डा मिलन अधिकारी
२०४६ सालमा बहुदलीय व्यवस्था स्थापित भएपछिको अवधिमा देशमा दर्जन बढी सरकार बने। संक्रमणकालीन अवस्थाका पटके सरकार हुन् या बलियो जगमा बनेका बहुमतका सरकार, सबै सरकारका पालामा सबैभन्दा बढी उपेक्षामा परेको मन्त्रालय कुनै हो भने त्यो स्वास्थ्य मन्त्रालय नै हो।
मिलिजुली बनेका सरकारहरुमा धेरै कम उदाहरण छन्, जहाँ नेतृत्व गर्ने दलले स्वास्थ्य मन्त्रालय आफूसँग राखेको। झन्डै दुई तिहाइ बहुमतको वर्तमान सरकारले पनि स्वास्थ्य मन्त्रालय झन्डै २ वर्ष आफ्नो पार्टीको मातहत नराखेको कटु यथार्थ हो। यस्तो बलियो धरातलमा बनेको सरकार, झन्डै दुई तिहाइ जनताको अभिमत पाएको सरकारले पनि संविधानले नै आधारभूत अधिकारको रुपमा मानेको 'स्वास्थ्य' हाँक्ने मन्त्रालयलाई महत्व दिएन।
यत्रा सरकारमा स्वास्थ्यमन्त्री बनेकाहरुको पृष्टभूमि हेर्दा राजाको प्रत्यक्ष्य शासनकालको बेला मन्त्री बनेका डा उपेन्द्र देवकोटा र त्यसअघि डा रामबरण यादव (पूर्व राष्ट्रपति) बाहेक अरु कोही पनि जनस्वास्थ्य वा चिकित्सा पेसासंग सम्बन्धित देखिएनन्।
मन्त्री त राजनीतिक पद भयो, सबै बेला डाक्टर नै बन्न सम्भव नहोला पनि। तर मन्त्रालयको दैनिक कामकारबाही हाँक्ने कर्मचारीका पनि हाकिम कर्मचारी, स्वास्थसचिव, पनि गैरचिकित्सक र गैरजनस्वास्थ्यकर्मी हुनु चाहिँ हाम्रो बिडम्वना नै हो।
यसो भनिरहँदा सचिवज्यूहरुको प्रशासनिक कार्यक्षमतामाथि प्रश्न उठाएको हैन। तर ११औं तहका डाक्टर/जनस्वास्थ्यकर्मीहरुको पनि हाकिममा विषयगत ज्ञान नहुँदा, मन्त्रालयका गतिविधि चुस्तदुरुस्त रुपमा हुन्छन् वा भइरहेका छन् भन्न सकिन्न।
समस्त विश्व अहिले कोभिड-१९ को महामारीको चपेटामा परेको अवस्था छ। सबैभन्दा सुदृढ स्वास्थ्य व्यवस्था भएका भनेर कहलिएका अमेरिका र युरोपेली राष्ट्रहरु अहिले यो रोगबाट नराम्ररी थलापरेको अवस्थामा विस्तारै एसिया महाद्वीपमा पनि यो संक्रमण फैलिँदो अवस्थामा छ। नेपालमा पनि दिन प्रतिदिन संक्रमितहरुको संख्यामा वृद्धि भइरहेको छ।
कोरोना सरगर्मीबीच आफ्ना पेसागत मूल्यमान्यता र धर्मलाई आत्मसात गर्दै अग्रणी भूमिकामा स्वास्थ्यकर्मी देखिएका छन्। स्वास्थ्यकर्मीले प्रयोग गर्नुपर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) आवश्यक मात्रामा नपाउँदा, आफू संक्रमणको जोखिममा रहँदारहँदै पनि अहोरात्र खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउने काम मन्त्रालयले गर्नु एकदमै जरुरी देखिन्छ, जुन कुरामा हाम्रो मन्त्रालय नराम्री चुकेको छ, पछिल्लो घटनाक्रम हेर्दा।
गएको हप्ता राष्ट्रिय सञ्चार माध्यममा राम्रै स्थान पायो एउटा समाचारले। कोरोना कहरका बीच टेकु अस्पतालमा कार्यरत डा शेरबहादुर पुनलाई मन्त्रालयले चिठी काटेर मन्त्रालयमा बोलाएको खबर सनसनी रुपमा फैलियो। स्पष्टीकरण सोध्न बोलाइयो वा डा साबले भन्नुभएको जस्तै सामान्य छलफल गर्न बोलाइयो, उहाँहरुलाई नै थाहा होला। अहिले उठान गर्न खोजेको विषय त्यसपश्चात आएको स्वास्थ्यसचिवज्यूको अन्तर्वार्ताको बारेमा हो।
