डेंगुको महामारी रोक्न सरकारलाई मुस्किल परेका बेला डा शेरबहादुर पुनजस्ता चिकित्सकहरू मैदानमा थिए। उनीहरुले डेंगुविरुद्ध छेडेको जेहादले नै संकट टरेको हो।
डा पुन सरुवा रोगलाई नजरअन्दाज गरिरहेको सरकारको ध्यानाकर्षण गराउँछन्, ‘पर्दा आत्तिाने होइन, पर्ला कि भनेर तयार भएर बस्नुपर्छ।’
डेंगुको आतंकबाट काठमाडौं सहर मुक्त हुने क्रममा छ। एक महिनाअघि देखिएको डेंगुको महामारीले सहर पूरै आतंकित थियो। रोक्न मुस्किल पर्दा सरकार पनि आतंकित थियो। त्यो आतंकमा समेत शान्त भएर भिडिरहेका थिए केही डाक्टर। डेंगु भएर मात्रै होइन, भएको आशंकाले थुुरथुर परेर काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको मेला लागिरहन्थ्यो। डेंगु भएकाको शारीरिक र त्यसबाट त्रसित बनेर अस्पताल पुगेकाहरुको मानसिक रोगको उपचार गर्थे डाक्टरहरु।
डेंगुको महामारी रोक्न सरकारलाई मुस्किल परेका बेला डा शेरबहादुर पुनजस्ता चिकित्सकहरु मैदानमा थिए। उनीहरुले डेंगुविरुद्ध छेडेको जेहादले संकट टर्यो। बिहान ९ बजे अस्पताल पसेका डा पुन बेलुकी ६ बजेमात्रै बाहिर निस्किन्थे। कति दिन खाजा खान पाएनन्, कति दिन पानी पिउनसमेत फुर्सद भएन। उनी अस्पतालको ड्युटी सकेर घर पुगिसक्दा पनि ‘डेंगु विरुद्धको ड्युटी’ भने सकिँदैनथ्यो। त्यसपछिको समय यस विषयमा सञ्चारमाध्यममा बोल्न र लेख्नमा बित्थ्यो। थप अध्ययन र अनुसन्धान गरिरहन्थे। केही भएन भने पनि सामाजिक सञ्जालमार्फत सचेतना फैलाउनु आफ्नो ड्युटी ठानेर भिडिरहन्थे डा पुन।
जुन माध्यमबाट भए पनि डेंगुबाट ज्यानको हानि हुन नदिन निरन्तर संघर्ष गरिरहे। यो क्रम एक महिना चल्यो। दसैं सकिएको केही दिनपछि उनी डेंगुबाट आतंकित भीडबाट घेरिन छाडे कि भन्ने अनुमानसहित उनी कार्यरत अस्पताल पुगिएको थियो। एक महिना पहिलेको भन्दा बिरामी घटेका थिए। तर, एउटा चिकित्सकका नजरमा अस्पताल आइरहेका बिरामीको संख्यालाई कम आँक्न भने मिल्दैनथ्यो। उनी भन्दै थिए, ‘तुलनात्मक रुपमा त बिरामी घटे। तर, हरेक दिन ६० जना बिरामी अझै डेंगुको आशंकामा जँचाउन आइपुग्छन्।’
बिरामी जाँचिरहेको ठाउँ एकछिनका लागि सहकर्मीलाई जिम्मा लगाएर बाहिर निस्किन खोज्दै थिए, बिरामीको भीडले घेरिहाल्यो। बाटोमै उनले एक्स–रे हेरे। रिपोर्ट जाँचे। सल्लाह दिए। बल्लतल्ल बाहिरिन पाए। आफू बाहिर निस्किन लाग्दा बाटोमै रिपोर्ट तेस्र्याउने बिरामीलाई ओपिडीको ढोका देखाउन सक्थे। तर, त्यसो गर्न उनको स्वभावले दिएन। उनले प्रमाणित गरिदिए, ओपिडी भएकाले डाक्टरले जाँच्ने होइन, डाक्टर भएकाले ओपिडी बनाइएको हो।
