- डा सन्दिप साह
मुनालको हृदयस्पर्शी गुनगुनाहट रहेछ साह्रै सुरिलो,
सुनौलो सुर्यमुखीको सुन्दरता नियाल्न बर्षौ बितिगयो।
रातो गुलाफको मिठो सुगन्ध कति मनमोहक,
रंगीचंगी पुतलीहरूको उडान कति रोमान्चक।।
चिसो पवनको चालले हरियो पहाड रमाउँदा,
रुखको पात खस्दाको ध्वनि संगीतमा हराँउदा।
गगनमा श्वेत बादलले बनाएको विशाल महल,
रवीको तेजस्वी शक्तिले धर्ती भयो प्रफुल्ल।।
अहंकार तिम्रो कहाँनेर, खोज्दैछन् प्रकृतिले,
जीवन तिम्रो अन्त्यतिर, डोर्याउदैछ्न ईश्वरले।
लान्छना लागीरहेछ पुरै मानव सभ्यता माथी,
महामारीको जालोमा तल्लीन भयो हाम्रो पृथ्वी।
चारैतिर डर-त्रासमा जिउँदैछ्न यहाँ अज्ञानी मानिस,
अदृश्य अदभूत शक्तिले आज आधुनिकता भयो पराजित।
प्रतिस्पर्धामा सृजित गर्यौ कयौँ आणविक हातहतियार,
हुदैनन् रहेछ ज्ञाता कोही जानेर विज्ञानका केही आधार।।
अधुरो रहेछ औषधि हाम्रो, ज्वरो-रुघाखोकीमा पनि,
स्विकार्नु पर्छ सहर्सै, ईश्वरीय सन्देश महामारीमा पनि।
प्राचीनतामा रमाउँदै अब प्रकृतिलाई श्रृङ्गारनुपर्दछ
भुल सुधार्न पनि केही पल घरमै अन्तरध्यान गर्नुपर्छ ।।
शीतलता होस सदा पुर्णिामाको जूनको जस्तो,
अनगिन्ती ताराहरू माझमा छ धुर्व चम्किलो।
प्रकृतिको यिनै रीतिरिवाजहरू रहेछ हाम्रो मर्यादा,
देहावसान हुने रहर छैन भने बसौं हामी एकान्तमा ।।