रोल्पा- ८४ वर्ष उमेर पार गरेका जेष्ठ नागरिकले अब घरमै आधारभूत स्वास्थ्य सेवा पाउने भएका छन्। प्रदेश ५ सरकारले प्रदेशका १२ वटै जिल्लामा सुरु गरिएको यस कार्यक्रमले जेष्ठ नागरिकहरु लाभान्वित हुने अपेक्षा गरिएको छ।
८४ वर्ष उमेर पार गरिसकेका जेष्ठ नागरिकहरुलाई स्वास्थ्यकर्मीले घरमै पुगेर स्वास्थ्य सेवा दिने छन्। स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख अनिल केसीका अनुसार जिल्लामा ३९८ जना ८४ वर्ष पार गरेका जेष्ठ नागरिक यो कार्यक्रमबाट लाभान्वित हुने छन्। उनीहरुलाई प्रत्येक ३ महिनामा १ पटक उनीहरुकै घरमा गएर आधारभूत स्वास्थ्य सेवा दिने गरी निर्देशिका तयार भएको स्वास्थ्य प्रमुख केसीले बताए।
जेष्ठ नागरिकका लागि चाहिने सामाग्री तथा औषधि खरिद, अनुगमन, सेवा प्रदायकका लागि सुविधा समेत गरी प्रदेश सरकारले १६ लाख बजेट विनियोजन गरेको स्वास्थ्य प्रमुख केसीले जानकारी दिए। ८४ वर्ष पार गरेका जेष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य सेवा दिए वापत स्वास्थ्यकर्मीले प्रति पटक रु ३५० का दरले सुविधा पाउने समेत व्यवस्था गरिएको छ केसीले भने।
जेष्ठ नागरिकको मानसिक, आर्थिक र शारीरिक अवस्थाले स्वास्थ्य संस्थासम्म पुगेर सेवा लिन अप्ठेरो परिरहेको हुँदा यो कार्यक्रम उनीहरुका लागि फलदायी हुने जिल्ला समन्वय समिति रोल्पाका कार्यवाहक प्रमुख कर्मलाल परियारको भनाइ छ। 'जेष्ठ नागरिकहरुका सुगर, प्रेसर तथा मुटु लगायतका रोगबाट बढी मात्रामा प्रताडित हुनु परेको हुँदा यस्तो सेवाले उनीहरुलाई ठूलो राहत मिल्छ,' कार्यवाहक प्रमुख परियारले भने।
'स्थानीय सरकारहरुले समेत कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि लगानी गर्नुपर्छ,' कार्यवाहक प्रमुख परियारले भने। स्वास्थ्यकर्मीको निरन्तर रेखदेखले जेष्ठ नागरिकहरुलाई मनोवैज्ञानिक रुपले पनि हौसला बढाउन सहयोग गर्ने उनले बताए। 'भौगोलिक विकटताका कारण रोल्पाका गाउँवस्तीमा रहेका जेष्ठ नागरिक स्वास्थ्य संस्थाको पहुँचमा नपुगिरहेका बेला आएको यस्तो कार्यक्रम महत्वपूर्ण छ,' उनले भने।
प्रदेश सरकारले जेष्ठ नागरिकको पिरमर्का बुझ्ने काम गरेको जेष्ठ नागरिक जिल्ला संघ रोल्पाका अध्यक्ष तेजराज आचार्यले बताए। जेष्ठ नागरिकका लागि विशेष कार्यक्रम ल्याउन आफूहरुले लामो समयदेखि गरिरहेको माग सम्बोधन भएकोमा अध्यक्ष आचार्यले खुसी व्यक्त गरे। '८४ वर्षको सीमा नबनाई सबै जेष्ठ नागरिकलाई यो सेवा दिनुपर्छ,' अध्यक्ष आचार्यले भने।
प्रदेश ५ ले मात्रै सञ्चालन गरेको यो कार्यक्रम मुख्यमन्त्री शंकर पोख्रेलको विशेष प्राथमिकताको कार्यक्रम भएको बताइएको छ। अघिल्लो वर्ष कार्यान्वयन गर्ने गरी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश भए पनि आवश्यक कार्यविधि नबनेका कारण कार्यान्वयन हुन सकेको थिएन। 'यस वर्ष भने मुख्य प्राथमिकतामा राखेर कार्यक्रम कार्यान्वयन गर्दै छौं,' स्वास्थ्य कार्यालय रोल्पाका सूचना अधिकारी नोखराज पोख्रेलले भने।
कार्यक्रम कार्यान्वयनका लागि स्वास्थ्य कार्यालय रोल्पाले जिल्लाका १० स्थानीय तहका स्वास्थ्य संयोजकहरुका लागि २ दिने अभिमुखीकरण समेत सम्पन्न गरेको छ। ८४ वर्ष उमेर पार गरेका जेष्ठ नागरिकको पछिल्लो तथ्यांक अद्यावधिक गर्नुका साथै कार्यक्रम कार्यान्वयनका लागि तयार गरिएको निर्देशिकाबारे सबै स्थानीय तहमा साझा बुझाइ ल्याउन अभिमुखीकरण गरिएको बताइएको छ।