पूर्ण बहादुर खड्का
अछाम - अछाम जिल्लामा ५० जना कुष्ठरोगी रहेको तथ्यांक सार्वजनिक भएको छ। स्वास्थ्य कार्यालय अछामले सार्वजनिक गरेको तथ्याङ्कमा जिल्लाका विभिन्न स्थानीय तहमा गरी उक्त संख्यमा रोगी रहेको पाइएको हो।
जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सेवा लिन आएको तथ्यांक अनुसारको ५० जनामा कुष्ठ रोगि भेटिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए।
तहगत तथ्यांक अनुसार जिल्लाको रामारोशन गाउँपालिकामा ८ जना, बान्नीगढी जयगढ गाउँपालिकामा २ जना, मेल्लेख गाउँपालिकामा १ जना, तुर्माखाद गाउँपालिकामा १ जना, ढकारी गाउँपालिकामा १ जना कुष्ठरोगी रहेका छन्।
यस्तै पञ्चदेवल बिनायक नगरपालिकामा ८ जना, साँफेबगर नगरपालिकामा ७ जना, कमलबजार नगरपालिकामा २ जना, चौरपाटी गाउँपालिकामा १ जना र मंगलसेन नगरपालिकामा १९ जना कुष्ठरोगी रहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ।
५० जना कुष्ठरोगका बिरामीमध्ये ४७ पुरुष, २ बालबालिका र १ महिला रहेका छन्। रोग सर्ने दर कम गर्न जिल्लामा विभिन्न कार्यक्रम चलिरहेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिए।
बिरामीहरु अपांगता भइसके पछि मात्रै उपचारमा आउने भएकोले समस्या हुने गरेको उनको भनाइ छ। लक्षण देखिनासाथ वा कुनै शंका लागेमा समेत स्वास्थ्य संस्था जान उनले आग्रह समेत गरे।
हाल सुदुरपश्चिम प्रदेशमा २ सय ६६ जना कुष्ठरोगका बिरामी रहेको तथ्यांक पनि सोहीक्रममा सार्वजनिक गरिएको थियो।