अन्तर्वार्ता

औषधि उद्योग आर्थिक संकटमा छन् : जीनारायण बहादुर क्षेत्री [अन्तर्वार्ता]

सरकारको सहयोग भए तीन वर्षमा ९० प्रतिशत औषधि आयात गर्नुपर्दैन

चैत १० गतेबाट सुरु भएको लकडाउन जेठ ५ सम्म लम्बिएको छ। लकडाउनको असर नेपाल औषधि उद्योगमा पनि परेको छ। औषधि उद्योग सञ्चालनका लागि मुख्य समस्या पुँजीको अभाव रहेको उत्पादक बताउँछन्। यही कारण करिब ८० प्रतिशत औषधि उद्योग बन्द भइसकेका उद्योगीहरु बताउँछन्। लकडाउनले औषधि उत्पादन र उद्योग क्षेत्रमा के–कस्तो असर परेको छ, कति औषधि र कच्चा पदार्थ मौज्दात छन् ? यी विषयमा नेपाली औषधि उत्पादक संघका अध्यक्ष जीनारायण बहादुर क्षेत्रीसँग स्वास्थ्यखबरकर्मी कमला गुरुङले गरेको कुराकानीको सम्पादित अंश:

लकडाउनले औषधि उत्पादन र उद्योग क्षेत्रमा के कस्तो असर परेको छ  ?
पछिल्लो ३/४ हप्ता यता औषधि उत्पादनमा संकट नै परेको छ। औषधि उत्पादन गर्नलाई पनि निकै अप्ठ्यारो भइरहेको छ। कारखानामा कर्मचारी आउन मान्दैनन्। हामीसँग भएको कच्चा पदार्थ पनि घट्दै गइरहेको छ। त्यसैले २०/३० प्रतिशत उद्योग मात्र अहिले सञ्चालनमा छन्। 

उत्पादन गरेको औषधि पनि बजारमा बिक्री भएको छैन। औषधिको  बिक्री पनि ७० देखि ८० प्रतिशतसम्म घटेको छ। अस्पतालमा बिरामीहरु धेरै नभएकाले बिक्री घटेको छ। सरकारले औषधि उद्योग सञ्चालन गर्नु भनेको छ, हामीले सञ्चालन पनि गरिरहेका छौं। तर जोसँग कच्चा पदार्थ र पुँजी छ, उनीहरुले मात्र उद्योग सञ्चालन गरिरहेका छन्। 

एकातर्फ औषधिको बिक्रि घटिरहेको छ भने अर्कोतिर उठ्नु पर्ने रकम पनि उठ्न सकिरहेको छैन। सवैभन्दा मर्का यसले पारेको छ। त्यसैले स्वदेशी उद्योग अहिले आर्थिक संकटमा परेका छन्। हामीले आगामी २/३ महिनालाई पुग्ने कच्चा पदार्थ पनि खरिद गरेर राख्नुपर्छ। किनभने कोरोनाका कारण नेपालमा औषधिको अभाव हुन दिँदैनौ भनेर हामीले प्रतिवद्धता गरेका छौं। 

कच्चा पदार्थको मूल्य अहिले दोब्बर भन्दा बढी वृद्धि भएको छ। अन्तर्राष्ट्रिय स्तरमा ५० देखि १०० प्रतिशतसम्म कच्चा पदार्थको मूल्यमा वृद्धि भएको छ। यी कच्चा पदार्थ हामीले नगदमा खरिद गर्नुपर्छ। तर, अहिले हामी आर्थिक संकटमा छौं। 

अहिले तपाईंहरुसँग कति महिनालाई पुग्ने कच्चा पदार्थ छ?
अहिले डेढदेखि  दुई महिनालाई पुग्ने मात्र कच्चा पदार्थ छ। यदी हामीले एक/दुई महिनाभित्र कच्चा पदार्थ खरिद गरेर ल्याउन सकेनौं भने हामी पनि संकटमा पर्न सक्छौं। 

कच्चा पदार्थको खरिदका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिन हामीले सरकारलाई आग्रह गरिरहेका छौं। सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिन राष्ट्र बैंकलाई पनि हामीले निवेदन दिएका छौं। कोरोनाको महामारी रहीरह्यो भने ४/५ पछि विश्वव्यापी रुपमै औषधिको अभाव हुने हाम्रो अनुमान छ। 

