फुर्वा साङ्गे मोक्तान
गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया किशोरीमा कोरोना भाइरसको संक्रमण देखियो। करिब २ हप्ता अस्पताल बसाइपछि उनी अहिले निको भएर घर फर्किसकेकी छिन्। उनीसँगै हालसम्म अन्य १६ जना संक्रमित पनि उपचारपछि निको भएर घर फर्किन पाएको अवस्था छ।
यो आलेख तयार पर्दासम्म नेपालमा ५२ जना व्यक्तिमा संक्रमण पुष्टि भइसकेको अवस्था छ भने कसैले पनि ज्यान गुमाउनु परेको छैन। सरकारको आधिकारिक जानकारीअनुसार ४१ हजार ४ सय ३६ जनाको द्रुत परीक्षण र ९ हजार ९ सय ३१ जनाको पिसिआर प्रविधिबाट कोरोना भाइरसको परीक्षण भइसकेको छ।
परीक्षणको तिब्रता पछिल्लो केही समयमा उल्लेखनीय वृद्धी भएको देखिएसँगै नयाँ संक्रमितहरुको पनि पुष्टि हुँदै गइरहेको छ। पछिल्ला दिनमा पत्ता लागेको काठमाडौंस्थित सनसिटी कोलोनीमा पुष्टि भएका संक्रमितहरुको संक्रमणको तथ्य हेर्दा कम्तीमा १ महिनाजतिको अवधि देखिन्छ। यतिमात्र हैन, उनीहरुमध्ये २ जनामा संक्रमण देखिए पनि रोगका लक्षणहरु भने देखिएनन्। यसबाट हामी के कुरा अनुमान लगाउन सक्छौं भने संक्रमण भएका छन् तर पुष्टि हुन ढिलो भइरहेको छ। उनीहरु जस्तै अन्य पनि संक्रमण हुनसक्छ।
यहाँबाट सुईलाई दुई तिर घुमाउन सकिन्छ। पहिलो त, लक्षण नदेखिएका कोरोना भाइरसको संक्रमण भए पनि नदेखिएकाले अन्य स्वस्थ व्यक्तिहरुमा सर्ने तर बाहिरी लक्षण नदेखिने क्रम जारी नै रहन सक्छ। जसले गर्दा बरफको डल्लो जस्तो बहिर थोरै देखिए पनि भित्र भयावह संक्रमण भइसक्ने अवस्था रहन सक्छ। त्यसैगरी दोस्रोमा, निको भएर जानेहरुमा फेरि पनि अन्य संक्रमित वा लक्षण नदेखिएका संक्रमितहरुबाट पुनः संक्रमणको सम्भावना रहन सक्छ। त्यसो भए समाधान छैन त? अवश्य छ। जहाँ इच्छा, त्यहा उपाय भने जस्तै दृढ इच्छाशक्ति नै उपाय हो।
हामी सबैलाई थाहा छ, न यो रोगको कुनै औषधि पत्ता लाग्न सकेको छ, न त कुनै प्रतिरोधात्मक भ्याक्सिन नै। यस्तो परिस्थितिमा हामीसँग मूलतः दुई विकल्प छन्। एक, रोग लाग्न दिने अनि रोगसँग लड्ने। कि विजय प्राप्त गर्ने कि मृत्यु स्वीकार गर्ने। कोभिड–१९ को सवालमा प्रति १०० मा ५ जनाले मृत्यु स्वीकार गर्नुपर्ने बाध्यता देखिन्छ। साथै, उस्तै परे यो लडाईं अनगिन्ती पल्ट लड्नुपर्ने हुनसक्छ । यो हार्ने लडाईं हो।
दोस्रो, कोभिड–१९ लाग्नै नदिने। यो जित्ने लडाईं हो। तर कसरी? यदि तपाईंले कोरोना भाइरस रोग–१९ लाई सही ढंगबाट बुझ्नु भएको छ भने तपाईंले यो पत्ता लगाउन गाह्रो पर्ने छैन कि यो जनस्वास्थ्यसँग सम्बन्धित रोग हो, जुन श्वासप्रश्वास र भौतिक सम्पर्कबाट सर्ने गर्दछ। हाम्रो आनीबानी नै यो रोगको लागि सूचक हो। या भनौं, जोखिमयुक्त बानी व्यवहार नै कोरोना भाइरस सर्ने कारण हो, जसमा स्वच्छता व्यवहारको भूमिका मैले ८० प्रतिशत भन्दा बढी देखेको छु।
जस्तो कि विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९बाट बच्न ६ वटा सुझाव छन्। जस्तैः
१. साबुनपानी वा अल्कोहलजन्य (यदि आँखाले हेर्दा फोहोर छैन भने) ले हात नियमित धुने।
२. खोक्दा नाक र मुख कुहिना वा टिस्यु पेपरले छोप्ने, बन्द भाँडोमा फाल्ने र हात धुने।
३. कम्तीमा १ मिटर (३ फिट) को सामाजिक दूरी कायम गर्ने विशेषगरी खोक्दा र ज्वरो आउँदा।
४. नाक, मुख र आँखा छुने काम नगर्ने।
५. मास्क र व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग बिरामी हुँदा, बिरामीको हेरचाह गर्दा वा स्वास्थ्य संस्थामा गर्ने। र,
६. यदि बिरामी हुनुहुन्छ भने घरमै बस्ने तर ज्वरो, खोकी र श्वास फेर्न गाह्रो भएमा तत्कालाई चिकित्सा सेवा लिने।
माथिका सुझावहरुमध्ये छैठांै बाहेक बाँकी पूर्णतः स्वच्छताका आचरणहरु हुन्। यदि यी आचरणहरुको पूर्ण पलना गर्न सकियो भने कोभिड–१९ हुने सम्भावना ज्यादै न्यून हुने कुरामा दुईमत नहोला।
अहिले लकडाउनको पहिलो अवधि पूरा भई दोस्रो अवधि पनि सकिनै लागेको अवस्था छ। कुरा स्पष्ट छ, मानिसहरु अब जीविका लागि अत्तालिन थालिसकेको अवस्था छ। रोगले भन्दा पनि भोकले पिरल्नेको जमात पनि आधाउधी नै छ हाम्रो नेपालमा। झन्, सहरी गरिब, श्रमिक, मजदूर, डेरावाल एवं विद्यार्थीहरुको लागि त लकडाउन बढ्दै जाँदा ब्रेकडाउन नै हुनसक्ने अवस्था पनि चाँडै आउन नसक्ला भन्न सकिन्न।
१ महिनाअघि लकडाउन सुरु हुने ताका भन्दा अहिले मानिसहरु काठमाडौं छोड्न खोज्ने क्रम पनि बढेको छ। उनीहरु रोगसँग डराएर घर फर्कन चाहेका मात्र छैनन्। अपितु, जीविकाका लागि कुनै उपाय नभएपछि जीवन बचाउन पनि रातिराति हिंडेर वा गाडीमा जोखिमपूर्ण यात्रा गर्दैछन्। धेरै सञ्चारमाध्यमहरुले उनीहरुको कारुणिक कथा देखाइ–सुनाइरहँदा धेरैपल्ट यो पङ्तिकार पनि भावुक भएको दृष्टान्त छ।
यस सन्दर्भमा हेर्दा अवश्य पनि लकडाउन केवल एक विकल्प मात्र भएको र वैशाख १५ पछि फेरि यही किसिमले लम्ब्याउनुको खास विशेष महत्व नभएको देखिन्छ। बरु विशेष परिस्थितिका लागि विशेष प्रयोजन अनुरुप २५, ५०, ७५ र १०० प्रतिशत लकडाउन वा यस्तै केही उपायहरुमार्फत ‘सर्प पनि मर्ने र लौरी पनि नभाँच्चिने’ तरिका अवलम्बन गर्नुपर्ने देखिन्छ।
हुन त सरकारको आधिकारिक धारणा आइनसके पनि केही सञ्चारमाध्यमबाट वैशाख १५ पछि लकडाउन नलम्बिने भन्ने किसिमको समाचार पनि आइरहेको छ। यस्तो अवस्थामा कम्तीमा १ मिटरको दूरीले स्वच्छ दूरीको अचुक काम गर्ने देखिन्छ, र कोभिड–१९ नियन्त्रणमा अमृतवाणीको पनि काम गर्न सक्नेछ।
विचारणीय कुरा के छ भने, भोलिका दिनमा संक्रमणको जोखिमबाट बच्ने हो भने स्वच्छतालाई विशेष प्राथमिकतामा राखेर सोसम्बन्धी व्यवस्था गर्न अत्यावश्यक छ। हामी सबैलाई थाहा छ, वैज्ञानिकहरु यस रोगको औषधि र भ्यक्सिनको खोजिमा दिनरात लागि परेका छन्। बुझ्नु पर्ने कुरा के छ भने भ्याक्सिन पत्ता लागेर प्रयोगमा आउन वैज्ञानिकहरुकै कुरा सुन्दा नि कम्तीमा १ वर्ष लाग्नेछ। त्यसमाथि नेपालमा सर्वसुलभ हुन अर्को समय त छँदैछ।
त्यसैले, हामीसँगै भएको र हाम्रो आफ्नै बुताले भ्याउने स्वच्छता कायम गरेर रोगथाम र नियन्त्रण गर्नु नै राम्रो हो। यो नै हालका लागि उत्तम भ्यक्सिन हो। नियमित रुपमा केवल साबुनपानीले हात मिचिमिची धुने, घरबाहिर निस्कँदा सबै दोस्रो–तेस्रो व्यक्तिसँग कम्तीमा १ मिटरको दूरी कायम गरेर मात्र कारोबार गर्ने तथा मास्क अनिवार्य प्रयोग गर्ने गर्दा मात्र पनि हामी धेरै सुरक्षित बन्न सक्नेछौं। बिहान घरबाट निस्केर आफ्नो काम सकेर फर्केर घर आइपुग्दा बीचमा भएका गतिविधिहरु पनि जोखिममुक्त हुनेछन् र आफू लगायत परिवारका सदस्यहरु पनि कोरोना रहित हुन सक्नेछौं।
अन्त्यमा, हामी सबै श्रमजीवी छौं। काम बिना जीविका नचल्ने विश्वव्यापी परिस्थिति छ र यसबाट हामी पनि अछुतो छैनौं। तर काम अघि बढाउने र काम अघि बढाउदै गर्दा रोगको जोखिमबाट बच्नु पर्ने अहिलेको पहिलो प्राथमिकता रहँदा स्वच्छता, बानी व्यवहार र सुविधा नै महत्वपूर्ण कडी हो। अतः स्वच्छता नै कोरोना भाइरस रोग–१९बाट बच्ने सस्तो र सर्वसुलभ भ्याक्सिन हो, सबैभन्दा दिगो औषधि पनि हो।
(लेखक जनस्वास्थ्य स्वच्छता विज्ञ हुन्।)