डा मिलन अधिकारी
अहिले विश्व कोभिड-१९ माहामारीको चपेटामा छ। सबैभन्दा सुदृढ स्वास्थ्य व्यवस्था भएका भनेर कहलिएका अमेरिका र युरोपेली राष्ट्रहरु अहिले यो रोगबाट नराम्ररी थला परेका छन्। विस्तारै एसिया महाद्वीपमा पनि यो संक्रमण फैलिँदो अवस्थामा छ।
जुन रुपमा खुला सिमाना भएको भारतमा यो संक्रमण बढिरहेको छ, नेपालमा यसको असर कस्तो हुन्छ भनेर अहिले नै भनिहाल्न सक्ने अवस्था छैन। विश्वका विभिन्न देशका वैज्ञानिकहरु यस रोगको खोप र औषधि पत्ता लगाउन दिनरात प्रयास गरिरहे पनि अहिलेसम्म ती सबै अनुसन्धानबाट ठोस उपलब्धि हुन नसकेको अहिलेको यथार्थ हो।
अर्को यथार्थ के हो भने संसारकै अत्यन्त सुदृढ अर्थव्यवस्था र स्वास्थ्य प्रणाली भएका देशहरु पनि महामारीको प्रकोप सामना गर्नसक्ने अवस्थाका रहेनछन्। आइसियु र भेन्टिलेटरको अभाव त परको कुरा। स्वास्थ्यकर्मीले प्रयोग गर्नपर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई)को चरम अभाव जताततै देखियो, जसले गर्दा आफ्नो कामको दौरान धेरै स्वास्थ्यकर्मी यो रोगको सिकार हुनुपर्यो्। कतिले त ज्यान पनि गुमाउनु पर्योे।
विश्वका धेरै देशहरु कोरोना भाइरससँग लडिरहेको अवस्थामा नेपालमा पनि दिन प्रतिदिन संक्रमितको सङ्ख्यामा वृद्धि भइरहेको छ। सरकारले टेस्टको दायरा बढाएसँगै संक्रमितको सङ्ख्या बढिरहेको हो। कोभिड–१९ संक्रमितको संख्या बढेसँगै नेपाली जनमानसमा त्रास बढेको छ। उदयपुरमा एकै ठाउँमा २५ बढी संक्रमित फेला परेपछि त कोभिड संक्रमण समुदाय स्तरमा फैलिसकेको विश्लेषण पनि हुन थालेको छ। यद्ध्यपि यसको सरकारी निकायबाट पुष्टि हुन बाँकी नै छ। रोगको पहिचान हुनु संक्रमितको उपचारको लागि त अत्यन्त आवश्यक भइहाल्यो। साथै उक्त संक्रमितबाट अरुमा नफैलियोस् भन्नका लागि पनि यो रोगको निदान हुनु एकदमै राम्रो पक्ष हो। सरकारले परीक्षणको दायरा अझै बढाउँदै जाओस् र छन् भने संक्रमितहरु बढीभन्दा बढी पत्ता लगाउन सकियोस्।
सारा विश्व अर्थतन्त्रलाई नै केही महिनामै धरासायी पारेको यो रोगले हाम्रो देशमा पनि आफ्नो असर देखाएकै छ। देश लकडाउनको अफ्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको अवस्थामा, विपन्न तथा दैनिक ज्यालादारी मजदूरी गर्ने वर्ग नराम्री थालिएको छ। दिनभर कमाइ गरेर साँझको गुजारा गर्नुपर्ने ठूलो समुदाय परिवार कसरी पाल्ने चिन्तामा छन्। सिमानापारि थुनिएका नेपाली हुन् वा सयौं किलोमिटर पैदल हिँडेर आफ्नो घर फर्किन तम्सिएका सिमानावारिकै नेपाली हुन्, यी मजदूर सबैको कथा ब्यथा एकै छ।
