन नै लागेन।’

एमडिएस सिध्याएपछि डा सामरिका सन् २०११ मा नेपाल फर्किइन्। त्रिवि शिक्षण अस्पतालको दन्त विभागमै काम गर्न थालिन्। विभाग प्रमुख डा बसन्त श्रेष्ठलाई फरेन्सिकमै केही नयाँ गर्नुपर्छ है भनेर सुझाव दिइरहन्थिन्। ‘बसन्त सरले तिम्रो आफ्नो विषय भएकोले तिमी आफु नै अगाडि बढ्नुपर्छ भनेर भन्नुहुन्थ्यो,’ उनले भनिन्।

तर उनलाई एमडिएस गर्दासम्म पनि फरेन्सिक डेन्टिस्ट आफ्नो भविष्य हुनेछ भन्नेमा ढुक्क थिइनन्।

तर, आजको दिनसम्म नेपाल मेडिकल काउन्सिलमा सूचीकृत एक्ली महिला फरेन्सिक डेन्टिस्ट उनै हुन्। त्यसो त पुरुष फरेन्सिक डेन्टिस्ट पनि एक जना मात्र छन्, डा नितिन अग्रवाल। संयोग, उनी सामरिकाकै श्रीमान् हुन्।

हवाई दुर्घटनाले मोडेको भविष्य
सानैमा आमासँग पशुपति जाँदा छोरी डराउँछे भनेर शव जलाइरहेको हेर्न दिँदैन थिइन्। देख्छे भनेर आँखासमेत छोपिदिन्थिन्। आमालाई के थाहा, उनै छोरी भविष्यमा शवबाटै मानिसको पहिचान गर्न सक्षम हुनेछिन् !

सामरिका शिक्षण अस्पतालमा काम गर्न थालेको सात÷आठ महिना मात्र भएको थियो। उनी कुनै काम विशेषले अस्पतालको शवगृहको बाटो आउँदै थिइन्। त्यहाँ मानिसको भिड थियो। 

उनलाई चासो बढ्यो र छेउमै रहेका प्रहरीलाई सोधिन्, ‘केको घुइँचो हो यो ?’ लुक्लाका लागि उडेको सीता एयरको विमान भक्तपुरको मनोहरा फाँटमा दुर्घटना भएर शव ल्याइएको भन्ने उनले थाहा पाइन्।

उनले फरेन्सिक विभाग प्रमुख डा प्रमोद श्रेष्ठ कहाँ पुग्नेगरी ‘केही सहयोग चाहिए मलाई खबर गर्नू’ भन्ने सन्देश छाडेर हिँडिन्। त्यही सन्देशका भरमा पछि डा प्रमोदले उनलाई पनि बोलाए।

दुर्घटनामा परी निधन हुने धेरै विदेशी नागरिक थिए। शव क्षतविक्षत भएकाले चिन्न सक्ने अवस्था थिएन। जान त गइन् तर फरेन्सिक डेन्टिस्टबारे कक्षागत ज्ञान भए पनि कामको अनुभव थिएन।

प्रयास गरेपछि नै हो सफलता पाउने। उनले यही सोचेर आँट गरिन्। अन्ततः त्यो घटनामा मृत्यु भएका १९ जनामध्ये १६ जनाको सनाखत दाँतका माध्यमबाट गरिन्। 

२०६९ असोजको उक्त घटनापछि नै नेपालमा पहिलोपटक फरेन्सिक डेन्टिस्ट्री सुरु भएको हो।

एक्लै जाँच गर्न नमिल्ने भएकाले उनले अर्को साथी पठाइदिन भनिन्। डा नितिन सहयोगका लागि आइपुगे। त्यसबेला उनी शिक्षण अस्पतालकै दन्त विभागमा कार्यरत थिए।

‘मृत्यु हुनेमध्ये धेरै ब्रिटिस नागरिक थिए। प्रायको दाँतमा सुन भरिएको थियो। हामीले १९ मध्ये १६ जनाको दाँतबाट पहिचान गरेका थियौं,’ डा सामरिकाले भनिन्।

पहिलोपटक गरिएको त्यो काम अब उनको पहिचान बन्नेवाला थियो। सुरुमा ब्रिटिस, अमेरिकन राजदूतावासले दुर्घटनामा परेका नागरिकको दाँतको जानकारी माग्दा विश्वास गरेका थिएनन्।

