कोरोना संक्रमितको मृत्यु भए कसरी सनाखत गर्ने भन्ने धेरैको जिज्ञासा भएको पाइन्छ। हुन त यो संक्रमणबाट कसैको पनि मृत्यु नहोस् तर पनि यस्तो अवस्था आइपरेमा के गर्ने भनेर पनि बुझ्न जरुरी हुन्छ। यसमा विश्व स्वास्थ संगठनले पनि सुझाएको छ।
१) घर वा नातेदार जो कोही संक्रमित मृतकको सनाखतमा प्रत्यक्ष सहभागी हुदैछ भने उसले राम्ररी साबुन पानीले हात धोएर पञ्जा अनिवार्य लगाउनुपर्छ। र, सनाखतपछि पनि साबुन पानीले राम्ररी हात धुनुपर्छ।
२) संक्रमित मृतकको शरीरको तरल पदार्थ आँखा र मुखमा नपरोस् भन्नका लागि बिशेषतः चस्मा (गगल्स), मुख छोप्ने कपडा वा सर्जिकल मास्कको प्रयोग गर्नुपर्छ।
३) संक्रमित मृतकले लगाएको कपडा तुरुन्त धुने वा नष्ट गर्न सकिन्छ।
४) मलामीमा उपस्थित हुनेहरुको संख्या सकेसम्म कम हुनुपर्दछ र सहभागीहरु साठी बर्षभन्दा बढी उमेरका र कुनै पनि दीर्घ रोगहरुबाट प्रभावित भएको हुनुहुँदैन। तर यदि उपस्थिति जनाउनै पर्ने अवस्था आएमा भने मृतकको शरीरलाई एक मिटरभन्दा टाढाबाट नछुएरै हेर्न सकिन्छ। नातेदार र छिमेकीले पनि यही उपायहरु अनुसरण गर्न सकिनेछ। तर उ,नीहरु बीच (छिमेकी र नातेदार) कम्तीमा एक मिटरको दूरी कायम राखेर सनाखतको काम पूरा गर्न राख्न बिर्सिनु हुँदैन। र, पछि फर्कने बेला सबैले साबुन पानीले राम्ररी हात धुनुपर्छ।
५) रुघाखोकी लागेको व्यक्ति सकेसम्म मलामीमा नजाने र जानैपर्ने भए मेडिकल मास्क लगाउने।
६) संक्रमित मृतकको सनाखतमा प्रत्यक्ष सहभागीले आफूले लगाएको पिपिईको (ग्लोभ्स, गगल्स, मास्क) काम सकिएपछि उत्पादनकर्ताले दिएको सुझाब अनुसार सफा गर्नुपर्छ।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)