कोभिडको महामारीबाट धेरैजसो राष्ट्र अहिले आक्रान्त बनिसकेको अवस्थामा हाम्रो देशमा अहिलेसम्म यसले महामारीको रुप लिएको अवस्था छैन। संक्रमितहरु पनि सामान्य स्वास्थ्यमा रहनु र विस्तारै निको भएर फर्कनेको सङ्ख्या पनि बढ्दै जानु पक्कै पनि सुखद पक्ष हो। यसो भनिरहँदा हामीले बिर्सनै नहुने कुरा के पनि हो भने यदि संक्रमितको सङ्ख्या ह्वात्तै बढ्दै गयो अनि उनीहरुमा कडा खालका लक्षण देखियो भने हाम्रो वर्तमान स्वास्थ्य प्रणालीले त्यो चाप थेग्न साँच्चै नै गाह्रो हुनेछ।
यही डरत्रास सहित आममानिस अहिले लकडाउनमा घरभित्रै बसिरहेको पनि एक महिना नाघिसकेको छ। लकडाउनका बीच कष्टकर जीवनयापन गरिरहँदा कोरोना कहरका केही सकारात्मक पाटो पनि छन्।
सबैभन्दा सकारात्मक पक्ष भनेको आम रुपमा स्वास्थ्यकर्मीप्रति पछिल्ला समयमा जुन गलत सन्देश फैलिँदै गएको थियो, त्यो केही हदसम्म परिवर्तन हुनु हो। आफ्ना पेसागत मूल्यमान्यता र धर्मलाई आत्मसात गर्दै जुन भूमिकामा स्वास्थ्यकर्मी देखिएका छन्, त्यसलाई पक्कै पनि पछिल्लो समय स्वास्थ्यकर्मी र आमजनमानसमा देखिएको विश्वासको खाडल पुर्नसक्ने कसीको रुपमा लिन सकिन्छ। कोरोना कहरका दौरान आफू संक्रमणको जोखिममा रहँदारहँदै अहोरात्र खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका पक्षमा राष्ट्रिय स्तरका सञ्चार मध्यमहरुले पनि राम्रै स्थान दिएर सकारात्मक सन्देश प्रवाह गर्न मद्दत गरे यो बीचमा।
सरकारी स्वास्थ्य संस्थाप्रति धेरै मानिसमा वितृष्णा रहेको अवस्था थियो। कतिपय निजी अस्पतालले ज्वरोका बिरामीलाई हेर्न नमानेर सरकारी अस्पतालमा लैजान परेका घटनाले सरकारी अस्पतालप्रतिको धारणा आममानिसमा थोरै भए पनि परिवर्तन गरेको देखियो। यो विषम परिस्थितिमा अन्त नपाए पनि सरकारी अस्पतालमा उपचार पाइन्छ भन्ने विश्वास जनमानसमा परेको छ। यहि विश्वास कोरोनापछिको अवस्थामा पनि सरकारी अस्पतालहरुले टिकाइराख्न सके निजी अस्पतालप्रतिको जनताको मोह स्वत: कम हुनुका साथै सरकारी अस्पतालहरुको स्तरवृद्धिमा पनि मद्दत पुग्ने छ।
अर्को सकारात्मक परिवर्तन भनेको मानिसमा हात सही तरिकाले धुने बानीको विकास हुनु हो। हेर्दा सामान्य लाग्ने यो कुरा संक्रमण रोक्न एकदमै महत्वपूर्ण छ। केही वर्ष पहिले स्वास्थ्यकर्मीलाई नवजात शिशुको स्याहार सम्बन्धी तलिम सञ्चालन गर्दा म आफैंले आधा दिन सही तरिकाले हात धुने विषयमा कक्षा लिएको थिएँ। सही तरिकाले हात धुनेबारे धेरै पहिलेदेखि नै वकालत हुँदै आएको भए पनि आममानिसले व्यवहारमा अपनाएको यही कोरोनाको डरले नै हो। कोरोनाका डरले हात धुन सिकेका नेपालीले यो बानी सधैं अपनाइरहे अन्य थुप्रै संक्रमणबाट पनि बाँच्न सक्नेछन्, कालन्तरसम्म।