भन्छिन्, ‘सुरुमा त कस्तो एट्टिच्युड देखाएर नि। दाँतबाट के पहिचान गर्ने पो भनेका थिए। हाम्रो देशमा यस्तो हुँदैन भनेर मान्दै मानेका थिएनन्। पछि मात्रै सहमत भए।’

त्यो दिन उनका लागि चुनौतीपूर्ण थियो। पढेको भरमा गरेको काम भए पनि त्यो सिस्टम्याटिक नभएको उनी बताउँछिन्।

त्यो दिन उनलाई अनुभव भयो, अब यो विषयमा दक्षता पनि चाहिन्छ। ‘काम गर्न गाह्रै भएको थियो। एउटै लास चार पटकसम्म खोलेका थियौं। काम आउँथ्यो तर कसरी गर्ने भन्ने आउँदैनथ्यो,’ त्यसपछि उनले महसुस गरिन्, ‘तालिमको आवश्यकता त हुने रहेछ।’ 

यो घटनामा फरेन्सिक डेन्टिस्ट्रीमार्फत मृतकहरूको पहिचान भयो। यस कामले अस्पतालमा मात्रै होइन बाहिर पनि निकै चर्चा पायो। उनीहरूले प्रशंसापत्र समेत पाए।

यो पहिलो अनुभव थियो डा सामरिका र डा प्रमोदका लागि। फरेन्सिक विभागका प्रमुख डा प्रमोदले अब थप तालिमको महसुस गरे। निकै पहिला एक अस्ट्रेलियन फरेन्सिक डेन्टिस्ट नेपाल आएको बारे पनि सुनाए।

ती डाक्टरले दाँतका डाक्टरलाई अस्ट्रेलिया पठाऊ, अब फरेन्सिक डेन्टिस्टको तालिम दिन्छु भनेका रहेछन्। तर त्यो एक वर्षको कोर्स र नेपाल मेडिकल काउन्सिलमा समेत दर्ता नहुने भएकाले कोही पनि जान मानेनछन्। 

डा प्रमोदको यो कुरापछि त्यो तालिम पाए थप सहयोग हुन्छ भन्ने लागेर बुझ्नतिर लागिन् डा सामरिका। ‘ ६ हप्ताको मात्र  तालिम मात्र थियो। तर हामीले त मास्टर्स सकिसकेकाले त्यो तालिम पाए थप सहयोग नै हुने थियो भन्ने लाग्यो,’ उनी भन्छिन्।

त्यसपछि उनले गुगल सर्च गरिन्। इमेल फेला परेपछि तुरुन्तै इमेल लेखिन्। उताबाट पनि तुरुन्तै सकारात्मक जवाफ आयो। ती रिप्लाई दिने डा थिए, फरेन्सिक डेन्टिस्टका विज्ञ एन्थोनी हिल (टोनी)।

डा टोनीले केही इमेल वार्तापछि फरेन्सिक र डेन्टलबाट दुईदुई जनालाई आठ हप्ताको तालिमका लागि बोलाए।

‘त्यसको करिब ६ महिना पछि फरेन्सिक डेन्टिस्टबारे तालिम लिन हामी (श्रीमान् नितिनसहित) अस्ट्रेलियाको मेलबर्न गयौं,’ डा सामरिकाले सुनाइन्।

त्यहाँ बिहानदेखि बेलुकासम्म व्यस्त भए उनीहरू। आठ हप्ताको तालिम सकेर जब उनीहरू नेपाल फर्कनका लागि सिड्नी पुगे, त्यही बेला डा टोनीको निधन भयो। ‘उनले त हामीलाई नै पर्खेर बसेको जस्तो भयो,’ त्यो क्षण सम्झिँदा डा सामरिका भावुक बनिन्, ‘त्यो घटनाले मलाई एक महिनाभन्दा बढी डिस्टर्ब बनायो।’

यी विभिन्न घटनाका कारण उनलाई आपफ्नो फरेन्सिक यात्रा फिल्म जस्तै लाग्ने रहेछ। ‘मैले त यस्तो कुनै दुःख नै गर्नुपरेको छैन,’ उनी भन्छिन्, ‘मैले फरेन्सिक होइन, मलाई फरेन्सिकले रोजेको हो।’

उनी नेपाल आएपछि सन् २०१५ मा नेपाल एयरलाइन्सको विमान दुर्घटना भयो। त्यो बेला उनी तीन महिनाको गर्भवती थिइन्। बच्चालाई असर पर्न सक्ने भन्दै मृतकहरूको परीक्षण नगर्न अरूले सुझाव दिए।

