प्राडा अरुण सेढाईं
विश्वभरि महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को परीक्षणमा हाम्रो देशभित्र हालसम्म ९९ जनामा पोजिटिभ देखिएको छ। प्रायःजसो सबै जना संक्रमितमा कोभिडका जटिल लक्षणहरु देखिएका छैनन् र खुसीको कुरा, यो रोगका कारण हालसम्म कसैको पनि मृत्यु भएको छैन।
चन्ताको विषय चाहिँ के छ भने एक पटक निको भइसकेको भनेर अस्पतालबाट घर पठाइएका केही संक्रमित व्यक्तिहरु (हालसम्म ३ जना) मा गरिएको पुनः परीक्षणमा 'पोजिटिभ' नतिजा आएको देखिएको छ। यसले जनसाधारण र सम्बन्धित स्वास्थ्यकर्मीहरुमा एक खालको त्रास र आशंका उब्जनु स्वभाविक नै हो। यसको बारेमा हालसम्म उपलब्ध स्रोत, साधन र अध्ययनहरुको आधारमा यस आलेखको माध्यमबाट प्रष्ट पार्ने जमर्को गरिएको छ।
कोभिडको ल्याब परीक्षण कसरी गरिन्छ?
कोभिड-१९ पहिचानको लागि दुई प्रकारका परीक्षण पद्दतिहरु उपलब्ध रहेका छन्। यिनीहरुमध्ये पहिलो खालको 'आरटी पिसिआर' भनिने जाँचमा कोरोना भाइरसको उपस्थितिको प्रत्यक्ष जानकारी पाउन सकिन्छ। यो जाँचमा कोरोना भाइरसको मूल वंशाणु तत्व अर्थात् यसको 'आरएनए' को चरित्रको अध्ययन गरिन्छ। यस खालको परीक्षण को 'सेन्सिटिभिटी' ७० प्रतिशत जति मात्र रहन्छ। भन्नुको मतलब कोरोनाको संक्रमण हुँदाहुँदै पनि परीक्षण गरिएका सय जनामध्ये तीस जना व्यक्तिमा 'नेगेटिभ' नतिजा आउन सक्ने सम्भावना रहन्छ।
दोस्रो खालको 'आरडिटी' भनिने जाँचमा भाइरस विरुद्ध हाम्रो शरीरमा उत्पन्न हुने एन्टिबडीको पहिचान गरेर रोगको अप्रत्यक्ष पहिचान गरिन्छ। विश्व स्वास्थ्य संगठनले यस पद्दतिको विश्वसनीयता प्रमाणीकरण प्रक्रिया टुंगोमा नपुग्दासम्म भरोसा गर्न नसकिने तर अनुसन्धानका लागि प्रयोग गर्न सकिने भनी उल्लेख गरेको छ।
कस्तो व्यक्तिलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ?
सबैभन्दा पहिले क्वारेन्टाइन र आइसोलेसनको परिभाषा बुझ्नु जरुरी देखिन्छ। अमेरिकाको रोग नियन्त्रण केन्द्र (सिडिसी) का अनुसार क्वारेन्टाइन भनेको कोभिड-१९ को संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएको तर कुनै शारीरिक लक्षणहरु देखा नपरेको व्यक्तिलाई अरु स्वस्थ व्यक्तिहरुको सम्पर्कमा जान नसक्ने गरी छुट्टाएर राखिने पद्दति हो।
आइसोलेसन भनेको रोगी व्यक्तिलाई स्वस्थ व्यक्तिहरुबाट छुट्टाएर राखिने प्रक्रिया हो। रोग पहिचान गरिएका सबै बिरामीलाई अस्पतालमै भर्ना गरिराख्नु पर्ने जरुरी हुँदैन र यस्ता व्यक्तिहरु स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहँदै आफ्नै घरमा यथोचित व्यवस्था मिलाएर छुट्टै बस्न सक्छन् जसलाई सेल्फ आइसोलेसन भनिन्छ। यसरी बस्दा रोगका खतरनाक र गम्भीर लक्षणहरु देखा परेमा मात्र तुरुन्त अस्पतालमा भर्ना गर्नुपर्ने हुन्छ।
