– ‘हाम्रो मन्त्रालय (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)ले पनि ‘हेभीवेट’ मन्त्री पायो।’
– मन्त्री मात्र होइन, उपप्रधान मन्त्रीको जिम्मेवारी पनि।
– उहाँ त संघीयताको मर्म बुझेका नेता हुनुहुन्छ।
– उहाँ त एउटा ठूलो दलको अध्यक्ष समेत हुनुहुन्छ।
– अब भने स्वास्थ्य मन्त्रालयले प्रगति गर्ने भयो, कामले गति लिने भयो।
डेढ वर्षअघि अर्थात २०७५ साल जेठ १८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी आपसमा यस्तै कुरा गरिरहेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरेपछि मन्त्रीको स्वागतका लागि बसेका स्वास्थ्यका कर्मचारीले एकअपासमा खुसी र उत्साहका साथ आ–आफ्ना भावना पोखिरहेका थिए।
राष्ट्रपति कार्यालयबाट सपथ ग्रहण गरेपछि यादव मन्त्रालयमा आए। कर्मचारीले न्यानो स्वागत गरे। कर्मचारीकै भिडबाट एकजनाले भनिहाले, ‘दुई तिहाइ बहुमत भएको शक्तिशाली मन्त्रिपरिषद्का उपप्रधानमन्त्री सहितको हेभीवेट मन्त्री पाइयो।’
मन्त्रालया हलमा हाँसो गुञ्जियो।
उपप्रधान एवं स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएका यादव बोले, ‘गुणस्तरीय स्वास्थ्य सेवाका लागि सबैको साथ र सहयोग लिएर काम गर्नुपर्छ।’ कर्मचारीले ताली बजाए। मन्त्रीलाई माला र फुलले स्वागत गर्दै कर्मचारीहरुले खुसी साटे।
तर, तीनै कर्मचारी अहिले उपेन्द्र यादव स्वास्थ्य मन्त्रालयबाट सरुवा भएर कानुन मन्त्रालयमा पुग्दा झन् खुसी भएका छन्। विगतमा फूल र मालाले स्वागत गर्ने तिनै कर्मचारी ‘ठिक्क पर्यो’ भन्ने शैलीमा यादवको आलोचना गरिरहेका छन्।
विगतमा आशा र भरोसा गरेका ‘हेभीवेट’ मन्त्रीले स्वास्थ्यमा कमजोर ‘पर्फमेन्स’ देखाएपछि निराश भएका कर्मचारीले उनको सरुवा हुँदा खुसी व्यक्त गरेका हुन् भने यो अवधिमा मन्त्रीले काम नगरेको भन्दै आलोचना।
डेढ वर्षअघि उपेन्द्र यादव स्वास्थ्यमा छिर्दै गर्दा ‘स्वास्थ्य मन्त्रालयले प्रगति गर्ने भयो, कामले गति लिने भयो,’ भनेर अभिव्यक्ति दिने कर्मचारी नै यादवको नेतृत्वमा मन्त्रालयमा झन् दुर्गती भएको र स्वास्थ्यका सूचकहरु ओरालो लागेको भन्दै यादवको आलोचना गरिरहेका छन्।
बिरामी भएको स्वास्थ्य मन्त्रालयलाई उपेन्द्र यादवले उपचार गरेर स्वस्थ बनाउने अपेक्षा राखेका कर्मचारी यादवका वेवास्ताका कारण मन्त्रालय झन् कोमामा पुग्ने अवस्थामा पुगेको बताउँछन्।
मन्त्रालयको काममा पटक्कै चासो नदिने तर पार्टीको काम र विदेश जान भने मरिहत्ते गर्ने यादवको कार्यशैलीबाट आजित भएका कर्मचारी उनको सरुवाको खबरले खुसी हुनु स्वभाविक पनि छ। किनकी यो अवधिमा यादवको कार्यक्षमता निकै कमजोर रह्यो।
उपप्रधानको हैसियतमा स्वास्थ्यमा आएका यादवले जे स्वास्थ्यमा आएर गर्नुपर्ने थियो, त्यो गर्न सकेनन्।
डेढ वर्षको यो अवधिमा उनले मन्त्रलयमा भन्दा बढी समय विदेशमा नै बिताए होला। नेपालमा नै भएको समयमा पनि उनी पार्टीको कामले उपत्यकाबाहिर नै हुन्थे। काठमाडौंमा नै भएको समयमा पनि उनी मन्त्रालय जाने र आउने बाहेक अरु पदीय सक्रियता देखाएका थिएनन्।
मन्त्रालयको काममा निस्क्रियता र विदेश जान मात्र सक्रियता देखाएपछि यादवले ‘डुलुवा मन्त्री’को उपनाम पाए।
हुन पनि डेढ वर्षको यो अवधिमा यादव स्वास्थ्य मन्त्रालयमाभन्दा पनि विदेशमा बढी हुन्थे। यो बीचमा उनी दुई दर्जनभन्दा बढी पटक विदेश भ्रमणमा निस्किए। विदेशमा गरेका सम्झौता वा त्यहाँ व्यक्त गरेका प्रतिबद्धताका विषयमा उनले मन्त्रालयमा आएर कहिले पनि भनेनन्। न त कुनै कर्मचारीलाई त्यसअनुसारकै काम गर्न निर्देशन नै दिए।
अहिले पनि उनी भारतमा छन्।
नेपालबाट भारत जाँदा स्वास्थ्य मन्त्रीका रुपमा गएका यादव फर्कने बेलामा कानुन मन्त्री भइसकेका छन्।
