डा सुमन कर्माचार्य
यही माघे संक्रान्तिको छेक तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक डा सन्दुक रुइतले रामेछापस्थित तामाकोशी सेवा समितिले सञ्चालन गरेको तामाकोशी अस्पतालमा कुनाकन्दराबाट आएका वृद्धवृद्धाको १५६ आँखालाई दृष्टि दिनुभयो। डा रुइतबाट प्रतिपादित तरिकाबाट गरिएको मोतिया बिन्दुको अपरेसन शिविर जिल्ला सामुदायिक आँखा केन्द्र रामेछाप र रामेछाप नगरपालिकाको आयोजनामा भएको थियो।
तामाकोशी सेवा समिति रामेछापमा करिब ३७ वर्ष पहिले जगदीश घिमिरे र दुर्गा घिमिरेको नेतृत्वमा रामेछापका स्वयंसेवीहरुबाट स्थापित संस्था हो। यसको स्थापनाको मूल ध्येय हो, अशक्तलाई सशक्त बनाउने। त्यसअनुरुप समुदायका महिलाको आर्थिक उन्नतिका लागि रामेछापका १२० भन्दा बढी महिलाको समूहहरुमा बचत तथा ऋणको सुभारम्भ भएर हाल धेरै सहकारी संस्थाहरुको स्थापना भएका छन्। यसमध्ये मन्थली बचत तथा ऋण सहकारी संस्था रामेछापको अग्रणी संस्थाको रुपमा रहेको छ, जसले तामाकोशी अस्पतालको स्थापनाकालदेखि झन्डै १२ वर्षसम्म अनवरत आर्थिक सहयोग गरिरह्यो।
जनसंख्यामा आधाभन्दा बढी महिला रहेको र उनीहरुको स्वास्थ्य, शिक्षा,, पिउनेपानी, चर्पी आदि समस्यालाई निराकरण गर्न यो समितिले साक्षरता, खानेपानी, दिगो कृषि, चर्पी निर्माण र आधारभूत स्वास्थ्यको व्यवस्था गर्यो। जो‘जगदीश सामुदायिक विकास’ को मूल मन्त्र हो। रामेछापका गाउँबस्तीले अहिलेसम्म आइपुग्दा राहत महसुस गरेका छन्। यस्ता लक्ष्य परिपूर्तिका लागि मन्थली बचत तथा ऋण सहकारी संस्था लि, तामाकोशी अस्पताल, जगदीश घिमिरे प्रतिष्ठान, तामाकोशी पुस्तकालय आदि सस्थाहरुको जन्म भएका हुन्।
तामाकोशी सेवा समितिको ग्रामीण बस्तीमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने मूल उद्देश्य थियो। स्वास्थ्य सेवा कार्यक्रमको लक्षित वर्ग ग्रामीण महिलाहरु थिए। हरेक महिनामा उनीहरुको टोलमा पुगेर स्वास्थ्य शिक्षा, आधारभूत स्वास्थ्य, परिवार नियोजन सेवा र आयआर्जन सिकाउने मुख्य काम थियो। किनभने त्यस बखत रामेछाप जिल्लाका महिलाको औसत आयु ४९ वर्ष र साक्षरता ५ प्रतिशत मात्र थियो। विसं २०५७ सालमा महिला र शिशुको मृत्युदर घटाउन रामेछाप जिल्लाका विभिन्न १२ स्थानहरुका लक्षित समुदायमा झन्डै ३ घन्टा पैदल यात्राको दूरीमा भेटिने गरी अनमी सहितको स्वास्थ्य केन्द्रको स्थापना भएको थियो तर देशको राजनीतिक द्वन्द्वका कारणले यो निरन्तर रहन सकेन।
तामाकोशी सेवा समितिको स्थापनाकालदेखि नै मन्थलीको जगदीश दाइको घरको कोठाको बाकसबाट सञ्चालित स्वास्थ्य केन्द्र कच्ची एकतले घर पार गर्दै विसं २०५७ सालमा अहिलेको अस्पताल भवनमा आएपछि सानो अस्पतालको रुप लियो।
