काठमाडौं- थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा उपचारका लागि अस्पताल पुगेर टिकट काट्नु नपर्ने भएको छ। अब घरमै बसेर पनि टिकट काट्न सकिने सुविधा अस्पतालले दिएको छ। त्यो पनि आफूले चाहेको समय र चिकित्सकसँग।
प्रसूति गृह अस्पतालले आइतबारदेखि अनलाइन टिकट प्रणाली सुरु गरेसँगै घन्टांैसम्म लाइन बस्नुपर्ने बाध्यता हटेको हो। भीड व्यवस्थापन गर्न र बिरामीको सहजताका लागि अनलाइन टिकट प्रणाली सुरु गरिएको अस्पतालका निर्देशक प्राडा जागेश्वर गौतमले बताए।
उनले भने, ‘उपचारका लागि टिकट काट्न घन्टौंसम्म बिरामी लाइनमा बस्नुपर्दा भीड धेरै हुन्छ। भीड व्यवस्थापन र बिरामीको सहजताका लागि अनलाइन टिकट सुरु गरेका हौं।’
अनलाइनबाट टिकट काट्नका लागि बिरामीले गुगलको प्ले स्टोरमा प्रभु पे डाउनलोड गर्नुपर्ने मेडी फ्लोका सिइओ सुरेन्द्र न्यौपानले बताए। प्रभु पे डाउनलोड गरेपछि त्यसभित्र हस्पिटल अप्सन हुन्छ। हस्पिटलभित्र अनलाइन टिकट प्रणाली लागू गरिएका विभिन्न अस्पतालको सूची आउँछ। जसमा बिरामीले प्रसूति गृहमा क्लिक गरी एपले निर्देश गरेअनुसार फर्म भर्नुपर्ने उनले बताए।
प्रसूति गृह अस्पतालमा दैनिक ६ सय देखि ७ सय जना बिरामी उपचारका लागि पुग्छन्। ६ सय ५० कर्मचारी रहेको अस्पतालमा ५ सय शय्या क्षमता छ। प्रसूति गृहमा गत वर्ष २२ हजा १ सय ४७ जनाले प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ।
यसअघि सिभिल, सहिद गंगालाल अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले अनलाइन टिकट प्रणाली सुरु गरिसकेका छ्।