काठमाडौँ । भारतमा उत्पादित चर्चित ब्रान्ड ‘प्रियागोल्ड बिस्कुटमा मानिसको उपभोगका लागि अयोग्य तथा गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर मिसावट गरिएको पाइएपछि नेपाल सरकारले यसको आयात, बिक्रीवितरण तथा प्रयोगमा रोक लगाएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको उच्च व्यवस्थापन समूह र प्रोडक्ट रिकल प्राविधिक समितिको २०८३ कात्तिक १ गते आइतबार बसेको आकस्मिक बैठकले मानव स्वास्थ्यको सुरक्षा र उपभोक्ताको हितलाई ध्यानमा राख्दै उक्त निर्णय गरेको हो।
गाईवस्तुको दानाका लागि तयार पारिएको चोकर प्रयोग
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (FSSAI) ले २०२६ अक्टोबर १७ (नेपाली मिति २०८३ असोज ३१) मा जारी गरेको सूचनाअनुसार, प्रियागोल्ड बिस्कुट उत्पादक कम्पनी ‘सूर्या फुड एन्ड एग्रो लिमिटेड, भारत’ को कारखानामा निरीक्षण गर्दा गम्भीर लापरबाही फेला परेको हो।
कम्पनीले बिस्कुटमा फाइबर (रेसा) को स्रोतका रूपमा गाईवस्तुको दानाका लागि तयार पारिएको चोकर प्रयोग गरेको पाइएको छ। उक्त चोकर राखिएका जुटका बोरामा स्पष्ट रूपमा ‘गाईवस्तुको दानाका लागि’ र ‘मानव उपभोगका लागि नभएको’ लेखिएको थियो।
साथै, निरीक्षणका क्रममा कारखानाको सरसफाइ, कीट नियन्त्रण (पेस्ट कन्ट्रोल), कच्चा पदार्थको भण्डारण, कर्मचारीको व्यक्तिगत स्वच्छता तथा कारखाना परिसरको मर्मतसम्भारमा समेत व्यापक कमजोरी भेटिएका थिए। सोही आधारमा FSSAI ले उक्त कम्पनीको इजाजतपत्र निलम्बन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।
नेपाल सरकारको निर्णय र निर्देशन
भारतीय नियामक निकायले कारबाही गरेपछि नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम अर्को आदेश नभएसम्मका लागि निम्न निर्णयहरू लागू गरेको छ।
१. आयात र बिक्रीमा रोक: सूर्या फुड एन्ड एग्रो लिमिटेडद्वारा उत्पादित प्रियागोल्डका सबै ब्याचका तथा जुनसुकै मितिमा उत्पादन गरिएका बिस्कुटजन्य सामग्रीको पैठारी स्वीकृति स्थगित गरिएको छ। साथै, प्रवेश नाका तथा बजारमा तिनको बिक्रीवितरणमा पूर्ण रोक लगाइएको छ।
२. बजारबाट तत्काल फिर्ता (प्रोडक्ट रिकल): आधिकारिक आयातकर्ता तथा खाद्य व्यवसायीहरूलाई बजारमा उपलब्ध प्रियागोल्ड बिस्कुट तत्काल फिर्ता बोलाउन, संकलन गर्न र त्यसको अभिलेख राख्न निर्देशन दिइएको छ।
३. नष्ट गर्नुपर्ने व्यवस्था: फिर्ता गरिएका बिस्कुट नष्ट गर्नुपर्ने अवस्थामा स्थानीय तह, स्थानीय प्रशासन र विभागका प्राविधिक प्रतिनिधिको रोहबरमा नियमानुसार नष्ट गरी विभागलाई जानकारी गराउन भनिएको छ।
विभागले उक्त आदेश उल्लङ्घन गरी जनस्वास्थ्यमा खेलबाड गर्ने वा अस्वस्थकर खाद्य पदार्थ बिक्रीवितरण गर्ने जोकोहीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।