विश्वको अधिकांस राष्ट्रमा चीनले औषधिको कच्चा पदार्थ आपूर्ति गर्दै आएको छ। यो झण्डै ८० प्रतिशत छ। भारतले पनि चीनबाटै कच्चा पदार्थ ल्याउने हो। कोरोनाको महामारीले चीनमा केही महिना समस्या भएको थियो। यो अहिले पनि सामान्य हुन सकेको छैन। त्यसैले विश्वभरमै कच्चा पदार्थको अभाव हुने हाम्रो अनुमान हो। 

दुईचार महिनापछि हामीलाई पनि साह्रै अप्ठ्यारो हुने स्थिति आउन सक्छ। त्यसैले हामीले महंगो नै भएपनि अहिले कच्चा पदार्थ खरिद गरेर राख्नु आवश्यक छ। कच्चा पदार्थ नभए अहिले सञ्चालित उद्योगहरु पनि बन्द गर्नुपर्ने अवस्था आउन सक्छ। 

अहिले महंगोमै भएपनि कच्चा पदार्थहरु पाइरहेको छ। तर, पछि यही कच्चा पदार्थ नपाउने अवस्था पनि आउन सक्छ। त्यसैले बेलैमा हामीले कच्चा पदार्थ खरिद गर्नैपर्छ। कच्चा पदार्थ नभइकन हामीले उद्योग सञ्चालन गर्न सक्दैनौ र उद्योग बन्द भए भोलिका दिनमा औषधिको अभाव हुन सक्छ। जतिसक्दो छिटो यसमा सरकारले निर्णय गर्नुपर्ने हो तर विडम्बना ढिलासुस्ती हुन्छ।

त्यसोभए अहिले बजारमा औषधि र कच्चा पदार्थको अभाव छैन?
अहिले औषधिको अभाव छैन। विशेषगरी सामान्य उत्पादनहरुको अभाव छैन। सामान्यतया उद्योगहरुले डेढ/दुई महिनालाई पुग्ने गरी स्टक गरेर राखेको हुन्छ। औषधिमा अझै ५/६ महिनचाहिँ समस्या नपर्ला। तर, अतिआवश्यक जुन नेपालमा बन्दैन ती औषधिहरु भने सरकारले सामान्य प्रक्रियाबाट नभए जीटूजी बाट ल्याउन सकिन्छ। 

अहिले त भारत र चीनबाट कच्चा पदार्थ ल्याउन हामीलाई समस्या छैन होइन?
अहिलेसम्म कुनै समस्या छैन। तर, कच्चा पदार्थको मूल्य चाँहि धेरै वृद्धि भएको छ। भारतले पारोसिटामोल र हाइड्रोक्सिक्लोरोक्वाइन बाहेक अन्य औषधिको निर्यात खोलिसक्यो। तरपनि भारतमा भएको लकडाउनले गर्दा कतिपय सामानहरु अलपत्र परेका छन्। 
ट्रक इन्दोर र दिल्लीमा आएर पनि रोकिएको छ। त्यसैले पहिले जस्तो स्वाभाविक रुपले आउन सकेको छैन। चीनमा पनि सहज भइसकेको अवस्था छैन।

भारतले केही समय अघि २६ प्रकारका औषधि निर्यातमा रोक लगाएको थियो। त्यो अवधिभर स्वदेशी उद्योगले नै धानेको थियो। यस्तो अवस्थामा तपाईंहरु आत्मनिर्भर हुने संभावना कत्तिको हुन्छ?
यो समयमा आत्मनिर्भर हुने ठूलो संभावना छ। अहिले अन्तर्राष्ट्रिय बजारमा जसले बढी पैसा हाल्छ, उसले सामान लिएर जान्छ। नेपाल ४५ प्रतिशत औषधि आयातमा निर्भर छ। यदी भारतमा समस्या आयो भने उसले भोलिका दिनमा औषधि पठाउँदैन। यो स्वभाविक कुरा हो र भारतले यसअघि २६ प्रकारको औषधि निर्यातमा रोक पनि लगाएको थियो। 

भारतीय कम्पनीको औषधिहरु खाने बिरामी नेपालमा धेरै छन्। भोलि भारतले ती औषधिहरु रोकेको खण्डमा धेरै समस्या पर्छ। नेपालमा ६० वटा स्वदेशी उद्योग छन्। हामीसँग उत्पादन गर्ने क्षमता छ। 