व्यक्तिगत रुपमा म डा पुनलाई चिन्दिनँ। टेकु अस्पताल जाँदा एक/दुई पटक देख्दा नमस्कार गरेको बाहेक बोलचाल पनि भएको छैन। उहाँका लेख र अन्तर्वार्ताहरु चाहिँ पढेको र हेरेको छु। त्यसकारण उहाँको बारेमा जानकार चाहिँ छु।
व्यक्तिगत रुपमा वर्तमान स्वस्थ्य सचिवज्यूसँग पनि चिनजान छैन। उहाँको बारेमा जति थाहा छ, मिडियाबाट नै हो। मिडियामा आएका सबै कुरा त म पनि पत्याउँदिन, कतिपय पूर्वाग्रही पनि छन्। तर उहाँ आफैं आएर बोलेको कुरा त पत्याउनै पर्यो। मिडियामा आएर उहाँले डा पुनको बारेमा जति पनि कुरा बोल्नु भयो, त्यो पुन डाक्टर साबको मात्रै हैन, सबै स्वास्थ्यकर्मीको ठाडो अपमान हो।
डाक्टरको डिग्रीको खिल्ली उडाउन खोज्नु भो सुरुमै। पिएचडी मात्रै गरेको डाक्टर भनेर उहाँले के भन्न खोज्नुभएको हो? त्यो अन्तर्वार्ता मैले मात्र लिएको भए सोध्ने थिएँ, पिएचडीभन्दा माथिल्लो डिग्री के छ सचिवज्यू? भनेर। करार को कर्मचारी भनेर पटकपटक अपमानित गर्नुभएको छ, उहाँले चर्को स्वरमा।
सचिवज्यूलाई कसैले बताइदेओस्, मन्त्रालयमा बसेर जति पनि गाउँगाउँमा स्वास्थ्यकर्मी पुर्याइएको छ, डाक्टर पुर्याइएको छ, एसबिए नर्स पुर्याइएको छ भनेर धक्क छाती फुलाउँदै भाषण गरिन्छ, त्यसको ठूलो हिस्सा यिनै करारका कर्मचारीहरुले पुर्याइदिएका हुन्।
कोरोनाको अब नेपालमा पनि खतरा छ है भनेर चौतर्फी चर्चा/परिचर्चा हुन थालेपछि स्वास्थ्य मन्त्रालयले तत्कालै करारमा डाक्टर, नर्स र पारमेडिकहरु चाहियो भनेर विज्ञापन खोलेको हैन? संकटका बेला नेपाल सरकारका स्वास्थ्यकर्मी अपुग रहेछ भन्ने त थाहा रहेछ त। अनि महामारीको यो विषम घडीमा यी करारका जनशक्तिको अपमान गरेर सचिव जस्तो पदको गरिमा कम गर्ने काम निन्दनीय छ।
१०० प्रतिशत भत्ता दिएकै छ। स्वास्थ्य बिमा पनि गरिदिएकै छ। त्यो भन्दा बढी के गर्नुपर्यो भन्ने मानसिकता परिवर्तन गर्नैपर्छ हाकिम साबहरुले। भत्ताले मनोबल बढ्दैन। दुई/चार वटा प्रोत्साहनका शब्दले बढ्छ मनोबल। तपाईं एक्लै हुनुहुन्न, मन्त्रालय साथै छ भनेर अभिभावाकत्वको आभाष गराउनसके बढ्छ मनोबल।
करारका कर्मचारीलाई जतिबेला पनि निकाल्दिन सक्छौं भनेर धम्कीको भाषा प्रयोग गरेर आजका मितिमा कसैलाई काम लगाउन सकिन्छ भनेर कसैले पनि नसोच्दा हुन्छ। घरपरिवार नभनी फ्रन्टलाइनमा बसेर काम गरिरहेका डा पुन जस्ता व्यक्तिको अपमानले सम्पूर्ण स्वास्थ्यकर्मीको मनोबल, कामप्रतिको जोस/जाँगर सबै घटाइदिने काम गरेको छ।
स्वास्थ्यकर्मीसँगै सचिवज्यूको पनि अहिले अरु बेलाभन्दा खटाइ पक्कै पनि बढी छ। परिस्थितिले उहाँलाई ऐतिहासिक अवसर पनि दिएको छ। सम्पूर्ण स्वास्थ्यकर्मीको नेता बनेर कोरोनाको कहरलाई अन्त्य गर्ने मिसनको अभिभारा मिलेको छ।
त्यसकारण उहाँले त्यो अन्तर्वार्तामा आफूले बोलेको शब्द फिर्ता लिएर सबैलाई समेटेर अघि बढ्ने पहलकदमी लिनु जरुरी छ। पुन डाक्टरसाबले त यो विषयमा केही प्रतिक्रिया दिनु हुने छैन, किनभने उहाँलाई आफ्नो अस्पतालको कामले नै फुर्सद छैन, अन्त मन डुलाउन।