हाम्रो देशमा हालसम्म सीमित संख्यामा मात्र यो रोगका बिरामीहरु देखा परेका र उनीहरु र समाजमा मनोवैज्ञानिक असर देखा पर्नसक्ने भएको कारणले कोरोना पोजिटिभ भएका तर गम्भीर अवस्था नभएका व्यक्तिहरुलाई समेत अस्पतालमा भर्ना गरी आइसोलेसनमा राख्ने गरिएको पाइन्छ, तर कथंकदाचित संक्रमणको दर बढ्न गई बिरामीहरुको संख्यामा अस्वभाविक वृध्दि हुन गएको खण्डमा यो प्रक्रिया जारी राख्न असम्भव हुनेछ। त्यस्तो अवस्था आएको खण्डमा कस्तो बिरामीलाई सेल्फ आइसोलेसनमा राख्ने र कस्तो बिरामीलाई अस्पतालमा भर्ना गर्ने भन्ने बारेमा पनि समयमै ध्यान पुर्यामउनुपर्ने हुन्छ।
हुनत हालसम्म कस्तो बिरामीलाई अस्पतालमा भर्ना गर्ने भन्ने बारेमा सबैको मतैक्य हुन सकेको पाइँदैन र आ-आफ्नो देश र परिवेशमा उपलब्ध स्वास्थ्य सेवाको पर्याप्तता र सामाजिक र आर्थिक संरचनाहरुको आधारमा निर्देशक सिध्दान्तहरुको प्रतिपादन गरेर लागू गराइरहिएको पाइन्छ। सिडिसीको निर्देशिका अनुसार सामान्य स्वास्थ्य समस्याहरु नभएका व्यक्तिहरु (जसमा फोक्सोको निमोनिया भएको छैन र रगतमा अक्सिजनको मात्रा घटेको छैन) लाई अस्पतालमा भर्ना गरिराख्नु पर्ने जरुरी हुँदैन र उनीहरुलाई घरमा नै उपचार गर्न सकिन्छ। तर फेरि भर्ना गरेर गर्ने कि ओपिडीको रुपमा उपचार गर्ने भन्ने कुराको निर्क्योल चाहिँ व्यक्तिपिच्छे फरक पर्न सक्नेतर्फ समेत उसले सचेत गराएको छ।
कस्तो बिरामीलाई डिस्चार्ज गरेर घर पठाउन सकिन्छ?
भर्ना भएका बिरामीलाई अस्पतालबाट डिस्चार्ज गर्नका लागि लक्षणमा आधारित र परीक्षणमा आधारित रणनीतिको अवलम्बन गर्नका लागि सुझाइएको छ। लक्षणमा आधारित रणनीति अनुसार औषधिको प्रयोग विना नै ७२ घण्टा भन्दा लामो समयदेखि ज्वरो आएको छैन र श्वासप्रश्वासमा भएको समस्यामा सुधार भएको छ वा पहिलो लक्षण देखिएको १० दिन बितिसकेको छ भने बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ। परीक्षणमा आधारित रणनीति अनुसार चाहिँ ज्वरो कम गर्ने औषधिको सेवन बिना नै ज्वरो नआएको र श्वासप्रश्वासमा भएको समस्यामा सुधार भएको र कमसेकम २४ घण्टाको फरकमा गरिएका दुई वटा पिसिआर परीक्षण नेगेटिभ भएको हुनुपर्ने भनी सुझाइएको छ। यी मार्गनिर्देशनहरु चीनको रोग नियन्त्रण केन्द्रले यसअघि नै दिएका सुझावहरुसँग मिल्दोजुल्दो रहेको पाइन्छ।
के कोभिडको पुनः संक्रमण (रिइन्फेक्सन) हुन सक्छ?
संसारका विभिन्न मुलुकमा एक पटक निको भइसकेको घोषणा गरिसकेपछि समेत कोभिडको संक्रमण दोहोरिएका घटनाहरु सार्वजनिक भइरहेका छन्।
“जर्नल अफ अमेरिकन मेडिकल एसोसियसन” को अप्रिल २१ को अंकमा चीनका अस्पतालहरुबाट एकपटक रोग लागेर अस्पतालमा भर्ना भएका तर रोग निको भएको घोषणा गरी डिस्चार्ज भइसकेका चार जना बिरामीमा यसको पुनः संक्रमण (रिइन्फेक्सन) को बारेमा एक रिपोर्ट प्रकाशित भएको छ। ती बिरामीहरुलाई अस्पतालबाट डिस्चार्ज भएको ५ दिनसम्म क्वारेन्टाइनका नियमहरु पालना गर्न भनिएको थियो र डिस्चार्ज भएको पाचौँ दिनमा पहिलो, तेह्रौं दिनमा दोश्रो र अठारौँ दिनमा पिसिआर परीक्षण गरिएको थियो र सबै टेस्टहरु नै पोजिटिभ भेटिएका थिए। यस्तै रिपोर्टहरु दक्षिण कोरियाका २६० जना बिरामीमा भेटिएको दाबी गरिएको छ।
