त्रिभुवन ढकाल
भोक र भोजन
निन्द्रा र बिछ्यौना
थकान र विश्रामको
मध्यविन्दुमा उभिएकाहरु
मृत्युले काख च्याप्नै लागेकाहरुमा
प्राण भरेर जिवन फर्काउनेहरु
मानौं
उनीहरु त्यसैका लागि हुन्
अनेक पाटाहरु छुटेर आएजस्तो
उनीहरु कुनै ईश्वर होइनन्
उनीहरुलाई देवत्वको कुनै आशा छैन
उनीहरुलाई
प्रतियोगिताको ताज पनि पहिरिनु छैन
उनीहरुलाई
स्वार्णिम अक्षरले
अमरता लेखाउनु पनि छैन
उनीहरु कुनै सिपाही होइनन्
तर लडिरहन्छन्
हो
महाभारतका अश्विणीकुमार यिनै हुन्
रामायणका सुषेन यिनै हुन्
युद्द न महामारी
जीवन र मरणको संग्राममा
उभिएर
जीवन फर्काउने फ्लोरेन्स नाइटिङ्गेलहरु यिनै हुन्
हो
संजिवनी बुटीको पर्वत उठाउने हनुमान यिनै हुन्
केवल बचाउनका निम्ति
उनीहरुले मृत्युभूमिमा जीवनको आवश्यकता देखे
महामारीमा
साहाराका अन्तिम लाठी बने
किल्लामा लड्नेहरु त अमर भए
के
अस्पतालमा लड्नेहरुको गीत कसैले गाउँदैनन्??