डाक्टरले उनलाई शव परीक्षण नगर्न कर गरिरहनेमा थिइन्, फरेन्सिक चिकित्सक डा अर्चना चौधरी नेपाल। उनी आफै पनि सात महिनाकी  गर्भवती थिइन्। तर डा सामरिकालाई आफ्नो सिप र पढाइ यो समय काम नलागे कहिले लाग्ला भन्ने लागेको थियो।

तर, त्यो समयमा दाँतबाट खासै सनाखत हुन सकेन। नेपालमा दाँतको उपचार हिस्ट्री राख्ने चलन नै नभएकाले यो समस्या देखिएको उनको भनाइ छ। जबकि भूकम्पका बेला चार सय जनाको सनाखनका लागि दाँत परीक्षण गरिएको थियो।

त्यसको केही समयपछि त्यही विषयमा विज्ञता हासिल गर्न एक वर्षकी छोरीलाई परिवारको जिम्मा लगाएर श्रीमान्सँगै बेलायत गइन्।

त्यहाँबाट थप ज्ञान हासिल गरेर फर्केपछि विशेषगरी हवाईजहाज र हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत गर्ने अवसर पाइन्। 

सायद शवसँग अभ्यस्त हुनुपर्ने भएकाले होला, आफूलाई ‘डेडबडी’सँग कहिल्यै डर नलागेको उनी बताउँछिन्। फरेन्सिक विशेषज्ञ डा हरिहर वस्ती त उनको हिम्मतको प्रशंसक नै रहेछन्।

‘हरिहर सरले धेरै मोटिभेट गर्नुहुन्छ। तिमी नडराएको देखेर मलाई खुसी लाग्छ भन्नुहुन्छ,’ उनी उत्साहित भइन्, ‘अहिले पनि कतिपय कुरामा सल्लाह गर्नुहुन्छ। यो  कुराले मलाई निकै प्रेरणा दिइरहेको छ।’

फरेन्सिक डेन्टिस्ट : पहिचानको आधार
हरेक मानिसको दाँत, औंठाको छाप र डिएनए फरक हुन्छ। यी तीन कुरा मानिस पहिचान गर्ने आधारभूत मानिन्छन्।

‘यी कुरा अन्य व्यक्तिसँग मिल्दैन। यसमध्ये पनि दाँत हाम्रा लागि महत्वपूर्ण छ,’ उनी भन्छिन्, ‘यो जल्दैन, हतपत भाँचिदैन। पहिचान गर्न सजिलो हुन्छ।’

मानिस कुनै दुर्घटनामा परेको भए उसका अन्य अंग जल्न सक्छन् तर दाँत जस्ताको तस्तै हुन्छ। मानिसको फिंगर प्रिन्ट नमिलेको समयमा पनि उसको दाँतबाट पहिचान गर्न सकिने आधार हुन्छ। 

शिक्षण अस्पतालले हाल दाँतका डाक्टरहरूलाई पाँच दिनको तालिम दिएर टास्क फोर्स बनाएको छ। सामरिकाको अनुपस्थितिमा सोही टिमले काम गर्दै आएको छ।

उनलाई त स्वदेशमा मात्र होइन भारत लगायतका अन्य देशमा पनि तालिम दिन भ्याइनभ्याई हुन्छ। उनले स्नातकोत्तर पढेको कलेज मणिपालले पनि सर्टिफिकेट लेभलको पढाइ सुरु गरेपछि हरेक वर्ष इन्टरनेसनल फ्याकल्टीका रुपमा पढाउन बोलाउँछ। तालिम दिन उनी पाकिस्तान, बंगलादेश, श्रीलंका लगायतका देश पुगेकी छिन्।

अहिले नेपालमा फरेन्सिक डेन्टिस्टका डाक्टरहरू बढ्दैछन्। डा सामरिकाले यो विषय अध्ययन गर्दासम्म फेरेन्सिक डेन्टिस्टबारे धेरैलाई वास्ता थिएन। नेपाल मात्र नभएर दक्षिण एसियामै यो विषय प्राथमिकतामा थिएन। 

अहिले त उनले यो विषयको अध्यापन नेपालमै सुरु गर्न पहल थालिसकेकी छिन्। ‘छिट्टैै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा यो विषय अध्ययन सुरु हुन्छ होला,’ उनले इच्छा व्यक्त गरिन्, ‘हरेक वर्ष दुई जना मात्र उत्पादन भए पनि धेरै राम्रो हुने थियो।’

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने