डा मिलन अधिकारी
'एक जुगमा एक दिन, एक चोटी आउँछ...।' कुनै समय चर्चाको एकदम शिखरमा थियो यो गीत। हो त्यो एक दिन आएको छ। सरकारले आफ्ना नागरिकको उत्तरदायित्व बहन गर्दै जिम्मेवार भएर देखिने गरी आफ्नो उपस्थिति देखाउने दिन आएको छ।
सामान्य अवस्थामा दैनिक जीवनयापन गरिरहेका आममानिसलाई सरकार के गरिरहेछ, के कुरामा अल्झिरहेको छ, खासै वास्ता हुँदैन। आफ्नो दैनिकीमै अल्झिरहेको मानिसलाई त्यो सब वास्ता गर्ने फुर्सद पनि हुँदैनl तर अवस्था यस्तो आइदियो कि अहिले सरकारका एकएक गतिविधि सबैले नियालिरहेका छन्, सबैजना सरकारको बलियो उपस्थिति कुरिरहेका छन्।
कोभिड-१९ सँग सिंगौरी खेलिरहेकको यो अवस्थामा सरकारलाई बलियो साथ र समर्थनको खाँचो छ; आफ्ना नागरिकको। त्यसैले, यो महामारीसँगको लडाईंमा आमजनमानसले पनि आफूलाई जिम्मेवार रुपमा प्रस्तुत गर्नपर्ने दिन आएको छ।
एउटा नमिठो सत्य के भने यस कोरोना भाइरसलाई हामी सबैले अलि कम आँकेको चाहिँ हो। सुन्दा नराम्रो लाग्ला तर यथार्थ यही नै हो। सरकारले लकडाउन लागू गरेपश्चात् पहिलो २-३ हप्ता अलि अनुशासित बसेका हामी त्यसपछि बेपर्वाह घर बाहिर निस्केकै हो। सामाजिक दुरी कायम गर्न रेडियो टेलिभिजन र सामाजिक संजालका आग्रहहरुलाई हामीले बेवास्ता गरेकै हो।
संक्रमितहरुको संख्या विस्तारै बढिरहेको भए पनि त्यति ठूलो मानेको थिएनौं हामीले यस रोगलाई। तर पछिल्ला ३ दिनको अवस्था बेग्लै छ। फेरि मानिसहरु त्रसित भएका छन्। २ नं प्रदेश र ५ नं प्रदेशमा संक्रमितको संख्या ह्वात्तै बढे र कुनै पनि ट्राभल हिस्ट्री नभएकामा पनि यो संक्रमण देखिएसँगै अब संक्रमण समुदाय स्तरमा पुगिसकेकोमा दुई मत रहेन।
झट्ट हेर्दा यो संख्यामा भएको वृद्धि सबैलाई अत्याउने खालको भए पनि यसको पृष्ठभूमि केलाउने हो भने के थाहा पाइन्छ त भन्दा पिसिआर परीक्षणको दायरा बढेकोले पनि यति धेरै संक्रमितहरुको पहिचान एकै समयमा हुन सम्भव भएको हो। संक्रमित कसरी आए, तिनको व्यवस्थापन कस्तो हुनु पर्थ्यो, त्यो बहसको अर्को पाटो होला तर भएका संक्रमित भेटिनु भनेको नै रोग नियन्त्रणको एक मात्र विकल्प हो आजको दिनसम्म।
२-४ दिन अघिसम्म दैनिक ३०० को हाराहारीमा मात्र भइरहेको पिसिआर परीक्षणको दर अहिले बढेर २००० बढी पुगेको छ। सम्भावित संक्रमितहरुमा पहिले अपनाइएको आरडीटी विको गुणस्तरमा ठूलो प्रश्नचिन्ह लागेकाले पनि पीसीआर परीक्षणको दायरा बढाउनुको विकल्प छैन। ढिलो भो तर सुरु त भयो। समुदाय स्तरमै संक्रमण फैलिसकेको अवस्थामा अब त टेष्टको दायरा एकदम नै फराकिलो बनाउनै पर्छ।
