रश्मी लिम्बु
म झापा बिर्तामोड निवासी पेसाले एक नर्स हुँ।
हाल झापास्थित देवि मावि झापा बिर्तामोडमा स्कुल हेल्थ नर्सको रुपमा कार्यरत छु।
विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसको बिगबिगी जताततै फैलिरहेको बेला नेपाल पनि यसबाट चोखो रहन सकेन। नेपालमा पनि लकडाउन सुरु भएदेखि सम्पूर्ण विद्यालय बन्द भए। पठनपाठन ठप्प नै भयो। एउटा स्कुल हेल्थ नर्सको नाताले म पनि यो महामारीप्रति चिन्तित नै थिएँ। कहीँ कुनै विद्यार्थी पनि संक्रमित भए भने त्यसको नतिजा के होला? यसरी नै मनमा खुल्दुली चलिरहेको थियो।
२०७७-१-९ गते अचानक प्रदेश १ मन्त्रालयबाट फोन आयो। उहाँहरुले जानकारी दिए अनुसार प्रदेश १ ले तयार पारेको कोरोना अस्पतालमा प्रदेश १ का स्कुल हेल्थ नर्सहरुलाई पनि खटाइने कुरा जानकारीमा आयो। मलाई पनि त्यहाँ ड्युटीमा राखिएको कुरा थाहा पाएँ।
तत्कालै कै भन्न सकिनँ। यत्रो महामारीले संसारलाई हल्लाइरहेको स्थितिमा आफ्नो घरपरिवार, साथीभाइ सबैलाई सम्झें। तर फेरि मनमनै सोचें, सिमानामा लड़ाईं भइरहेको छ, एउटा सिपाही भएर लड़ाईंमा जान्न भन्दा पूरै देशलाई कति असर पर्ला? के होला देशको हालत? यिनै कुरालाई मनन गर्दै आफूलाई सम्हल्दै, घरपरिवार, साथीभाइ सबैलाई त्यही कुरा अवगत गराउँदै लड़ाईंमा जाने निर्णय गरें।
मलाई जानकारी गराएअनुसार वैशाख १३ गतेबाट मेरो कार्य तालिका तय गरिएको रहेछ। १२ गते पिपिई लगाउने सम्बन्धी तालिम रहेछ।
त्यसको लागि म ११ गते नै हिँड्नुपर्ने भयो। त्यही दिन आमाको मुख हेर्ने दिन थियो। आफ्नो पूर्व योजना अनुसार त्यस दिन आफ्नी आमालाई मिठोमिठो परिकार बनाएर खुवाउँछु, सँगै बस्छु, सबै परिवार रमाइलो गरेर दिन बिताउने सोचेको थिएँ। तर हुने हार दैव नटार भनेझैं आफूले सोचे जस्तो का हुनेरहेछ? दिउँसोतिर मन्त्रालयको गाडीमा हिँडे। विराटनगर रातिको लगभग ८ बजे आइपुगियो।
त्यसको भोलिपल्ट हामीले पिपिई लगाउने र फुकाल्ने तालिम पायौं। हेर्दा सजिलो नै लागिरको थियो तर पनि अस्पताल पुग्नुभन्दा अगाडि मनमा अनेकै कुरा खेलिरहेको थियो। कस्तो होला, कसरी काम गर्ने, आफूलाई केही भइहाल्यो भने के गर्ने जस्ता अनेकौ कुरा खेलिरहेका थिए।
कताकता डर, एक प्रकारको त्रास हुँदाहुँदै पनि मनलाई सम्झाइबुझाइ गर्दै भोलिपल्ट वैशाख १३ गते म लगायत मेरो टिम कोभिड-१९ अस्पताल पुग्यो। मेरो त्यो टिममा २ जना नर्स, १ जना डाक्टर, १ पारामेडिक्स र १ जना कार्यालय सहयोगी गरेर जम्मा ५ जना को टिम रहेको थियो। अस्पताललाई रेड जोन र ग्रिन जोन भनेर छुट्याइएको रहेछ।
ड्युटीको पहिलो दिन, रेड जोनमा प्रवेश गर्ने भनेर डाक्टरले सोध्नु भयो, मैले साहस बटुलेर भने म जान्छु भित्र अनि म र मेरो सहकर्मी पिपिई लगाएर ‘नो इन्ट्री’, ‘रेड जोन’ भनेर ठूलोठूलो अक्षरमा लेखिएको गेटबाट बिरामीहरुको स्वास्थ्य अवस्था बुझ्न र बेलुकाको खाना साथै आवश्यक सामग्री लिएर भित्र प्रवेश गरियो अनि भित्र प्रवेश गरेपछि थाहा पायौं।
