डा पदम नेपाली
आवासीय चिकित्सकहरु अध्ययनको अवधिमा बिरामीको सेवामा निरन्तर खटिन्छन्। विशेषज्ञताको डिग्री आर्जन गर्नु मुख्य लक्ष्य भए तापनि बिरामीको सेवा प्रवाहमा समेत उनीहरुको उत्तिकै भूमिका रहेको हुन्छ। किताब अध्ययन गरेर मात्र पूरा नहुने कोर्ष भएकाले बिरामीको हेरचाह र उपचारमा संलग्न हुनु स्वाभविक पनि हो।
यसै सन्दर्भमा संसारलाई आक्रान्त पार्दै कोभिड-१९ को प्रकोप नेपालमा भित्रिएछि पनि यो रोग लगायत अन्य बिरामीको उपचारमा आवासीय चिकित्सकहरु उत्तिकै खट्दै आएका छन्। वीर अस्पताल (न्याम्स) अन्तर्गत स्नातकोत्तर गरिरहेका ३०/४० जना चिकित्सकलाई त प्रदेश ७ को बझाङ, बाजुरा, बैतडी, डडेल्धुरा, धनगढी, महेन्द्रनगर लगायत विभिन्न ठाउँमा खटाइसकिएको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत आवासीय चिकित्सकहरुलाई समेत प्रदेश २ मा खटाउने तयारी गरिएको थियो। यद्यपि धरान लगायत आसपासका जिल्लाहरुमा कोभिडका बिरामीको संख्या बढेकाले अहिलेलाई उनीहरुलाई यतै प्रतिष्ठानमै खटाउनुपर्ने अवस्था आएको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने बिरामीहरुको उपचारमा सम्पूर्ण आवासीय चिकित्सक युद्दस्तरमा खट्दै आएका छन्। भोक, तिर्खा र आराम भन्ने कुरालाई भुलेर निरन्तर अध्ययन र काममा तल्लिन हुनुपर्ने आवासीय चिकित्सकहरुको विश्वव्यापी चलन हामीमा पनि राम्रैसँग अबलम्वन छ।
सोही सन्दर्भमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका प्रेसिडेन्ट डा कविराज पौडेल भन्नुहुन्छ, 'हिजोका दिनमा पनि अस्पताल धान्ने प्रमुख जनशक्ति आवासीय चिकित्सक नै थिए र आज कोभिड व्यवस्थापनमा पनि उनीहरु मेरुदण्डकै रुपमा रहेका छन।' यसबाट पनि उनीहरुको योगदान कति छ भन्ने कुरालाई प्रस्ट रुपमा उजागर गर्छ।
यसरी निरन्तर रुपमा खटिए तापनि आवासीय चिकित्सकहरुलाई समाज, सरकार र सम्बन्धित निकायले पूर्ण रुपममा बिर्सेको अथवा बेवास्था गरेको पाइन्छ। हालै जारी भएको 'कोरोना भाइरस (कोभिड-१९) संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश २०७७' मा समेत कहीँ र कतै पनि आवासीय चिकित्सकले कसरी यो भत्ता प्राप्त गर्न सक्छन् भनेर स्पष्ट छैन।
यसले गर्दा उच्च जोखिमकै बीच काममा खटिरहँदा सरकारले व्यवस्था गरेको यो किसिमको प्रोत्साहनबाट कतै वन्चित त भइने हैन भन्ने चासो, चिन्ता र निराशा सम्पूर्ण आवासीय चिकित्सकमा रहँदै आएको छ। यद्दपि सो कार्याविधिमा उल्लेखित पहिचान, रोकथाम, नियन्त्रण तथा उपचारमा संलग्न चिकित्सकको परिभाषामा आवासीय चिकित्सक पनि अटाउँछन् र अटाउनुपर्छ भन्ने हाम्रो आसय हो।
त्यही कार्याविधिमै आवासीय चिकित्सक भन्ने शब्द नै समावेश गरिएको खण्डमा अझ सुनमा सुगन्ध हुने थियो। तर यसका बाबजुत चिकित्सक शब्दमै समावेश गर्न खोजिएको भन्ने हाम्रो बुझाइ छ। त्यसैले यसको आधारमै सम्पूर्ण आवासीय चिकित्सकलाई उक्त प्रोत्साहन सहज रुपमा उपलब्ध गराउने दिशातिर सबै प्रतिष्ठान, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभागका अधिकारीहरु लाग्नुहुनेछ भन्ने अनुरोध र विश्वास रहेको छ।
हुन त आर्थिक अपारदर्शीता र त्यतातिर राज्यका सबै पक्षको लालायित पनले समाज आक्रान्त बनेको अवस्थामा भत्ता र प्रोत्साहन जस्तो कुरा अलि असहज पनि लाग्न सक्छ। तर राज्यले व्यवस्था गरिसकेको अवस्थामा उस्तै जोखिमा रहेका हामी आवासीय चिकित्सकहरु छुट्नु हुँदैन भन्ने हाम्रो आसय हो।
त्यसैगरी हालै नेपाल मेडिकल काउन्सिलले जारी गरेको सूचनाले पनि हामीलाई अलिकति झस्काएको छ। अहिलेको अवस्थामा सम्पूर्ण आवासीय चिकित्सकहरु आफ्नै संस्थान र सरकारले खटाएको स्थानबाट निरन्तर रुपमा सेवामा खटिँदै आएका छन्। कोही पनि अहिलेको अवस्थामा बिदामा घरमा बसेको अवस्था छैन।
यस्तो अवस्थामा कतै प्रयोगात्मक हिसाबले आवासीय चिकित्सकले साविक अनुसार बिरामी हेरेका छैनन् कि भन्ने बुझाइ गलत हो। साबिकको बिरामी लगायत कोभड-१९ को बिरामी गरेर अझ धेरै बिरामी हेरेको अवस्था छ।
त्यसैले रेसिडेन्सीको समय पुनर्विचार गर्ने कि भन्ने काउन्सिलको आसय कम्तीमा हाम्रो प्रतिष्ठान र नेपालका अन्य प्रतिष्ठानमा हकमा उठाउनुपर्ने प्रश्नै हैन। सबै निरन्तर काममा खटिएकाले पूर्वनिर्धारित समयसीमा नै कायम गरिनुपर्छ र गरिनेछ भन्ने हाम्रो दृढ विश्वास छ।
अन्त्यमा, समाज र सरकारले आवश्यक ठानेको जुनसुकै बेला आफ्नो कर्तव्यबाट पछाडि नहट्ने आवासीय चिकित्सकहरुलाई देश र समाजले यत्तिकै बिर्सन हुँदैन, सधैं प्रोत्साहन र हौसला बढाइरहनु पर्छ। आज मात्र हैन, भोलि विशेषज्ञ भइसकेपछि पनि हामीहरुले समाजलाई अझ योगदान पुर्यााउनेछौँ भन्ने कुरा स्मरण गराउन चाहन्छु।