टेष्टको दायरा बढाउँदै गएपछि संक्रमितको संख्या बढ्दै जान्छ। ती संक्रमित जति चाँडो परीक्षण गरेर आइसोलेसनमा राख्न सक्यो त्यति नै संक्रमितको चाँडो निको हुने सम्भावना बढी हुनुका साथै परिवार र समुदायमा संक्रमण फैलिने सम्भावना पनि कम हुन्छ।
सरकारले लकडाउन बढाएसँगै सीमापारिबाट लुकिछिपी प्रवेश गर्नेको संख्या ब्यापक वृद्धि भएको छ। अहिले केही दिन यता देखिएका संक्रमितहरु धेरैजसो यसरी नै लुकिछिपी आएका हुन्। हजारौंको संख्यामा सिमानामा देश फर्कन कुरेर बसेका नेपालीको, अहिलेकै अवस्था रहिरहने हो भने यसैगरी लुकिछिपी आउने क्रम जारी रहने नै छ। हो यहाँ चाहिएको छ राज्यको उपस्थिति।
पछिल्ला दिनमा भारतमा दैनिक रुपमा संक्रमितको सङ्ख्या एकदमै बढिरहेको छ। नेपालसँग सिमाना जोडिएका भारतका प्रदेशहरुमा पनि संक्रमितहरु बढिरहेको अवस्थामा यसरी बोर्डरमा देश फिर्न कुरिरहेका नेपाली पनि उच्च जोखिममा छन्। यी नेपालीलाई राज्यले अपनत्व ग्रहण गरेर सुरक्षित रुपमा देश फर्काएर सबै जनालाई व्यवस्थित क्वारेन्टाइनमा राख्न जरुरी देखिन्छ।
चीनमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याएर आफ्नो उपस्थिति देखाएको सरकारले यी मजदुरहरुलाई भिन्न व्यवहार गर्न हुँदै हुन्न। अन्य देशमा रहेका नेपाली पनि फर्किन ब्याकुल छन्। हो संख्या ठूलो छ, सरकारलाई व्यवस्थापन गर्न गाह्रो पनि होला। त्यसो भनेर सरकार आफ्नो दायित्वबाट पन्छिन पटक्कै मिल्दैन। त्यो दिन आएको छ, योजना बनाउँदै सँगसँगै कार्यान्वयन गर्दै हिँड्ने दिन आएको छ। देश फर्कन चाहनेको लागत निकालेर, कहाँकहाँ बनाउन सकिन्छ क्वारेन्टाइन भनेर खोज्दै ( होटेल, लज, स्कुल, कलेज, विश्वविध्यालय, सार्वजनिक भवन इत्यादि) सबलाई परीक्षण गरेर राख्न सक्नै पर्छ, जिम्मेवार सरकारले।
संघीय राज्य व्यवस्थाको औचित्यबारे पटकपटक बहस हुने गरेको छ। हो, औचित्य पुष्टि गर्ने समय आएको छ। हरेक स्थानीय तहमा बलियो जनप्रतिनिधिको उपस्थितिको औचित्य पुष्टि गर्ने समय आएको छ। संघीय सरकार र प्रदेश सरकारले योजना बनाउने र ती योजना कार्यान्वयनको आधार स्थानीय निकायले तय गर्दै तिनको अनुगमन गर्न एकदम जरुरी देखिन्छ।
देशमा संक्रमितको संख्या बढेसँगै संक्रमितको सम्पर्कमा आएकाहरुको खोजपडताल गर्न स्थानीय निकायको महत्वपूर्ण भूमिका हुन्छ। क्वारेन्टाइनमा बसेकाहरुको व्यवस्थापन होस् वा होमक्वारेन्टाइन र सेल्फ आइसोलेसनमा बसेकाहरुको निगरानी गर्न होस्, हाम्रा स्थानीय स्तरका जनप्रतिनिधिको अग्रणी भूमिका रहन्छ र कतिपय स्थानीय निकायले अहिले पनि यो भूमिका कुशल रुपमा निर्वाह गरिरहेका छन्।
