-सरोकार पराजुली
म
बिस्तारै सुस्त सुस्त
बुन्दै थिएँ, मेरा सपना
पोहोरको माघमा मेरो जाडो छोप्न
तिमीले बुनेको स्वेटरजस्तै।
रच्दै थिएँ इन्द्रेणीका सात रंगहरु
तर
हेर त यी अनिश्चितताका बादलहरु
प्रति दिन छुरा रोप्दै छन् सपनाहरुमा
आघात पुर्याउँदैछन् हाम्रा कल्पनाहरुमा
प्रिय,
म दिनभर इट्टा बोक्दै
बालुवा बोक्दै तिम्रै लागि
हाम्री छोरीको लागि
तिम्रो गर्भमा रहेको सन्तानको लागि
बगाउँदै थिएँ पसिना
किनिदिनेथेँ मखमलको सारी तिमीलाई
छोरीलाई फुटबुट्टे जामा
तर
हेर न
यो अदृश्य शत्रुले
मलाई कसरी जोर जोरसँग
उचाली उचाली पछार्दै छ भुइँमा
आकाश मडारिरहेको देखेकी छौ?
त्यसरी नै मेरो भोको पेट मडारिन थालेको छ ।
अहिले
कोरोनाको भन्दा डर
आफ्नै पेटसँग छ
कोरोना त लकडाउनले रोकिएला
उपचारले थामिएला
तर भोको पेट?
कोरोनाले त म एकचोटी मर्छु
भोकमरीले म बारबार
हजार बार
प्रत्येक साँझ मर्नेछु प्रिय!
त्यसैले,
म आउँदै छु
पैदल आउँदै छु
रहरहरुलाई कुल्चदै
चाहनाहरुलाई निचोर्दै
जसरी सपनाहरु फुटे,
त्यसैगरी मेरा पाइताला नफुटेसम्म
जसरी आशाहरु छिनभरमै सुके
त्यसैगरी मेरो शरीरमा रगत नसुकेसम्म
थाकेर फतक्क नगलुन्जेलसम्म
म आउँदैछु
यो चुनाब भइदिएको भए
सयौ गाडीहरु मलाई लिन आउँथे
टिसर्ट र शिर छोप्ने टोपी बाढ्ने थिए
मासुभात को भोज लगाएर खुवाउने थिए
अहिले त म
हप्तादिन देखि एकसरो कपडा लगाएर
हाम्रा सपना साचेको बाकस बोकेर हिडेको छु।
यो वैशाखको गर्मीमा
के म बाटैमा मरे भने?
मेरो पाइतालाले उनीहरुलाई श्राप नदेला प्रिय?
म जस्ता हजारौँ मजदुरको रोदनले
उनीहरुलाई ऐठन नआउला?
के यो समाचार त्यहाँ पुग्ला?
के उनीहरु को मन थररर काम्ला त प्रिय?
कुनैबेला म हिड्दा हिड्दै गले भने
सास रोक्किए भने
म भेटिइन भने
खुट्टाका रगत लत्पताउँदै हिडेका यी
मेरा पैतालाका डोबहरु पछयाउनु।
त्यतै हुनेछन्,
हाम्रा पोखिएका सपनाहरु