काठमाडौं- नेपाल मधुमेही समाजले छिट्टै आफ्नै भवन प्राप्त गर्ने भएको छ। यसका लागि काठमाडौँ महानगरपालिका र वरिष्ठ मुटुरोग विशेषज्ञ एवं मृगेन्द्र – सम्झना गुठीका संस्थापक अध्यक्ष चिकित्सक मृगेन्द्रराज पाण्डेले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
महानगरपालिकाले जमिन र चिकित्सक पाण्डेले भवन निर्माण गर्न आर्थिक सहयोग गर्ने जानकारी दिए।समाजको स्थानीय नबहिल, ओमबहालमा समाजको कार्यालय रहेको छ। सोही कार्यालयबाट चिनी रोग (मधुमेह)का बिरामीलाई सेवा प्रदान गर्दै आएको छ।
समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समाजका लागि आवश्यकपर्ने जमिन उपलब्ध गराउने जानकारी दिँदै यसका लागि जमिन खोज्न आग्रहसमेत गरे।
उनले भने, 'महानगरले स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउन घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ। चिनी रोगविरुद्धको अभियानमा महानगरपालिका साथमा रहेको छ।'
वरिष्ठ मुटुरोग विशेषज्ञ डा पाण्डेले समाजको भवन निर्माण गर्न रु एक करोड आर्थिक सहयोग गर्ने जानकारी दिँदै चिनी रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको हुँदा सचेतनाका कार्यक्रम सञ्चालन गर्न जोड दिए।
समाजका अध्यक्ष शिव श्रेष्ठले समाजको आफ्नै भवन नहुँदा चिनीरोग सेवा उपलब्ध गराउन समस्या परेको गुनासो गर्दै जमिन उपलब्ध गराउन महानगरपालिकासँग आग्रह गरे। कार्यक्रममा चिनीरोग विशेषज्ञ चिकित्सक प्रदीपकुमार श्रेष्ठले जीवनशैली परिवर्तनसँगै चिनीरोगीका सङ्ख्या बढिरहेको बताए।