राजनीतिक द्वन्द्वका कारण गाउँमा स्वास्थ्य केन्द्र सञ्चालन गर्न कठिनाइ भएपछि ती स्वास्थ्यकर्मीहरु यस अस्पतालमा सलग्न भएर पन्ध्र बेड हँुदै हाल २५ बेड अस्पतालका रुपमा सञ्चालित छ। यस अस्पतालमा हाल विभिन्न उपकरणहरुको प्रयोगबाट वर्षेनी सालाखाला ३० हजार बिरामीको रोगको निदान, उपचार, रेफर साथसाथै समयसमयमा विशेषज्ञ सेवा उपलब्ध हुन्छ।
ग्रामीण भेगमा निःशुल्क स्वास्थ्य शिविरहरु अनवरत सञ्चालित छन् र उनीहरुबाट छनोट भएर आएका बिरामीलाई विशेषज्ञ सेवा आवश्यकता पर्ने भएमा यही अस्पतालमा उपलब्ध गराइन्छ। यो कार्य अशक्तहरुलाई सहयोग गर्ने विचारलाई कार्यरुप दिनका लागि हो, नेपालको संविधानले भनेको आधारभूत स्वास्थ्य सेवा निःशुल्क र घरदैलोमा पुर्याउने अभियान र प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाको दायित्व पूरा गर्ने र नागरिक र रोगहरुको नजिक पुग्ने कार्यक्रम हो।
पाठेघर खसेका महिलाहरु पनि यसरी नै छनोट हुन्छन्। आजभन्दा २० वर्ष पहिले झन्डै ३० प्रतिशतका हाराहारीमा यो समस्या भेटिन्थ्यो। यसमा तत्कालीन जिविस, एसडिसी स्विस संस्था, नारी निकुन्ज, अस्टे«लिया, (दुर्गा घिमिरेको सहयोगमा प्राप्त) मन्थली साकोस, तासेस लगायतका संस्थाहरुको प्रायोजन रहेको थियो। यो नेपालकौ पहिलो नमुना कार्यक्रम थियो।
विसं २०६० सालबाट प्रारम्भ गरेर हालसम्म ५०० महिलाले निःशुल्क अपरेसन सेवा प्राप्त गरिसकेका छन्। तिलगंगा आँखा प्रतिष्ठानबाट विसं २०५८ देखि सञ्चालित जिल्ला सामुदायिक आँखा केन्द्रले समुदाय र तामाकोशी अस्पतालमा झन्डै ४ हजार मोतिया बिन्दुको अपरेसन गरिसकेको छ।
विसं २०६३ देखि धुलिखेल अस्पतालका तत्कालीन निर्देशक डा रामकन्ठ माकाजु श्रेष्ठको सहयोगले जर्मन रोटरी भोलेन्टियर डाक्टर्सहरुको अनवरत सेवामा संलग्नता छ। मेरा रोटरी मित्र डा इल्मारको मद्दतले जर्मन रोटरी फाउन्डेसनको सहयोग र मेरो रोटरी क्लब, रोटरी क्लब अफ काभ्रे बनेपाको सहयोगले गुणस्तरीय दाँत सेवा र इमर्जेन्सी सेवालाई गुणस्तरीय बनाउन सकिएको छ। डा इल्मारको रोटरी क्लबले एउटा एम्बुलेन्स र मेरा अर्का रोटरी मित्र डा क्लेमेन्स र धुलिखेल रोटरी क्लबको सहयोगले स्वास्थ्य शिविर जानका लागि गाडीको बन्दोबस्त भएको छ।
रुरल एसिस्टेन्ट नेपाल, युके, हेल्थ एक्चेन्ज, नेपाल, युके र द लिटिल थिंग्स, युकेसँगको मेरो सम्बन्धले इन्डोस्कोपी, इको, टिएमटी मेसिन साथै अस्टे«लियन एडबाट अल्ट्रासाउन्ड, ल्याबका उपकरणहरु र सेवा प्राप्त हुनाका साथै युरोप, एसिया, अस्टे«लियाका विभिन्न विश्वविद्यालयबाट वर्षेनी झन्डै ३० जना मेडिकल स्टुडेन्टहरु स्वयंसेवी इलेक्टिभ र अनुसन्धानका लागि आउँछन्। दुर्गम क्षेत्रहरुमा स्वास्थ्य सेवा पुर्याउन सहयोग गर्छन्।
