शरीरलाई स्वस्थ राख्न सक्रिय रहन जरुरी छ। त्यसैले म सकेसम्म सक्रिय रहने कोसिस गर्छु। बिहान साढे चारदेखि पाँच बजेसम्म उठिसक्छु। त्यसपछि मर्निङ्ग वाकमा जान्छु। मर्निङ्ग वाक जान नभ्याएको दिन घर बढार्ने, सरसफाइ गर्ने, भान्साका काम गर्ने गर्छु।
हामी जारको पानी पिउँदैनौं। मेरो घरदेखि एक किलोमिटर माथि ढुङ्गेधारा छ। हरेक दिन ढुंगेधाराबाट २० लिटरको ग्यालेनमा पानी ल्याउँछु। शरीरमा पसिना निकाल्ने खालका काम गर्छु। घरायसी काम, उर्फेर वा अन्य यस्तै काम गरेर शरीरलाई सक्रिय राख्ने काम गर्छु। श्रीमान्–श्रीमती मात्र घरमा भएकाले भान्साको काम पनि मिलेरै गर्र्छौं।
हरेक दिन ८ः३० देखि ९ बजेसम्म मन्त्रालय आइपुग्छु। मन्त्रालयमा छिट्टै आइपुग्ने कर्मचारीमध्ये कर्मचारीमा म पर्छु। मन्त्रालयको प्रवक्ता पनि भएको र समायोजनको काम चलिरहेकोले पछिल्ला वर्षहरु बढी काममा बितेको छ।
मलाई खानामा यही नै चाहिन्छ भन्ने छ्रैन। खानामा इन्जोय गर्ने मानिस हुँ। भोक लागेको बेला खाना भए हुन्छ। यही चाहिन्छ भन्ने रोजाइ छैन।
दिनभर व्यस्ततामै बित्छ। भेटघाट, बैठक धेरै हुन्छ। चिनजानका व्यक्ति धेरै छन्। दिनभर सय बढी फोन आउँछन्। सबैलाई समय दिन भ्याइँदैन। कतिले नभ्याएको समयमा गुनासो गर्नुहुन्छ। त्यो समयमा अलि तनाव हुन्छ।
अहिले रक्तचाप र युरिक एसिडको औषधि प्रयोग गर्छु। मेरो रक्तचाप काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालय सम्हाल्न थालेदेखि बढ्न थालेको हो। त्यहाँ पनि धेरै काम हुन्छ। तनाव पनि अलि बढी हुन्थ्यो। कर्मचारी धेरै, संस्थाहरुले त्यसले गाह्रो बनाउँथ्यो।
काम नगर्ने, नेतागिरी गर्नुपर्ने मानिस सबै काठमाडौं बस्नुपर्ने परिपाटी धेरै छ। त्यसलाई म्यानेज गर्न समस्या हुन्छ। सकेसम्म चिन्ता कम लिने गर्छु। त्यसैले अहिलेसम्म राम्रो निद्रा पर्छ। खाना रुच्छ।
पछिल्लो समय स्वास्थ्यका समस्यामा परिवर्तन आएको छ। पहिले मानिसलाई स्वास्थ्यबारे धेरै जानकारी थिएन। आजभन्दा सय वर्षअघि मानिसको औसत उमेर ३० देखि ३५ वर्ष थियो। आज ७० नाघेको छ।
मानिसहरु भोकभरीले समस्यामा पर्थे। अहिले खानपान, दिनचर्यामा परिवर्तन आयो। हिँड्ने बानी, अर्यानिक खाना पाइन कम हुन थाल्यो। त्यसले रोगहरुको प्रकारमा परिवर्तन आयो।
शरीरले एक्ससाइज नगर्दा मुटुका रोग, क्यान्सर, मिर्गौला फेल, मधुमेह, उच्च रक्तचाप जस्ता रोग आए। त्यसैले नसर्ने रोगको प्रकोप बढिरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयले आफ्ना कार्यक्रमलाई पनि परिवर्तन गर्नुपर्छ। कस्तो खाना कसरी, कति खाने भनेर सिकाउनुपर्छ। हामीले जनतालाई स्वस्थ राख्न नागरिकलाई जिम्मेवार बनाउन ‘नागरिक आरोग्य’ कार्यक्रम ल्याएको छौँ। यद्यपि अझै सो कार्यक्रमलाई राम्रो परिभाषा दिन सकेका छैनौँ।
अबको स्वास्थ्य संस्थाले हिजोको भन्दा फरक रुपमा काम गर्नुपर्छ। हिजो औषधि–उपचार गर्ने काम मात्र हुन्थ्यो भने अब जनतालाई योग गराउने, स्वस्थ खान सिकाउनेगरी रोग नलाग्नेतर्फ काम गर्नुपर्छ। मन्त्रालयले यो पाटोमा काम सुरु गरिसकेको छ।
-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठसँग कल्पना पौडेलले गरेको कुराकानीमा आधारित