यसरी निको भएको घोषणा गरिसकिएका बिरामीहरुमा दोहोर्यापइ–तेहेर्यातइ गरिएका परीक्षणहरु पोजिटिभ आउनुमा विभिन्न विरोधाभाषपूर्ण धारणाहरु सार्वजनिक भएका छन्। एकथरी विशेषज्ञहरु “केही निको भइसकेका व्यक्तिहरुमा जिवाणुका केही अवशेषहरु बाँकी नै रहन्छन् र उनीहरुले अरु स्वस्थ व्यक्तिहरुमा यो रोग सार्न सक्छन्; त्यसकारण अहिले प्रचलित डिस्चार्ज गर्ने र क्वारेन्टाइन छुटाउने वा फुक्का गर्ने पद्दतिमा परिवर्तन गर्नुपर्छ” भन्ने धारणा राख्छन्।
यसको विपरीत अर्काथरी वैज्ञानिकहरुको राय भने अलि फरक खालको रहेको पाइन्छ। अमेरिकाको युनिभर्सिटी अफ फ्लोरिडा, कलेज अफ मेडिसिनका प्रोफेसर एमेरिटस डा रिचर्ड कोन्डिटका अनुसार पिसिआरले सिधै भाइरसको परीक्षण नगरी यसको जेनेटिक भाग मात्र पत्ता लगाउने गर्छ। त्यसकारण कोभिड रोगबाट मुक्त भइसकेका व्यक्तिहरुले समेत कोरोना भाइरसले पहिलेदेखि नै फालिरहेका निष्क्रिय कोषहरु, जसलाई उनीहरु “भाइरल फोहोर” भन्न रुचाउँछन्, आदि मात्र फेला परेको हुन सक्छ। त्यसकारण एकपटक निको भइसकेका बिरामीहरुमा दोहोर्याभएर गरेको पिसिआर पोजिटिभ आए तापनि त्यसले कुनै क्लिनिकल महत्व नराख्ने र उनीहरुले अरु व्यक्तिमा रोग सार्ने खतरा नरहेको धारणा राख्छन्।
व्यक्तिगत रुपमा मात्र हैन, यस्तै विरोधाभाषपूर्ण धारणा अमेरिकन सिडिसी र विश्व स्वास्थ्य संगठनबाट जारी भएका रिपोर्टहरुमा भेट्न सकिन्छ। सिडिसीका अनुसार कोभिड-१९ का बिरामीहरुले एक पटक निको भइसकेको केही दिन र हप्तासम्म पनि भाइरल आरएनए फालिरहन सक्छ र पिसिआर पोजिटिव भइरहन सक्छ। तर यस्ता बिरामीहरुले अरु व्यक्तिहरुमा रोग सार्न सक्ने सम्भावना र तथ्यांक आजको मितिसम्म भेटिएको छैन। बिरामीको लाक्षणिक अवस्थामा हुने सुधार उनीहरुमा देखिने आइएमजी र आइजिजी जस्ता एन्टिबडीको पहिचानसँग मेल खान्छ र यसले रोगप्रतिरोधी क्षमता दर्शाउँछ।
अर्कोतर्फ विश्व स्वास्थ्य संगठनको राय ठ्याक्कै उल्टो रहेको पाइन्छ। अप्रिल २५ मा उसले जारी गरेको रिपोर्ट अनुसार केही सरकारहरुले कोरोना भाइरसका विरुध्द शरीरमा उत्पन्न हुने रोग प्रतिरोधी एन्टिबडी देखिएकै आधारमा ‘खतरामुक्त प्रमाणपत्र’ जारी गरेकोझैँ खुला छोडिदिँदा जनमानसमा यात्रा गर्न र काममा फर्कन प्रेरित गर्न सक्छ। आजका मितिसम्म कोभिड-१९ रोग लागेर निको हुँदैमा र एन्टिबडी देखिँदैमा अर्को संक्रमणबाट बचाउ गर्न सक्दैन भन्ने राय सार्वजनिक भएको छ।
र अन्त्यमा,
कोभिड-१९ आफैँमा हामी सबैका लागि नौलो रोग हो र यसका बारेमा यथेष्ट वैज्ञानिक अध्ययनहरु हुन सकेका छैनन् र भविष्यमा ठोस प्रमाण र अनुसन्धानहरुका रिपोर्ट नआउँदासम्म यसै हुन्छ बनेर ठोकुवा गर्न सकिने अवस्था छैन। त्यसकारण स्वास्थ्यकर्मीहरुले एकपटक रोग लागेको प्रमाणित भएर स्वास्थ्य संस्थाहरुमा भर्ना भइसकेका बिरामीहरुलाई नेगेटिभ पिसिआर रिपोर्टकै आधारमा डिस्चार्ज गर्न वा आइसोलेसनबाट निकाल्न हतार गर्नुहुँदैन र यस्ता बिरामीहरुले समेत लामै समयसम्म व्यक्तिगत सावधानी अपनाउनुपर्ने र सामाजिक पृथकीकरणका सिध्दान्तहरुलाई व्यवहारमा कायमै राख्नुपर्ने देखिन्छ।