एउटा नेपाली भनाइ छ, ‘रोगको उपचार गर्नुभन्दा रोग लाग्ने बाटो बन्द गर्नु जाति‚’ धेरै डाक्टरहरु रोगको उपचार गर्छन् तर रोग लाग्ने बाटो बन्द गर्नेतर्फ त्यति ध्यान दिँदैनन्। डा पुन रोगको उपचार त गरिरहेका थिए नै, उनलाई बढी चिन्ता रोग लाग्ने बाटो कसरी बन्द गर्न सकिन्छ भन्नेमा थियो। त्यसैले उनले आफूकहाँ आइरहेका डेंगुका बिरामीका आधारमा काठमाडौंमा डेंगुका अखडा खोजे। बिरामी अस्पतालमा आइसकेपछि त्यसलाई केस ठानेर सोधखोज गर्ने उनको स्वभावले काठमाडौंका डेंगुका अखडा पत्ता लागेका थिए। नयाँबजार, भोटेबहाल र डल्लु डेंगु धेरै फैलिरहेका क्षेत्र भएको पत्ता लागेपछि उनले त्यहाँका स्थानीयलाई लामखुट्टे जन्मिने सम्भावित वातावरणका बारेमा जानकारी दिए। त्यसले थप क्षति हुनबाट रोक्यो।
बिरामीको उपचार गरेर, डेंगु रोक्न सकिने उपाय जताएर र सचेतना फैलाएर मात्रै पुग्ने अवस्था थिएन। अस्पताल आइपुग्ने धेरै बिरामी डेंगुको मनोत्रासबाट ग्रस्त थिए। उनीहरुको मानसिक उपचार समेत गरेर पठाउनु परेको डा पुन सम्झिन्छन्।
तीमध्ये केही घटना उनको स्मृतिमा छन्। एक जना बिरामी डेंगु भएको भनेर अस्पताल ल्याइए। उनमा १०३ डिग्री ज्वरो थियो। डाक्टरलाई पनि सम्भावित बिरामी लागेर उपचार थाले। डा पुनले उनी बसेको ठाउँमा डेंगु हुनसक्ने अनुमान गर्दै थप विस्तृतमा जानकारी लिए। त्यस क्रममा उनले थाहा पाए– ती बिरामीलाई एउटा लामखुट्टेले टोकेको रहेछ। लामखुट्टे त्यही बेला मारेछन्। लामखुट्टेले टोक्नेबित्तिकै डेंगु हुन्छ भन्ने उनको भ्रमले मानसिक रुपमा आक्रान्त बनाएछ। त्यही भ्रमबाट तनावग्रस्त भएर ज्वरो आएको रहेछ। परीक्षणमा डेंगु देखिएन। उनी निको भएर फर्के।
डेंगुबाट मान्छेहरु कतिसम्म त्रसित हुन सक्छन् भन्ने पनि उनले यसपल्ट केही बिरामीको उपचारका क्रममा थाहा पाए। एक जना बिरामी डेंगुको ल्याब परीक्षणका रिपोर्ट ल्याएर उनलाई जँचाउन आए। डा पुन जँचाउन आएकै मान्छे बिरामी भन्ठानेर सल्लाह दिँदै थिए, ती बीचमै बोले, ‘रिपोर्ट मेरो होइन, मेरो दाइको हो।’
डा पुनले प्रतिप्रश्न गरे, ‘दाइ कहाँ हुनुहुन्छ? किन आउनुभएन?’ उनले दाइ डराएर अस्पतालको गेट बाहिरै बसेको बताए। पछि उनलाई बोलाउन लगाए। अनि सोधे, ‘आफ्नो रिपोर्ट देखाउन आफंैं किन नआएको?’ ती बिरामीको उत्तर थियो, ‘मेरो रिपोर्टमा डेंगु देखियो भने बेहोस हुन्छु भनेर‚’ ती बिरामीमा डेंगु नभई सामान्य ज्वरो थियो। औषधि लेखेर घर पठाए।