भ्याक्सिन र एन्टीक्यान्सर झोल बाहेक सबै औषधि हामी नेपालमै बनाउन सक्छौं। त्यसैले हामीसँग पर्याप्त मात्रामा कच्चा पदार्थ भयो भने हामीले सबै औषधि उपलब्ध गराउन सक्छौं। यदि सरकारले कच्चा पदार्थ उपलब्ध गराइदिए हामी ती औषधिहरु उत्पादन गर्न तयार छौं। यो कुरा हामीले राज्यलाई पनि पटक–पटक भन्दै आइरहेका छौं। हामी आत्तिइरहेका छौं तर सरकारलाई यसले छोए जस्तो लाग्दैन। 

सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने तपार्इंहरुको अहिले मुख्य आग्रह भयो। योसँगै सरकारबाट के कस्तो सहयोग पाउनुभयो भने औषधि उद्योग सञ्चालन गर्न सहज हुन्थ्यो?
सरकारसँग हामीले धेरै कुरा मागेको छैनौं। सरकारले अतिरिक्त चालु पुँजी सस्तो ब्याजदरमा उपलब्ध गराउनुपर्छ। राज्यले झण्डै ३८ अर्ब बराबरको रकम विश्व बैंक र एडीबीमा आएको भन्ने सुनेको छु त्यो पनि शून्य प्रतिशत ब्याजमा। त्यो शून्य प्रतिशत व्याजमा म्यानेजमेन्ट खर्च राखेर तीन चार प्रतिशतमा औषधि उद्योगलाई अतिरिक्त चालु पुँजी दुई वर्षको लागि दिएर चलायमान राख्न सकिन्छ। 

औषधि उद्योगलाई चलायमान राख्न सक्यौं भने औषधिको अभाव पनि हुँदैन। एउटा संभावना बोकेको औषधि क्षेत्र आत्मनिर्भरता तर्फ बढ्न सक्छ। सरकारले हामीलाई सहयोग गर्ने हो भने आगामी दुईतीन वर्षमा ९० प्रतिशत बढी आत्मनिर्भर हुन सक्छौं। अहिले कच्चा पदार्थ सबैभन्दा ठूलो समस्या हो। 

सरकारसँग हामीले रातह मागेका छैनौ। अहिलेको अवस्थामा औषधि उद्योगलाई सञ्चालित गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराई दिन आग्रह गरेका छौं। सरकारले ऋण उपलब्ध गराएको अवस्थामा हामी उद्योग सञ्चालन गर्न सक्छौं। औषधि उत्पादन गर्न र अति आवश्यकीय औषधि पनि उपलब्ध गराउन सक्छौं। यदि भविष्यमा बाहिरबाट आउने औषधिको आयात घट्यो भने हामी ती औषधि पु¥याउन पनि प्रतिवद्धता व्यक्त गर्दछु। 

यो कोरोनाको महामारीले हामीलाई के कुरा सिकायो?
कोरोनाले हामीलाई सिकाएको कुरा भनेको हामी कुनै न कुनै क्षेत्रमा आत्मनिर्भर हुनैपर्छ। औषधिमा आत्मनिर्भर हुने प्रवल संभावना छ। किनभने यो क्षेत्रमा धेरै नै लगानी भइसकेको छ।

हामीसँग उत्पादन गर्ने क्षमता पनि छ। तर, स्वदेशी औषधि उद्योगलाई कसरी प्रवद्र्धन गर्ने, विदेशबाट आयात नगर्ने यदि त्यो नीति अवलम्बन ग¥यौं भने आगामी दुई वर्षभित्र हामी औषधिमा आत्मनिर्भर हुन सक्छौं। 
नेपालमा कुनै औषधि उत्पादन हुँदैन भने मात्रै खरिद गर्नुपर्छ तर यही उत्पादन हुन्छ भने किन आयात गर्ने ? दुई वर्षभित्र पनि नेपालमै एन्टी क्यान्सर औषधि पनि बन्छ। राज्यले एउटा ठोस नीति बनाएर हामीलाई सहयोग गर्ने हो भने दुई वर्षभित्र एन्टी भाइरल बाहेक सबै औषधि यहीँ बन्छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने