भैरहवा - भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सले अवैधानिक रूपमा लिएको शुल्क फिर्ता माग्दै विद्यार्थीहरुले आजबाट रिले अनसन सुरु गरेका छन्।
अनसरत एक विद्यार्थीका अनुसार उनीहरु बिहान छ बजेदेखि ६-६ घण्टाकाे अन्तरमा रिले अनसन थालेका हुन्। मंगलबार प्रशासनकाे प्रतिनिधिहरु छलफल हुने बताइएकाे छ यदि सम्बाेधन भएन भने आन्दाेलन जारी नै रहनेछ,उनले भने।
शुल्क फिर्ता लगायतको मागसहित युनिभर्सल मेडिकल कलेजका विद्यार्थीहरु कात्तिक १४ गतेदेखि आन्दोलनमा छन्।
गत साेमबार बिडिएस र एमबिबिएस पढ्ने विद्यार्थीहरुले कलेजको प्रशासनिक, लेखा, प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक कक्ष लगायतमा तालाबन्दी गरेका थिए।
सरकारले बिडिएसका लागि १९ लाख ३२ हजार र एमबिबिएसका लागि ४२ लाख ५० हजार मूल्य निर्धारण गरेको छ।तर मेडिकल कलेजले त्यस बाहेक अतिरिक्त रकम उठाउँदै आएका छन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको मेडिकल कलेजले विश्वविद्यालयले निर्धारण गरेकै मूल्य लिएको दाबी गर्छ। विद्यार्थीहरुलाई इन्टर्नसीप गराउँदा लाग्ने खर्चका लागि कलेजले अतिरिक्त रकम उठाउने गरेको मेडिकल प्रशासनले जनाएको छ।
गण्डकी मेडिकल कलेज र चितवन मेडिकल कलेजका विद्यार्थी समेत अतिरिक्त रकम फिर्ता माग्दै आन्दोलरत छन्। आन्दोलनका कारण वार्षिक परीक्षा समेत स्थगित भएको छ ।