-बबिता अधिकारी
मलाई एउटा असल नर्स बन्न मन लाग्छ,
शय्यामा बिरामी छटपटाई रहेको देख्दा।
न आत्तिनुहोस न है
म आइहाले भन्न मन लाग्छ।।
साना साना नानीहरु
सेता लुगा देखेर रुँदै आमालाई च्याप्दा।
तिम्रै निम्ति सेता लुगा लगाएकी हुँ
भन्न मन लाग्छ।।
सलाइनका बोतलबाट
तप्प तप्प थोपा चुहिँरहदा।
घडी हेरी मुस्कुराउदै
त्यही थोपा गन्न मन लाग्छ।।
प्रसवको व्यथामा आमाहरु
पीडाले चिच्चाइरहेको देख्दा।
मिल्ने भए आफ्नै बल
निकालेर दिऊ दिऊ लाग्छ।।
बृद्ध वार्डमा बुढी आमा
अत्तालिरहेको देख्दा।
समिप मै पुगेर न्यानो स्पर्श
दिइरहुँ जस्तो लाग्छ।।
जीवनको अन्तिम पलमा
बिरामी आफूलाई हेरिरहदा।
मिल्ने भए आफ्नै जीवन
दान दिन्थे जस्तो लाग्छ।।अस्पतालमा कुरुवाहरु
छाती पिटेर रोइरहेको देख्दा।
यि हातले ति आँशु
सपक्क पुछिदिऊ लाग्छ।।
शरीर भरि चोट लागेको
घाइते बिरामीहरु देख्दा।
ती गहिरा घाउहरुमा
शितल मलहम लगाइदिऊ लाग्छ।।
थाह छ मलाई आयु
त्यति लामो छैन उहाँको।
त्यहि पनि ढुक्क हुनुहोस्
बाच्नु हुन्छ है भन्न मन लाग्छ।।
राती राती रसाएका ती आँखाले
नर्सिङ स्टेशन तिर हेर्दा।
छेउमै गई कहाँ दुख्यो
सोध्न मन लाग्छ।।
बिरामी आमा देखी
छोरीहरु झम्टिएर रोएको देख्दा।
हजारौं आमाको सेवा गर्ने मलाई पनि
छोरी ठान्नुहोस् भन्न मन लाग्छ।।
रातको लामो डिउटी अनि
शिथिल यो शरीर।
निद्रा थकान सबै भुली
बिरामी कै सेवा गर्न मन लाग्छ।।
थकाई लाग्यो सिस्टर भन्दै
सोधी राख्छन् कुरुवाहरु
मुस्कुराउदै एकदम ठिक छु।
भन्न मन लाग्छ,
ए हजूर, मलाई एउटा असल नर्स
बन्न मन लाग्छ।।