संगीत पन्थी
बच्चामा,
बिरामी भएर अस्पताल पुग्दा
देखेकी थिएँ, सेतो कपडामा सजिएका
म जस्ता बिरामीको
आफन्त जस्तै भएर बसिरहने
सामिप्यतामा रहिरहने
औषधि खुवाउने
जतिबेलै सेवाले हतार दिदीहरु
माया, स्नेह झल्काउने
प्रिय जिन्दगीका भरोसाहरु।
आफ्नै लागे ति दिदीहरु
त्यसैले त सुई लगाइदिदाँ
जोडले भनेकी थिएँ
ऐयाँ... दिदी, दिदी
बुबाले भनेपछि आफ्नै लागेकी
ति दिदी, नर्स रैछन्
मैले बुझिन नर्स
स्कूल पढ्दा पढेको हर्स सम्झें
बुबालाई पुनः सोधिन्
चुपचाप बसे, बरु संकल्प कसें
बन्छु नर्स।
एसएसली पास गरें,
थप पढ्न थाल्दा, विषय धेरै थिए
विकल्प धेरै थिए तैपनी
रोजें नर्सिड्ड
पढें, सिकें र विश्वासले भरिएँ
सेवाको भोकले जागिर खाएँ
जागिर नभनौं,
स्वस्थ राख्न बहने जस्तै
अक्सिजन मिश्रित हावा
स्वार्थभन्दा धेरै टाढाको
प्रिय सेवा ।
हामी नर्स
कोराना मात्रै हैन
हर विपत्तिमा बिरामीको भर बन्यौं
रोगले कलेंटी परेको शरीरमा
निचोरिएको विश्वासमा
स्वस्थताको श्वास भर्यौं
बाँच्ने प्रेरणा र उर्जा
थप्यौं, थपिरहनेछौं
उसैगरी अहोरात्र
विश्वासको दीप बाल्न
खट्नेछौं, खटिरहनेछौं।