कोरोना कहरको अर्को सकारात्मक पाटो भनेको जनमानस र साथै नीतिनियम बनाउने तहसम्म “जनस्वास्थ्य”को महत्व बोध गराउनु पनि हो। सैद्धान्तिक रुपमा सबै पहिलेदेखि नै जानकार हो। तर व्यावहारिक रुपमा यसको बोध भएको, हाम्रो जमानामा सायद अहिले नै हो। जाजरकोटमा झाडापखालाको प्रकोपको बेला होस् वा धादिङमा ठेउलाको प्रकोपका बेला। जनस्वास्थ्यको महत्वकोबारे हामीले क्षणभरको लागि वकालत गरियो। तर दीर्घकालीन रुपमा सोच पक्कै बनाएनौं। प्रत्येक वर्ष पास भएर निस्केका कम्युनिटी मेडिसिनका डाक्टरहरुलाई हाम्रो स्वास्थ्य प्रणालीले पहिचान गरेकै छैन आजका दिनसम्म। करारका कर्मचारी थपेर मात्रै यस्ता महमारीलाई जित्न गाह्रो हुन्छ। सरकारी सेवामा नै यस्ता परिस्कृत विशिष्ट जनशक्तिलाई राख्न सके आउँदा दिनमा यस्ता आकस्मिक अवस्थामा पक्कै पनि कारारमा खोज्दै हिंड्नु पर्दैन।
हाम्रो जस्तो अल्पविकसित मुलुकले कोरोनको महामारी खप्नु र त्यसको अवस्थाको आकलन गर्नु आजका दिनमा कल्पनाभन्दा बाहिरकै कुरा हो। त्यसकारण कोरोनाबाट हुने क्षतिबाट बच्ने एक मात्र उपाय भनेको यो रोग लाग्ने नदिनु वा फैलिन नदिनु हो। जनस्वास्थको आधारभूत सिद्धान्तले पनि यही भन्छ। यो मानेमा अहिले सरकारबाट रोग नियन्त्रणका लागि चालिएका कदमहरु नपुग छन् तर सही छन्।
देश संघीयतामा गइसकेको र देशमा तीन तहका सरकार भएको अवस्थाले पनि यो रोग लाग्न नदिन वा फैलिन नदिन स्थानीय स्तरदेखि केन्द्रसम्मै समन्वयात्मक भूमिका खेल्नुपर्छ। जोखिममा रहेका बढीभन्दा मानिसलाई क्वारेन्टाइनमा अनुशासित तवरले राखेर, परीक्षणको दायरा फराकिलो बनाउँदै, संक्रमित देखिएकालाई तुरुन्त गाइडलाइन अनुसार आइसोलेसनमा राखेर उपचार गर्नु नै यो रोगलाई फैलिनबाट रोक्ने एक मात्र अस्त्र हो, कम्तीमा आजका दिनसम्म।
आगामी दिनहरुमा यो महामारीको अवस्था कस्तो हुन्छ भनेर आजको दिनमा भन्न सक्ने अवस्था छैन। खोप विकास होला वा कुनै अचुक औषधि आविष्कार होला चाँडै नै भन्ने कामना गर्दै आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न भूमिका खेल्नु नै आमनागरिकको कर्तव्य पनि हो।
२०७२ सालको भूकम्पले जतिलाई असर गर्यो , त्यतिमा मात्रै त्यो महविपत्तिको अवशेष बाँकी होला केही। नत्र आममनिसले धरहराको ठुटो र भत्केको रानीपोखरी आफ्नै आँखा अगाडि दैनिक देखे पनि भूकम्पको कहर धेरै पहिले नै बिर्सिसकेको कटु यथार्थ हो। यो कोरोना महामारीले कसैलाई बाँकी राख्दैन भन्ने अहिले सबले बुझेका छन्। के धनी, के गरिब सबलाई यो हाम्रो ढोकामा जति बेला पनि आउन सक्छ भन्ने परेका कारण आफ्नो र परिवारका खातिर मानिस कालान्तरसम्म सचेत रहनेछन् भनी आशा पक्कै पनि गर्न सकिन्छ।