भित्रको माहोल छुट्टै रहेछ। धेरै जना मुसलमानहरुको समूह थियो। उनीहरु पनि हामी आएको देखेर केही सोध्न खोजिरहेका जस्ता थिए। त्यही दिनबाट उनीहरुको रमजान सुरु भएको र १ महिनासम्म चल्ने रहेछ। त्यही भएको हुनाले दिउँसोभरि खाली पेट बस्ने पानीसम्म पनि नखाने र घाम अस्ताएपछि र सूर्यादय हुनुअगडि मात्रै खाने गरेका रहेछन्। बिरामीको अवस्था सामान्य नै (रोग छ तर लक्षण नदेखिनु) थियो। त्यो बेला बिरामी जम्मा २९ जना थिए र बाँकी २ जना पनि थपिएर जम्मा ३१ जना भएका थिए। त्यसमध्ये २ जना महिला थिए।
अर्को दिन पिपिई लगाएर भित्र प्रवेश गर्यौं। त्यो दिन बिरामीहरुको रुटिन ब्लड टेस्ट गर्नु पर्ने थियो। पिपिई मास्क लगाएको कारणले गर्दा चस्मामा बाफ भरिइसकेको अवस्था थियो। त्यसैले राम्रोसँग देख्न मुस्किल परेको बेला नशा खोजेर ब्लड ड्र गर्नु थियो त्यो बेला हामीलाई धेरै नै मुस्किल पर्यो। तर पनि हामीले हार नामानी १७ जाना बिरामीको ब्लड नमुना प्रयोगशालालाई जिम्मा दिएर फर्कियौं।
नाइट ड्युटी मर्निङ र इभिनिङ भन्दा फरक थियो, किनकी रातिको समयमा २४ घण्टाको फो व्यवस्थापन गर्नुपर्ने थियो र टिम मिलेर त्यो काम पनि फटाफट गरियो।
एउटा राम्रो टिम वर्क हुन जरुरी हुन्छ, किनकि एक्लै त पक्कै पनि केही गर्न सकिँदैन। त्यसैगरी अस्पताल म्यानेजमेन्टबाट पानि राम्रो सपोर्ट थियो र हस्पिटल जान आउन गाडीको व्यवस्था मिलाइएको थियो। ड्युटी सकिएपछि क्वारेन्टाइनको लागि होटलको व्यवस्था पनि राम्रो थियो। हाम्रो ड्युटीको समयमा १४ जना बिरामीहरुलाई फूलमाला सहित डिस्चार्ज गरियो। बिदाई शब्दमा कता कता दुःख लुकेको हुन्छ तर यो बिदाइमा बिदाई दिने र बिदाई भएर जाने दुवैको मुहारमा छुट्टै किसिमको हर्सोल्लास देखिन्थ्यो। गलामा फुलको माला र हातमा फूलको गुच्छा लिँदै उहाँहरू भन्दै हुनुहुन्थ्यो, तपाईंहरू दिल्ली भ्रमण गर्न आउनुहोस् है।
यो कोरोना हस्पिटलमा काम गर्न आउनु भएको मेरो साथीको भनाइ अनुसार उहाँलाई घरबेटीले कोठाबाट निस्कन आदेश दिनुभएको थयो रे। यो सुन्दा एकदमै चित्त दुख्यो। यो कहाँको न्याय हो। हामी यसरी आफ्नो घर परिवार छोडेर फ्रन्टलाइनमा आफ्नो ज्यान जोखिममा राखेर देशको लागि काम गरिरहेका छौं। यसको बारेमा बुझिदिनुपर्यो समाजले पनि। तर मेरो केसमा भने त्यस्तो भएन। सबैले हौसला दिनुभयो। मेरो घरपरिवार, साथीसंगी तथा स्कुलबाट पनि राम्रै प्रतिक्रिया दिनुभएको थियो। त्यही भएर पनि काम गर्ने जोस र जाँगर थियो मभित्र।
नया ठाउँ, नया अस्पताल र नयाँ रोगसँग यसरी काम गर्न पाउँदा छुट्टै नयाँ अनुभव बटुलने अवसर पाएको छु। जसमा कति जनाले म यहाँ आएर काम गर्छु भन्दा पनि पाउनु भएको छैन र आशा छ यस्तो महामारीमा काम गर्नुहुने सम्पूर्ण स्वास्थ्यकर्मीको शारीरिक तथा मानसिक मनोबल बढाउन सरकार लगायत सम्पूर्ण देसबासीको साथ र सहयोग दिनुहुनेछ। जोजो आफ्नोआफ्नो कार्य क्षेत्रबाट निरन्तर यो महामारीमा काम गरिराख्नु भएको छ, उहाँहरुप्रति पनि धन्यवाद छ। आशा छ सबैको कार्यको मूल्यांकन हुनेछ।
र अन्त्यमा, यो महामारी संसारबाट चाँडोभन्दा चाँडो मुक्त होस् शुभकामना छ।
मेरो लागि यस्तो अवस्थामा देशको एक (नर्स) स्वास्थ्यकर्मी भएर काम गर्न पाएकोमा एकदमै गर्व महसुस गरेको छु। मेरो काम सकेर क्वारेन्टाइनमा १४ दिन बसी पिसिआर रिपोर्ट नेगेटिभ आउँदाको खुसी अनि घर पुग्दा सम्पूर्ण परिवार हातमा फूलमाला, अबिर र दही खुवाउँदै ‘आमाबुबालाई गर्व गराएकोमा एकदमै खुसी छौं छोरी’ भन्दाको झण म शब्दमा बयान गर्न पनि सक्दिनँ।