मुख्य समाचार

मापदण्ड अनुसार छैनन् अधिकांश क्वारेन्टाइन स्थल

विज्ञ भन्छन्- क्वारेन्टाइन व्यवस्थित नहुँदा संक्रमणको जोखिम झनै बढ्यो

काठमाडौ‌ं- कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट सरकारले फागुन ३ गते १ सय ७५ जना नेपालीलाई उद्धार गरी स्वदेश ल्यायो। उनीहरुलाई क्वारेन्टाइनको व्यवस्था गरिएको थियो, भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा। 

सरकारले यति धेरै संख्यामा क्वारेन्टाइनमा राखेको त्यो पहिलो पटक थियो। क्वारेन्टाइनमा गरिएको व्यवस्था अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएको सरकारी अधिकारीको दाबी थियो। त्यो क्वारेन्टाइनमा गरिएको व्यवस्था साँच्चै नै यति व्यवस्थित र मापदण्ड अनुसार थियो कि, त्यहाँ बसेका १ सय ७५ जना सबैले सरकारको तारिफ गर्न हिच्किचाएनन्। त्यो बेला नेपालमा संक्रमितको संख्या एक जना मात्र थियो। 

करिब चार महिनाको अन्तरालमा नेपालमा संक्रमितको संख्या ४ सय नाघेको छ र मृतकको संख्या दुई पुगेको छ।       

बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २५ वर्षीय एक युवाको गत आइतबार कोरोना संक्रमणका कारण मृृत्यु भयो। समयमै अस्पताल लैजान नसक्दा ती युवाको मृत्यु भएको थियो। 

यो त्यही क्वारेन्टाइन हो, जहाँ उनीसँगै अन्य ५९ जनामा सोमबार संक्रमण पुष्टि भएको थियो। क्वारेन्टाइन भनिए पनि त्यो स्थल व्यवस्थित र मापदण्ड अनुसार थिएन। संक्रमितको संख्या र जोखिम बढ्दै गएको छ। त्यही अनुसार सरकारले आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था गर्न भने सकेको छैन। 

के हो क्वारेन्टाइन, कस्तो हुनुपर्छ?
कुनै पनि रोगका शंकास्पद व्यक्तिलाई संक्रमण फैलिन सक्ने समयसम्म निगरानीमा राखिनुलाई क्वारेन्टाइन भनिन्छ। कोरोनाको हकमा १४ देखि १७ दिनसम्म शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखिन्छ।  

सरकारले क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनका लागि मापदण्ड समेत निर्धारण गरेको छ। कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ ले क्वारेन्टाइनलाई यसरी व्याख्या गरेको छः

क्वारेन्टाइन भन्नाले कुनै रोगको संक्रमण फैलन सक्ने अवस्थालाई आकलन गरी उक्त संक्रमित इलाका वा संक्रमितको सम्पर्कमा रहेका वा आवास वा होटलमा रहेका सम्भावित जोखिम भएका व्यक्तिलाई बाह्य सम्पर्कबाट छुट्याई तोकिएको स्थान वा घरमा कम्तीमा १४ दिनसम्म अलग्गै राखिने अवस्थालाई जनाउँछ। 

सरकारको यही मापदण्ड अनुसार क्वारेन्टाइनमा हुनुपर्ने विभिन्न सेवा तथा व्यवस्थाहरु उल्लेख गरिएका छन्। जस्तैः 
–    विशेषगरी सम्भव भएसम्म शौचालय सहितको कोठा र सो नभएमा न्यूनतम प्रतिकोठा अधिकतम तीन जनाको दरले ६ जनाका लागि एउटा साझा शौचालय र स्नानगृह भएको 
–    विद्युत, पानी लगायतका आधारभूत सेवाको उपलब्धतता
–    कोठाको व्यवस्थापन (प्रतिव्यक्ति ७५ वर्ग फिटको स्थान वा एक खाटदेखि अर्को खाटको बीचमा न्यूनतम दूरी ३ दशमलव ५ फिट हुनुपर्ने)। ओढ्ने, ओछ्याउने र आवश्यकता अनुसार झुल सहितको खाट। 
–    क्वारेन्टाइन स्थलमा स्वास्थ्य सामग्री सहितको प्रतिसय जनाका लागि मेडिकल अधिकृत एक जना, स्वास्थ्य परिचारिका एक, पायारामेडिक एक, ल्याब टेक्निसियन (आवश्यकता अनुसार) हुनुपर्ने। जसमा २४ सै घण्टा एम्बुलेन्स पनि व्यवस्था गनुपर्ने मापदण्डमा उल्लेख छ। 