डेंगु सर्ला भनेर एक परिवारले भातभान्सा नै अलग गरेको कथा अझै रोचक छ। दुई जना श्रीमान्–श्रीमती र एक जना सन्तान भएको परिवारमा एक जनालाई डेंगु भयो। त्यसपछि त उनीहरु छुट्टिएछन्। श्रीमती र छोराको खानपान र बसोबास एउटा कोठामा, श्रीमान्को अर्कै कोठामा। डेंगु सँगै बस्दा–खाँदा नसर्ने विषयमा धेरै उदाहरण दिएर लामो कुराकानी गरेपछि उनीहरु सँगै बस्न राजी भएका थिए। यो घटनाले डा पुनलाई काठमाडौंको, त्यो पनि शिक्षित परिवारमा समेत डेंगुबारे प्रशस्त भ्रम रहेको महसुस भयो। उनले त्यसपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट डेंगुका विषयमा रहेका भ्रम चिर्न सक्रियता बढाए।
क्लिनिकल उपचारका साथै रोगको अनुसन्धानमा उनी निरन्तर सक्रिय रहन्छन्। सरुवा रोगको अनुसन्धानमै जापानबाट पिएचडी गरेका हुन् उनले। यतिबेला डेंगुमा सक्रिय भएजस्तै विभिन्न मौसममा फैलिने विभिन्न सरुवा रोगविरुद्ध उनको सक्रियता यत्तिकै रहन्छ। उनलाई लाग्छ, ‘म अनुसन्धानमा रुचि भएको व्यक्ति हुनाले पनि कुनै पनि केसलाई एक दिन विस्तृतमा अध्ययन गर्छु। यसले उपचार गर्न त सघाउँछ नै, रोगको ज्वरोसम्म पुग्नसमेत सघाउँछ।’
पहिलोपल्ट यो अस्पतालमा उनी सन् २००३ मा आइपुगेका थिए। त्यो बेला अस्पतालभित्र मात्रै होइन, बाहिर बाटोभरि झाडापखालाका बिरामी देखेका थिए। कालाजारका बिरामी गाउँबाट बस रिजर्भ गरेर उपचारका लागि आएको सम्झिन्छन्। क्षयरोग, जापानिज इन्सिफ्लाइटिस जस्ता रोगको समस्या त्यो समय अत्यधिक रहेको उनी बताउँछन्। केही वर्ष काम गरेपछि सरुवा रोगमै थप अध्ययन गर्न जापान पुगे।
जापानमा अध्ययन गर्दा पनि उनको ध्यान नेपालमै थियो। नेपालमा सरुवा रोगको समस्या पहिलेभन्दा कम भए पनि अपेक्षित रुपमा नघटेको उनले देखिसकेका थिए। त्यसैले सरुवा रोगकै क्षेत्रमा विद्यावारिधी गरेपछि उनले नेपालमै फर्किए र टेकु अस्पतालमा काम गर्न थाले।
उनलाई नेपाल नफर्किन उनको गुरुहरुले खुब जोडबल गरेका थिए। अनुसन्धानमा खट्ने उनको स्वभावबाट प्रभावित उनका गुरुहरुले राम्रा अवसरहरु उनलाई देखाइदिएका थिए। तर, उनको मनले मानेनन्। त्यसमध्ये विश्वकै प्रख्यात अनुसन्धानकर्ताले चाहने एउटा फेलोसिपसमेत उनले छाडे। उक्त फेलोसिप छाडेर नेपालमा काम गर्न थालेपछि उनका जापानिज गुरुले लामो पत्र लेखेका थिए उनलाई। पत्रको आसय थियो, ‘तिमीले किन छाड्यौ थाहा छैन। तर, धेरैले चाहने फेलोसिप तिमीले छाड्दा फेलोसिपको चाहिँ बेइज्जत भयो‚’ त्यसको जवाफ लेख्न उनलाई तीन दिन लागेको थियो। उनी भन्छन्, ‘त्यो समय म दिनरात एक गरेर नेपालमा देखिएका सरुवा रोगमाथि अनुसन्धान गरिरहेको थिएँ। त्यसैले उक्त फेलोसिप गर्न इन्कार गरें।’