यी केही तथ्यांकहरुको आधारमा मेरो २७ वर्षको अनुभव र भोगाइहरु तथा जगदीश दाइको सामिप्यताले नेपालको लागि यो उपयुक्त प्राथमिक स्वास्थ्य सेवाको मोडलका रुपमा विकास हँुदैछ। मैले भन्ने गरेको ‘जगदीश सामुदायिक विकास खुला विश्वविद्यालय’ मा यो मोडेललाई नेपाल र नेपाल जस्ता तेस्रो विश्वका मुलुकका लागि प्राथमिक स्वास्थ्य सेवा मोडेलका रुपमा विकास गर्न सकिन्छ।
प्राथमिक स्वास्थ्य सेवा मोडेलका निम्न ५ व्यावहारिक र सैध्दान्तिक आधार रहने छन्ः
१. यो मोडेलमा स्वास्थ्य संस्थाले अहिलेको तामाकोशी अस्पतालबाट प्राप्त भएजस्तै स्वास्थ्य सेवा प्रदान गर्ने छ तथा सम्भव भएसम्मका विशेषज्ञ गुणस्तरीय सेवाहरु ग्रामीण बस्तीका नागरिकको पहुँचमा पुर्याउनेछ। सकेसम्म रोग होइन, अस्पताल हिँड्नु पर्छ र सेवा गुणस्तरीय हुनुपर्छ भन्ने आसयको हुने छ। यसमा सेवाको दिगोपनाका लागि स्वास्थ्य बिमा कार्यक्रम, दाताहरु, बिरामी, स्थानीय सरकार, कसै न कसैको योगदान रहने छ। यसले गाउँलाई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, सरकार, स्थानीय सरकार र व्यक्तिहरुसँग जोड्ने काम गर्ने छ। यसले अन्तर्राष्ट्रिय तथा देशका विद्यार्थीहरुलाई अनुसन्धान र सिकाइका लागि मद्दत गर्ने छ।
२. रोगबाट ग्रसित नागरिकको घरदैलोमा पुगेर राष्ट्रिय तथा अन्तराष्ट्रिय विशेषज्ञहरु र साधनस्रोतको उपयोग गरी ग्रामीण नागरिकहरुको स्वास्थ्य समस्याहरु र यसमा प्रभाव पार्ने तत्वहरुको उत्खनन्, जागरण, प्रसारण, सरोकारवालाहरुसँग योजना तर्जुमा, कार्यान्वयन, मूल्याकंन गर्ने र सिकाइहरु अन्य स्थानहरुमा विस्तार गर्ने छ। यस अनुरुप रोगीहरुको जाँच, उपचार, परामर्श र रेफर गरिन्छ र यसमा स्थानीय क्लब, संस्थाहरु, स्वयंसेवीहरु, स्थानीय सरकारहरुको प्रत्यक्ष संलग्नता रहन्छ। यसले आफ्नो समुदायको स्वास्थ्य सेवामा आफैं जिम्मेवार ढंगले स्वयं सेवा गर्ने र समुदायलाई माया गर्ने बानीको विकास हुने छ र स्वयंसेवी अभियानलाई टेवा पुर्याउने छ।
३. दुर्गम स्थानहरु जहाँ स्वास्थ्य सेवा पुर्याउन सकिएको छैन, स्थानीय संस्थाहरु र सरकारहरुसँग मिलेर स्वास्थ्य संस्थाहरुको निर्माणमा सहयोग गर्ने छ। हालसम्म मन्थली केन्द्रको सेवा घेराभित्र पर्ने सिन्धुली, रामेछाप र ओखलढुंगाको ४ स्थानहरुमा तिलगंगा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्रको मद्दतले ग्रामीण आँखा क्लिनिक र नेपालको पहिलो दुर्गम भेगको विद्यालय भित्रको दाँत अस्पताल मेरा रोटरी मित्र डा जोन एडर्सन, उनको क्लब मिल्टेनवर्ग र मेरो रोटरी क्लब काभ्रे बनेपाको सहयोगमा बनेको छ।
