काठमाडौँ– तिलगंगा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवसको अवसर पारेर ‘डायवेटिक रेटिनोप्याथी’ सम्बन्धि जनचेतना जगाउनका आज प्रभातफेरीको आयोजना गरेको छ।
सन् २०१४ देखिनै विश्व मधुमेह दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले विभिन्न कार्यक्रम गरी डायवेटिक रेटिनोप्याथी दिवस मनाउँदै आएको छ।
यस बर्षको डायवेटिक रेटिनोप्याथी दिवस ‘मधुमेहबाट परिवार सुरक्षित गरौं, अन्धोपन बाट बचौँ’ भन्ने नाराका साथ मनाइएको हो।

प्रतिष्ठानले कार्तिक २४ देखि ३० गते सम्म मधुमेहको आँखामा असर सम्बन्धी सचेतना सप्ताहका रुपमा विशेष कार्यक्रमका साथ मनाएको छ।
यस अन्तर्गत मधुमेहको आँखामा असर सम्बन्धि स्वास्थ्य शिक्षा कार्यक्रम संचालन साथै निःशुल्क आँखा जाँचको व्यवस्था गरिएको छ।
डायवेटिक रेटिनेप्याथी मधुमेहको जटिलता मध्य एक प्रमुख अवस्था हो। मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोश्रो प्रकारको मधुमेहमा करिव २ तिहाई विरामीको आखाँको पर्दा अर्थात रेटिनामा असर परिसकेको हुन्छ।

मधुमेहका बिरामीमा आँखाको पर्दामा असर गरेपनि यसको लक्षण तत्कालै नदेखिन सक्छ । आँखामा धेरै असर गरिसकेपछि मात्र रोगको बारेमा थाहा हुन सक्छ जति वेला उपचार पश्चात पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुन्छ।
मधुमेहले आँखाको पर्दाको रक्तकोशिकाहरुमा असर गरि पर्दाको रक्तसंचारमा प्रभाव पार्दछ। जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुनगई दृष्टि कमजोर हुन जान्छ।

संसारमा कुल अन्धोपना मध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना यहि डायवेटिक रेटिनोपेथीको कारणले हुने गरेको र आँखामा मधुमेहले पार्ने असर बारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाईएको छ ।