संक्रमितको संख्यामा वृद्धि भएसँगै कतिपय तोकिएका अस्पतालमा रहेका आइसोलेसन बेडहरु भरिएका छन्। यो अवस्थामा अब लक्षण नदेखिएका संक्रमितहरु घरमै सेल्फ आइसोलेसनमा बस्नपर्ने निश्चित जस्तै छ। त्यस्तो हुँदा ती संक्रमित अनुशासित तवरले बसेका छन् भनेर निगरानी गर्ने यिनै जनप्रतिनिधिले हो। अझै नजिकबाट निगरानी गर्ने त छिमेकीले हो। हरेक नागरिक जिम्मेवार भएर प्रस्तुत हुने दिन आएको छ। यो विषम परिस्थितिमा आफू र परिवारलाई संक्रमणको जोखिमबाट टाढा राख्न सजकता अपनाउँदै समाज र समुदायप्रतिको आफ्नो दायित्व निर्वाह गर्नु हरेक सचेत नागरिकको कर्तव्य हो।
आजको दिनसम्म आइपुग्दा यो रोगबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकार पनि संक्रमित भइसकेका छन्। यो महामारीको लडाइँमा आफ्नो घरपरिवार, बालबच्चा केही नभनी होमिएका यी जनशक्ति संक्रमित हुनु पक्कै पनि राम्रो संकेत हैन। सरकारले यिनीहरुलाई भय रहित अवस्थामा काम गर्ने वातावरण तुरुन्त निर्माण गर्न जरूरी छ। गुणस्तरीय व्यक्तिगत सुरक्षा सामग्रीको पर्याप्त परिमाणमा उपलब्धता सुनिश्चित हुनु एकदम अपरिहार्य भैसकेको छ।
यी जोखिममा रहेर काम गरिरहेकाहरुको महोबल उच्च राख्दै संक्रमण हुनबाट जोगाउने काम सरकारकै हो। कोरोनाको कहरसँग लडिरहँदा, अरु रोगका बिरामीहरुको पनि उचित व्यवस्थापन गर्न एकदम जरुरी छ। गर्मी यामको सुरुवात भएसँगै अन्य रोगका बिरामीहरुको संख्या पक्कै पनि बढ्छ। त्यस्ता बिरामीहरुको पनि सँगसँगै उपचार गर्नुपर्ने काम यो कोरोना कहरका बीच चुनौतीपूर्ण नै छ। कोरोना विशेष अस्पतालहरुको स्तरोन्नति गर्दै निजी अस्पतालहरुसँगको समन्वय आजको टड्कारो आवश्यकता हो।
हाम्रो देशमा अहिलेसम्म संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य छ। उपचारपछि निको भएर जानेको संख्या पनि बढ्दै छ। भारतमै ७५ हजार बढी संक्रमित भैसक्दा पनि करिब २५०० जनाको मात्र मृत्यु भएको छ। एक तिहाइमा त संक्रमण निको भैसकेको अवस्था छ। यो भाइरस आफैंमा पनि अरु पहिले महामारी गराएकाहरु भन्दा कमजोर भाइरस हो भन्ने आवाज पनि सुनिन्छ। तर स्याल जस्तो यो भाइरस निर्मूल पार्न हामीले बाघ मार्ने जतिको तयारी गर्नै पर्छ।
सिमानाको रक्षा गर्नु, एउटा सार्वभौम राष्ट्रको सरकार र नागरिक सबैको कर्तव्य हो। तर अहिले त्योभन्दा प्राथमिकताको मुद्दा भनेको आफ्नो नागरिकको ज्यान जोगाउने हो। यो भाइरसलाई कसरी चाँडोभन्दा चाँडो निर्मूल पर्ने भन्ने हो। राज्यका सबै संयन्त्र एकसुरे भएर यो भाइरस विरुद्ध लड्ने दिन आएको छ। हामी सरकारको साथमै छौं भनेर सबै नागरिकले छातीमा हात राखेर भन्ने दिन आएको छ।
-(डा अधिकारी भरतपुर अस्पतालमा कार्यत छन्)