मन्त्रालयको कामलाई यतिसम्म बेवास्ता गर्थे कि उनीकहाँ स्वास्थ्यका समस्या लिएर आएका कर्मचारीलाई उनी आफू स्वास्थ्यका प्रविधिक कुरा बुझ्दिन भन्दै कुरा नै नसुनी फर्काउने गर्थे।
संविधानले आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा परिभाषित गरेको छ। तर, मन्त्री यादवले त्यसको कार्यान्वयनका लागि कुनै चासो नै देखाएनन्। उनको निष्क्रियताका कारण कतिपय ऐन त्यत्तिकै थन्किए, कतिपय कार्यक्रम असफल हुने अवस्थामा पुगे भने कतिपय प्रतिवेदन दराजमा नै थन्किए।
देशभर डेंगुको महामारी फैलिरहेको बेलामा समेत उनी ढुक्कसँग अमेरिका उडे।
डेंगु मात्र होइन, उनको कार्यकालमा स्क्रब टाइफस र अन्य रोगको महामारी फैलियो। तर, त्यसको नियन्त्रणतर्फ पनि उनले कुनै पहल गरेनन्। क्षयरोगको कार्यक्रम ट्र्याक भन्दा बाहिर गइसकेको प्रतिवेदन उनलाई बुझाइएको। तर, उक्त प्रतिवेदन उनले त्यसै थन्काइदिए। यही समयमा कालाजाज्वर, दादुरा, कुष्ठरोग जस्ता रोगहरु फेरी फैलिन थालेको प्रतिवेदन आयो। तर, त्यसलाई पनि मन्त्री यादवले मन्त्रालयको कुनै दराजमा थन्काइदिए।
रोग नियन्त्रणमा संघीय, प्रान्तीय र स्थानीय सरकारको तालमेल नमिल्दा समस्या आइरहेको भन्दै कर्मचारीले बताइँरहदा त्यसको उचित व्यवस्थापनका लागि पनि उनले केही काम गरेनन्।
संघीय संरचना अनुसार संरचना निर्माण, कर्मचारीको व्यवस्थापन, कार्यक्रमको बाँडफाट, नीति निर्माण, कानुन तथा अन्य कार्यक्रमको विकास र त्यसको कार्यान्वयन गर्ने तर्फ पनि यादवले कुनै पनि चासो दिएनन्। मन्त्री यादवले यी कुरामा पहलकदमी नलिँदा बालबालिकाको खोप, निःशुल्क औषधि, रोग नियन्त्रण, बाल तथा आमा सुरक्षा कार्यक्रम, स्वास्थ्य बिमालगायतका स्वास्थ्यका सबै कार्यक्रममा असर पर्यो।
मन्त्रीको कमजोर नेतृत्व र कार्यशैलीका कारण स्वास्थ्य क्षेत्रले विगतमा हासिल गरेका स्वास्थ्यका उपलब्धि समेत क्रमशः गुम्दै गइरहेको कर्मचारीहरुको निश्कर्ष छ। कर्मचारी भन्छन्– ‘उपेन्द्र यादवको कमजोर नेतृत्व र अभिभाकत्वले स्वास्थ्य क्षेत्र झनै थला पर्यो।’
हुन पनि यो अवधिमा उनले दीर्घकालिन रुपमा नेपालको स्वास्थ्यका क्षेत्रमा फइदा पुग्ने कुनै काम नै गर्न सकेनन्। स्वास्थ्यबाट बाहिँरिदा उनीसँग स्वास्थ्य मन्त्रालयमा रहेर आफ्ना तर्फबाट गरेको यो काममा गर्व लाग्छ वा यो निर्णयचाहिँ मेरो अगुवाईमा भएको हो भनेर भन्ने अवस्था पनि रहेन।
स्वास्थ्यमा यो अवधिमा जे जति काम भए, ती सबै विगतका नियमित कामको निरन्तरता मात्र थियो। यादवको ठाँउमा कुनै ‘ए’ वा ‘बि’ मन्त्री भएको भए पनि यति काम स्वतः हुने थियो।
स्वास्थ्य मन्त्रालयमा डेढ वर्ष विताएका उपेन्द्रले यो अवधिमा नाम भन्दा पनि बदनामी कमाए। स्वास्थ्यका कर्मचारीमा विगतमा रहेको भरोसा र विश्वास गुमाए। नाम कमाउन नसकेका मन्त्री यादवले यो अवधिमा ‘डुलुवा मन्त्री र ‘असफल मन्त्री’को उपमा कमाए।
स्वास्थ्यखबरले असारको अंकमा मन्त्री यादवको एक वर्षको कार्यकालको समिक्षा गर्दै समाचार लेखेको थियो। मन्त्रालय र माताहतका २५ जना अधिकारीलाई यादवको पर्फमेन्सलाई एक सयमा कति नम्बर दिनुहुन्छ भन्दै सुक्ष्म सर्वेक्षण गरेको थियो। सो क्रममा कर्मचारीले दिएको नम्बरका आधारमा औषत निकाल्दा यादवले जम्मा १४ दशमवल ७२ नम्बर मात्र पाएका थिए।
- हेरौँ त्यतीबेला प्रकाशित समाचार : असफल स्वास्थ्यमन्त्री, थला पर्दै स्वास्थ्य क्षेत्र
अहिले स्वास्थ्यबाट कानुनमा सरुवा हुँदाको समयसम्म पनि उनको पर्फमेन्समा कुनै सुधार आएको छैन।
संघीय प्रणालीलाई सफल बनाउँदै स्वास्थ्य क्षेत्रको ‘रिफर्म’ गर्न असफल भएका यादवले कानुन मन्त्रालयमा गएर कस्तो पर्फमेन्स देखाउँछन्, त्यो भने हेर्न बाँकी छ।