डा कृष्ण चापागाईं
यतिबेला विश्वभरि महामारीको रुपमा फैलिएको कोभिड-१९ नेपालमा पनि भित्रिइसकेको छ। कोभिड-१९ को ठोस उपचार पत्ता लागिसकेको छैन र उपचारका विभिन्न उपायहरुको खोजी भइराखेको छ। कोभिड-१९ विरुद्धको लडाईंमा आयुर्वेदिक जडिबुटीहरुको उपयोगिताबारे चर्चा गरौँ।
आयुर्वेद एक प्राचीन र नेपालको मौलिक उपचार पद्धति हो। आयुर्वेदमा विभिन्न रोगका उपचारहरु रहेका छन्। आयुर्वेदमा विभिन्न औषधिहरुको मिश्रणको प्रयोग गरिने हुँदा कृत्रिम औषधिहरुको तुलनामा आयुर्वेदिक औषधिहरुको अनुसन्धान गर्न कठिन छन् र कम संख्यामा गरिएका छन्। ती कम संख्यामा रहेका अनुसन्धानहरुका आधारमा आयुर्वेदबाट कोभिड-१९ को व्यवस्थापन गर्न सहयोग हुने केही प्रसंगहरुलाई यहाँ जोड्न खोजिएको छ।
कोभिड-१९ सँग सम्बन्धित सबै औषधिहरू अनुसन्धानको चरणमा नै रहेको हुँदा यहाँ उल्लेखित जानकारीहरु कोभिड-१९ को चिकित्साका लागि नभई व्यक्तिको रोगप्रतिरोधात्मक क्षमता वृद्धिका लागि ग्रहण गर्नुहुन पाठकवर्गमा अनुरोध छ।
चीनमा विभिन्न अध्ययनमा सुरुवाती चरणका बिरामीमा त्यहाँको परम्परागत चिकित्साको प्रयोगले मात्रै ज्वरो आदि लक्षणहरु कम भएको पाइएको थियो भने पछिल्ला चरणका बिरामीमा विभिन्न एन्टिभाइरलसँगै परम्परागत चिकित्साको प्रयोगले बिरामी छिटो निको भएको कुरा विभिन्न न्युज एजेन्सीहरुले उल्लेख गरेका छन्। ती चिनियाँ परम्परागत चिकित्सामा प्रयुक्त मुख्य रुपमा प्रभावकारी मानिएका ४ वटा क्वाथहरु सबैमा जेठिमधुको जराको प्रयोग भएको कुरा एजेन्सीहरु बताउँछन्।
त्यस्तै वेणुगोपाल आदिद्वारा प्रकाशित समीक्षात्मक सोधपत्र अनुसार जेठिमधुमा ब्याक्टेरिया, ढुसी, भाइरस, एड्स, मलेरिया, क्यान्सर आदि विरुद्ध लड्ने र एन्टिअक्सिडेन्टजस्ता गुणहरु हुन्छन्। यसरी जेठिमधु कोभिड-१९ विरुद्धको लडाईंमा उपयोगी हुनसक्ने देखिन्छ।
त्यस्तै लसुनले सार्स भाइरसको रेप्लिकेसन (संख्यावृद्धि) लाई रोक्न मद्दत गर्ने निष्कर्ष सन् २००७ को एक अध्ययनले देखाएको थियो। विज्ञहरुका अनुसार सार्स गराउने भाइरस र कोभिड-१९ गराउने भाइरसमा धेरै समानता देखिन्छ। यस कुरालाई मध्यनजर गर्दा लसुनले सार्स कोरोना भाइरस-२ (कोभिड-१९ को कारक भाइरस) लाई पनि रोक्न मद्दत गर्नसक्ने आकलन अनुसन्धानकर्ताहरू गर्छन् ।
पारसिक यवानी (खुर्सानी ज्वानो) माथि सन् २००८ मा जिलानी आदिद्वारा प्रकाशित एक अध्ययन अनुसार यसले क्याल्सियम च्यानललाई बन्द गरि पाचनप्रणाली, श्वासप्रश्वास प्रणाली आदिमा खुकुलोपन ल्याउने देखाएको छ। प्रयोगले विभिन्न भाइरल संक्रमणका बेला भूमिका खेल्ने क्याल्सियम च्यानललाई रोक्न मद्दत पुग्नसक्ने कुरा एल्सभायरले उपलब्ध गराएको एक सोधपत्रमा उल्लेख छ।
सन् २०२० मा कर्नेल युनिभर्सिटीमा अम्ब्रिस कु श्रीवास्तव आदिद्वारा पेस गरिएको एक अध्ययनले पारिजात, गुडुची, बेसार, निम, अश्वगन्धा र अदुवाको कोभिड-१९ प्रोटिएजलाई रोक्नसक्ने खुबी, क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन (मलेरिया विरुद्धका औषधिहरु) को भन्दा अधिक पाइएको जनाएको छ।