त्यस्तै यहाँको सिकाइबाट सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा इटालियन संस्थाको सहयोगमा जय नेपाल नामक संस्थाले बोडगाउँ स्वास्थ्य केन्द्र सञ्चालित छ। रामेछाप नगरपालिकाबाट सञ्चालित समुदायमा आधारित स्वास्थ्य कार्यक्रमहरुमा सक्रिय सल्लाह र सहयोग प्रदान गरिरहेको छ। अन्य स्थानीय संस्थाहरुबाट सञ्चालित साना स्वास्थ्य संस्थाहरु र योजना बनाइरहेका संस्थाहरुलाई प्राविधिक तथा व्यवस्थापकीय सरसल्लाह र सहयोग प्रदान गरिरहेको छ। यसरी यो मोडेलले समाज कल्याणका लागि आफूले सिकेको सिकाइहरुलाई विस्तार गर्दै अपुग स्थानहरुमा सेवा गर्न मद्दत गर्नुपर्छ।
४. नेपालमा स्वास्थ्य सेवा व्यवस्थापन विषयको स्नातकोत्तर अध्यापन हुने पोखरा विश्वविद्यालयको एक मात्र कलेज नेसनल ओपन कलेज तथा स्नातक विषयका विद्यार्थीहरुलाई प्राध्यापकका रुपमा यी अनुभवहरु आदानप्रदान गरिन्छ। यसमा प्राथमिक स्वास्थ्य सेवाको मोडलको आवश्यकता, अनुभव, हाल प्रचलित स्वास्थ्य सेवा प्रणालीको फरकको बारेमा विस्तृत रुपमा बताइन्छ। यसले मुख्य रुपमा विद्यार्थीहरुलाई गाउँको स्वास्थ्य सेवा सुधारका लागि धारणा बनाउन मद्दत गर्छ र उत्प्रेरित गर्छ। यसरी विश्वविद्यालयहरुमा भोगाइ र सफल सिकाइहरुलाई बताएर राष्ट्रलाई योगदान गर्ने पनि यो मोडेलको लक्ष्य हो।
५. यो मोडेलको मान्यता रहन्छ कि स्वास्थ्य संस्थाका हरेक व्यक्तिले दिने समयहरु र कामले संस्थाको आर्थिक दिगोपनालाई टेवा दिनुपर्छ। जगदीश घिमिरेको विकासको सिद्धान्तको सबैभन्दा महत्वपूर्ण दर्शन हरेक विकास आफैंमा दिगो हुने संकल्प र योजनासाथ जन्मनु पर्छ। यस अनुरुप लक्ष्यहरु कम्तीमा दिन, महिना र वर्षमा किटान हुनुपर्छ। हरेक कर्मीको कर्मले आफूलाई पाल्ने आम्दानी या संस्थाको ध्येयको परिपूर्ति अथवा प्रत्यक्ष समाज कल्याणको कार्य गर्नुपर्छ। यो महत्वपूर्ण दर्शनका रुपमा रहने छ र यसले कालान्तरसम्म हरेक संस्थाहरुलाई दिगो राख्ने छ।
संक्षेपमा तामाकोशी सेवा समितिका बारेमा वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीले २०६७ साल पुस २८ गतेको अन्नपूर्णमा उल्लेख गर्नु भएको दिगो विकासको रामेछाप मोडेलबाट आजसम्म आइपुग्दा यो प्राथमिक स्वास्थ्य सेवाको रामेछाप मोडेलले ९ वर्षपछि अर्को थप आकार ग्रहण गरेको छ। यो मोडेलबाट नेपालको कुना कन्दराका नागरिकबीच प्राथमिक स्वास्थ्य सेवाका संस्थाहरुबाट प्राथमिक स्वास्थ्य सेवासँगै दिगो विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ र गाउँका पहुँचबाट टाढा रहेका बिरामीहरुलाई सहरका अस्पतालहरुको गुणस्तरीय सेवा पुर्याउन सकिन्छ भन्ने ध्येय राख्छ।