नरेन्द्रराज पन्त
विश्व इतिहासमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को महामारी पछिल्लो पटक देखापरेको होइन। यसभन्दा पहिले सार्स, मार्स जस्ता विषाणुजन्य प्रकोपहरु देखापर्नुका साथै तिनले हजारौ मान्छेको ज्यान समेत लिएका घटना ताजै छन्।
हाल चीनको वुहान सहरबाट उत्पत्ति भई समग्र युरोप, अमेरिका लगायत एसियाली मुलुकहरुमा महामारीको रुपमा देखापरेको कोभिड-१९ ले विश्वलाई नै आफ्नो चपेटामा लिनुका साथै लाखौंको ज्यान समेत लिइसकेको विषय जगजाहेर नै छ।
कोभिड-१९ ले नेपालमा समेत प्रभाव पारेको छ। तथापि अन्य देशको तुलनामा नेपालमा यसको प्रभाव न्यून रहेको छ, जुन हाम्रा लागि सुखद विषय हो।
महामारीको कुनै सीमा हुँदैन। न त यसले धनी, गरिब, जात, धर्म, महिला, पुरुष आदिलाई विभेद नै गर्छ। यस्ता प्राणघातक प्रकोपहरुले भेदभाव गर्छन् त केवल तिनलाई जसले रोगको विरुद्ध सतर्कता तथा सजगता अपनाएको छ।
कोभिड-१९ का विरुद्ध खोपको विकास भइनसकेको वर्तमान अवस्थाबारे विभिन्न सञ्चार माध्यमहरुबाट निरन्तर प्रसारण र प्रकाशन भइरहेको सन्दर्भमा यसबाट सुरक्षित रहने एक मात्र उपाय सर्वप्रथम आफू सुरक्षित रहनु हो। आफू सुरक्षित रहनका लागि विश्व स्वास्थ्य संगठनद्वारा तोकिएको मापदन्डको अधिनमा रही सरकारका तर्फबाट जारी बन्दाबन्दीको पूर्ण रुपले पालना गर्नु र रोगका सम्भावित लक्षण देखिएमा तोकिएका स्वास्थ्य सस्थाहरुमा सम्पर्क गरी परीक्षण गराउनुका साथै स्वास्थ्यकर्मीको निर्देशन एवं सल्लाह पालना गर्नु नै हो।
नेपालमा चिकित्सक, स्वास्थ्यकर्मी, जनस्वास्थ्यविज्ञ, पारामेडिक्स एकीकृत भएर यस महामारीविरुद्ध लडाईंको अग्रमोर्चामा रही कार्यरत छन्। साथै सुरक्षाकर्मीहरु गाउँघर र सहरका गल्लीका अतिरिक्त अन्तर्राष्ट्रिय सिमानामा खटिई सीमावारि-पारिबाट कुनै पनि शक्तिको अनाधिकृत आवतजावत नहोस् भनी रातदिन निगरानी गरिरहेका छन्।
कोभिड-१९ का विरुद्ध जीउ-ज्यानको वास्ता नगरी निरन्तर कार्यरत राष्ट्रसेवकहरुको मनोबल उच्च राख्नु हामी सबैको दायित्व हो। अझ सरकारका तर्फबाट प्रदान गरिने सेवा, सुविधा लगायत नैतिक बल दिने जस्ता विषयमा कत्ति पनि कन्ज्युस्याइँ गरिनु हुँदैन।
सरकारद्वार निर्णय भई लागू गरिएअनुसार कोभिड-१९ को संक्रमणबाट सुरक्षित रहन २०७६ चैत्त ११ गतेदेखि चालू रहेको बन्दाबन्दीले हालका मितिसम्म निरन्तरता पाएको छ। बन्दाबन्दीले रोगको संक्रमण हुनबाट निश्चय नै प्रभावकारी भूमिका खेलेको छ। हालसम्म संक्रमणलाई फैलिन नदिई निश्चित दायराभित्र सीमित गर्नु उपलब्धिको रुपमा लिनुपर्छ। तथापि बन्दाबन्दीसँगै परीक्षणको दायरालाई फराकिलो तुल्याई सम्पर्क परीक्षण र सम्भावितको पहिचान गर्ने कार्य प्रभावकारी रुपमा हुनसकेको पाइँदैन।
यसर्थ बन्दाबन्दीको अवधिमा उल्लेखित कार्यहरुलाई प्राथमिकताका आधारमा सञ्चालन गर्नु उपयुक्त हुन्छ। बन्दाबन्दी समेत हाम्रो भूगोल, भू-वनोट र संक्रमणको प्रकृतिको आधारमा गरिनु बान्छनीय हुन्छ। अन्यथा यसले भोलिका दिनमा पार्नसक्ने सामाजिक एवं आर्थिक सूचकांकहरु समस्यामूलक हुन सक्छन्।
कोभिड-१९ को कारणले सुरु भएको बन्दाबन्दीसँगै छिमेकी देश भारतबाट दुई देशबीचका विभिन्न नाका हुँदै भित्रिएका नेपालीको समूहले त्यस बखत समग्र क्षेत्रमै त्रासको वातावरण सिर्जना भएको थियो। तर नेपाल सरकार, प्रान्तीय सरकारहरु र स्थानीय सरकारहरुको एकीकृत प्रयासका साथै स्वास्थ्यकर्मीहरुको सुझ-बुझ र लगनशीलताका कारण समस्यालाई समयमै नियन्त्रणमा लिन सम्भव भएको छ।
अबका दिनमा गरिनुपर्ने महत्वपूर्ण कार्य भनेको सिमानमा लुकिछिपी हुनसक्ने आवत-जावत नियन्त्रण र परीक्षणको दायरालाई अझ व्यापक बनाई कार्यक्रमलाई प्रभावकारी रुपले कार्यान्वनमा लैजानु हो।
अन्त्यमा, कोभिड-१९ विषाणुजन्य रोग हो। यसका विरुद्ध खोपको विकास हालसम्म भइसकेको छैन। तर यसको लागि विश्वमा अनुसन्धान तीव्र रुपले भइरहेको सन्दर्भमा तत्कालका लागि संक्रमणबाट जोगिन एक मात्र सुरक्षित उपाय भीडभाडमा नजाने, सरसफाइमा ध्यान दिने, नियमित शरीरिक व्यायाम गर्नुका साथै स्वस्थकर आहारबिहार गर्ने नै हो।
साथै विभिन्न सञ्चारमाध्यम लगायत सामाजिक सन्जालहरुमा सम्प्रेषण हुने भ्रामक विषयमा विश्वास नगरी सरकारद्वारा जारी सूचना र स्वास्थ्यकर्मीद्वारा व्यक्त विचार नै कोभिड-१९ बाट सुरक्षित रहने एक मात्र आधार भएको हुँदा तत्सम्बन्धमा चनाखो हुनु जरुरी छ।
(लेखक सुडा स्वास्थ्य चौकी कञ्चनपुरका अहेब हुन्)