डा वासुदेव उपाध्याय आयुर्वेद डाक्टर हुन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखाका महानिर्देशकको जिम्मेवारीमा रहेका डा उपाध्याय स्वास्थ्यका मामिलामा निकै सचेत छन्।
बिहानको एक घन्टा योग तथा ध्यानका लागि खर्च गर्ने उनी बिहान छिटो निस्कनुपर्ने समयमा पनि आधा घन्टा योग गर्न भने कहिल्यै छुटाउँदैनन्। ‘म मात्र होइन छोराछोरी, श्रीमतीलाई पनि घरको छतमा योगाभ्यास गराउँछु, आफू मात्र स्वस्थ भएर भएन नि,’ उनी भन्छन्।
उनी उठेर एक गिलास मनतातो पानी पिउँछन्। बिहान उठ्ने बित्तिकै धेरै पानी पिउनुपर्छ भन्ने उनी मान्दैनन्। भन्छन्, ‘पेटलाई भारी हुनेगरी खाना खानु ठिक होइन, पानी पनि एकै पटक धेरै पिउनु हुँदैन।’
नित्यकर्म सकेपछि योग सुरु गर्ने डा उपाध्याय बिहान ५–६ बजेको समयमा उठ्छन्। त्यसपछि उनी योग र ध्यानमा मग्न हुन्छन्। योग सकिएपछि सातु वा ओट्स खान्छन्। केही हल्का खानेकुरा खाएर मात्र बिहानको खाना खाने उनको बानी छ। खाली पेटमा खाना खान नहुने उनी बताउँछन्।
सामान्यतः नेपाली खाना खान्छन्। दाल, भात, तरकारी अचारलगायत। तर अचार भने ताजा बनाएको मात्र। ‘बट्टामा अमिलो पारेको अचार त घरमा ल्याउनै दिन्नँ, स्वास्थ्यका लागि त्यो निकै हानिकारक छ,’ उनले भने।
दिनभरिमा ३ देखि ४ लिटर पानी पिउने उनी दिउँसोको खाजा खासै खाँदैनन्। कहिलेकाहिँ डाइजेटिस्क बिस्कुट एक÷दुई पिस खाने गर्छन्।
शारीरिक रुपमा दुब्लो–पातलो डा उपाध्यायलाई ‘कति दुब्लाउनु भएको’ भन्नेहरु धेरै छन्। तर दुब्लो हुँदा पनि सन्तुष्ट रहेको उनको भनाइ छ। उनले भने, ‘आयुर्वेदले पनि मोटो भएर राम्रो देखिनुभन्दा दुब्लो भएर नराम्रो देखिनु उचित हो भन्छ। मोटो मानिसलाई विभिन्न रोग छिटो देखा पर्छन्, उपचारमा पनि विभिन्न समस्या निम्तिन्छन्, म दुब्लो भए पनि स्वस्थ छु।’
हरेक ६ महिनामा आफ्नो र परिवारका सदस्यको नियमित स्वास्थ्य जाँच गराउन पनि भुल्दैनन् उनी। सकेसम्म साकाहारी खानामा जोड गर्ने महानिर्देशक उपाध्याय पानी थोरैथोरै गरेर पिउन सल्लाह दिन्छन्।
बिहान १५ मिनेट भए पनि योग, ध्यान गर्दा शरीरमा सकारात्मक सञ्चार भई रोगको जोखिम पनि कम हुने उनको भनाइ छ। सुत्नु दुई घन्टा अगावै उनी बेलुकाको खाना खाइसक्छन्। बेलुको खानामा रोटी, तरकारी दाल, हुन्छ।
धेरै रोग पेटबाट सुरु हुन्छन्। ‘पेटलाई धेरै भार पर्नेगरी खाँदा पाचन क्रियामा समस्या हुन्छ। पेटलाई पनि हल्का हुनेगरी पटक पटक गरी थोरै खाना खान उचित हुन्छ,’ उपाध्यायले भने।
पछिल्लो समय नसर्ने रोगका बिरामी बढ्न थालेपछि आयुर्वेद महाशाखाले नागरिकलाई स्वास्थ्य राख्नेतर्फ पनि काम सुरु गरेको छ। अवस्थ खानपिन, जीवनशैलीले रोगको जोखिम बढाएकोले योगभ्यास गर्ने, ध्यान गर्ने र स्वस्थ, सफा खाना खान जनतालाई सचेत गराउने विभिन्न कार्यक्रम पनि महाशाखाले ल्याएको उपाध्यायको भनाइ छ।