हाइटीमा कोलेरा फैलिएको समयमा विश्वले नेपालीबाट सरेको हल्ला फैलाएको थियो। वैज्ञानिक प्रमाणसहित यसको विपक्षमा उभिने आँट डा पुनले गरे। उनले विश्वमा प्रचलित जर्नलमार्फत हल्ला सही नभएको तथ्य अघि सारे। उनको तथ्यलाई कसैले काट्न सकेन। त्यसपछि उक्त केसलाई लिएर ‘वल्र्ड भर्सेस डा पुन’ शीर्षकमा समेत केही लेख छापिए। पाठ्यसामाग्रीमा समेत यही रुपमा समावेश भएको उनी बताउँछन्।
नेपाल आएपछि उनले चिकनगुनिया, हिमालतर्फ गइरहेको कालाजार आदिका विषयमा निरन्तर वकालत गरिरहे। यसबाहेक थुप्रै सरुवाका रोगका विषयमा उनले अनुसन्धान गरेर अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेका छन्।
सरुवा रोगमा निरन्तर अनुसन्धान गर्ने उनको चाहना छँदैछ। मौसमअनुसार देखिने सरुवा रोगको प्रकोपविरुद्ध डटिरहेकै छन्। यसबाहेक केही थान सपना पालेर बसेका छन्। कुनै पद–प्रतिष्ठा प्राप्त गर्ने सपना होइन, नेपाललाई सरुवा रोगका विषय ज्ञान हासिल गर्ने थलो बनाउने चाहना बोकेका छन्। मनमा पालेको सपना उनले यही मेसोमा फुकाए, ‘दक्षिण एसियाकै सरुवा रोगका विषय ज्ञान आदनप्रदान गर्ने थलोका रुपमा यो अस्पताललाई विकास गर्ने चाहना छ। सरुवा रोग विषयको अध्ययन–अनुसन्धानमा नेपालले नेतृत्व गरेको हेर्ने सपना छ।’
विदेशीहरुले पढेकै आधारमा लेखेका किताबभन्दा नेपाली डाक्टरमाथि परेका आधारमा हासिल गरेका अनुभव लाभदायी हुने उनले महसुस गरिसकेका छन्। विदेशी विज्ञहरु र उनलाई चिन्ने प्राध्यापकहरुले पठाएका विद्यार्थी अहिले पनि उनीकहाँ आउँछन्। सरुवा रोगमा आफूले हासिल गरेको अनुभव सुनाउँछन् उनीहरुलाई। उनीहरु उपयोगी ज्ञान प्राप्त गरेको भन्दै प्रशंसासहित बिदा हुन्छन्। डा पुनलाई अहोरात्र खट्न प्रेरित गर्ने यही भावना हो।
सरुवा रोगको पहिलेजस्तो प्रकोप अहिले छैन। तर, एउटालाई नियन्त्रणमा लियो, अर्को उत्पन्न हुने समस्या विश्वले खेपिरहेको छ। उनी उदाहरणसहित प्रष्ट पार्छन्, ‘हैजा अहिले ठूलो समस्या होइन तर इबोला र जिकाको जन्म त अहिले भयो‚’ त्यसैले सरुवा रोगलाई नजरअन्दाज गरिरहेको सरकारको ध्यानाकर्षण गराउँछन्, ‘पर्दा आत्तिने होइन, पर्ला कि भनेर तयार भएर बस्नुपर्छ।’