यी मलेरिया विरुद्धका औषधिहरुले प्रयोगशालामा कोभिड-१९ प्रोटिएजलाई रोक्ने कुरा सावित भइसकेको छ तर तिनको विषाक्त प्रभावका कारण धेरै देशहरुले यसको प्रयोगलाई वैधानिकता दिएका छैनन्। यस्तो अवस्थामा त्यस्ता विषाक्त प्रभावमुक्त आयुर्वेदिक जडिबुटीहरुको प्रयोग गरी कोरोना लाग्नबाट बच्न प्रतिरोधात्मक क्षमता बढाउन टेवा पुग्नसक्ने देखिन्छ।
पतञ्जली रिसर्च फाउन्डेशन ट्रस्टले सन् २०२० मा गरेको एक अनुसन्धानमा अश्वगन्धामा पाइने विदानोनले एसिई२(आरबिडी कम्प्लेक्सलाई कमजोर बनाई कोभिड-१९ को शरीरका कोषिकामा प्रवेशलाई रोक्नसक्ने कुरा बताइएको छ। रिसर्चस्क्वेरमा उपलब्ध उक्त पत्र पियर रिभिउ प्रकृयामा रहेको भए तापनि प्रासंगिक भएकाले यहाँ उल्लेख गरिएको छ।
उल्लिखित कतिपय अध्ययनहरु जीवित प्राणीमा प्रयोग भने गरिएका छैनन्। तर विभिन्न केमिकल औषधिहरुको कोभिड-१९ का विरुद्ध अनुसन्धान भए पनि आयुर्वेदिक औषधिका बारे अनुसन्धान भएको त्यति पाइँदैन। यसको कारण आयुर्वेदको पर्याप्त ज्ञान भएका नेपाल, भारत आदि पूर्वीय देशहरुमा अपर्याप्त अध्ययनका अवसर, कोभिड-१९ को ठोस कार्यशैली पत्ता नलागिसकेको अवस्था आदि पनि हुन्। यस्तो अवस्थामा यस्ता सोधपत्रहरुले आयुर्वेदको प्रयोगबाट कोभिड-१९ को नियन्त्रण गर्न वा लाग्न नदिन आधारभूत भूमिका खेल्न सक्छन् र अझ गहन अध्ययनका लागि सम्भावना देखाएका छन्।
केमिकल औषधि नै पनि कोरोना विरुद्ध प्रभावकारी नभइसकेको बेलामा यी आयुर्वेदिक जडिबुटीहरु कोभिड-१९ बाट बच्न ओज बढाउन लागि प्रयोग गर्नु हानिकारक देखिँदैन बरु फाइदाजनक नै देखिन्छ।
त्यसो त भारतको आयुष मन्त्रालयले कोभिड-१९ को आयुर्वेदको प्रयोगबाट व्यवस्थापन गर्न निर्देशिका बनाएपश्चात् नेपालमा पनि निर्देशिका तयार गर्ने कार्यको थालनी भएको छ। तथापि ती निर्देर्शिकामा कोभिड-१९ को नियन्त्रणमा उपयोगी सिद्ध हुनसक्ने यस्ता औषधिहरुमा कोभिड-१९ कै परिप्रेक्षमा गरिएका यस्ता अध्ययनहरुको सहयोग लिइएको भने पाइएन।
यी अनुसन्धानहरुले एउटा कुरा के स्पष्ट बनाउँछन् भने आयुर्वेदमा अथाह क्षमता छ। विभिन्न रोगहरु लाग्न नदिन, रोगका उपचार गर्न र रोगको पुनरावृत्ति हुन नदिन आयुर्वेदले राम्रो भूमिका खेल्न सक्छ। त्यसका लागि आयुर्वेदलाई उजागर गरी आधुनिक चिकित्सा विज्ञानमा स्थापित गराउन आयुर्वेदको अनुसन्धानलाई जोड दिनुपर्छ। दुःखको कुरा नेपालको मौलिक चिकित्सा आयुर्वेदमा अनुसन्धानको लागि नेपालमा भने उल्लेखनीय प्रयास नीतिगत तवरबाट भएको देखिँदैन, जुन अत्यन्त आवश्यक देखिन्छ।
अन्ततः भौतिक दूरी कायम गर्ने, नियमित हात धुने आदि उपायहरुको कुनै विकल्प नभइसकेकाले कोभिड-१९ लाग्न नदिन यस्ता क्रियाकलापहरुको पालन गर्नैपर्ने हुन्छ।
नोट : लेखमा उल्लिखित कुनैपनि कुरा कोभिड-१९ को उपचार भने होईनन् ।
-(लेखक आयुर्वेद क्याम्पस कीर्तिपुरमा ईन्टर्न डाक्टरको रुपमा कार्यरत छन्।)