यो सहित अन्य धेरै व्यवस्था यस मापदण्डमा उल्लेख गरिएका छन्। तर नेपालमा हाल व्यवस्था गरिएका अधिकांश क्वारेन्टाइन स्थलमा यी सबै कुराहरु देख्न पार्इंदैन। मात्र यो मापदण्डमा पढ्न पाइन्छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनी नेपालमा व्यवस्था गरिएका अधिकांश क्वारेन्टाइन मापदण्ड अनुसार नभएको बताउँछन्। क्वारेन्टाइनको सुविधा अस्पतालको जस्तै हुनुपर्नेमा त्यसो नभएको उनले बताए।  

उनले भने, ‘क्वारेन्टाइन भनेको अस्पताल जस्तै हुनुपर्छ। त्यहाँ रहेका शंकास्पद व्यक्तिको हरेक दिन स्वास्थ्य परीक्षण गर्ने, कुनै समस्या या लक्षण देखिए अस्पतालमा रिफर गर्ने व्यवस्था हुनुपर्छ। तर यहाँ त क्वारेन्टाइन भनेको त जबरजस्ती एउटै कोठामा कोचकाच गरेर राख्ने गरिएको छ। अपराधीलाई जस्तोगरी थुनेर राखिएको छ।’ 

क्वारेन्टाइन भद्रगोल र मापदण्ड अनुसार नहुँदा कोरोना सहित अन्य संक्रमणको जोखिम अत्यधिक हुने उनले बताए। सरकारले होटल तथा विभिन्न घर भाडामा लिएर भए पनि क्वारेन्टाइन स्थल व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ। 

‘स्थानीय तहमा व्यवस्था गरिएका क्वारेन्टाइन स्थलमा डाक्टर छैनन्, नर्स छैनन्, एम्बुलेन्स छैनन्। न क्षमता नै छ। यो गलत हो। प्रत्येक क्वारेन्टाइन मापदण्ड अनुसार हुनैपर्छ,’ उनले भने। 

सरकारले निश्चित मापदण्ड निर्धारण त गरेको छ तर त्यो मापदण्ड अनुसार क्वारेन्टाइन सञ्चालन भएका छैनन्। 

नेपालमा कति छन्, क्वारेन्टाइन सिट संख्या?
नेपालमा हाल ५७ हजार ९ सय ४ जनालाई राख्न सकिने क्वारेन्टाइन शय्या छ। तर त्यसमध्ये ३० हजार शय्या मात्र गुणस्तरका छन्। अन्य शय्याको अवस्था कमजोर भएको र सुधार गर्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले स्वीकार गरेका छन्। 

मंलगबार संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘क्वारेन्टाइनको साधारण क्षमता ५७ हजार ९ सय ४ सिटको छ। ती क्वारेन्टाइनमा मानिसहरु नराखिएको हुँदा पर्याप्त गुणस्तर नभएको देखिन्छ। त्यसमा ३० हजार अलि गुणस्तरीय छन्। त्यसमा पनि मानिस त्यति ठूलो संख्यामा राखिएका छैनन्। त्यस कारण हामीले त्यसको अवस्था पनि सुधार गर्नुपर्ने देखिन्छ।’

नेपालमा क्वारेन्टाइनमा रहने शंकास्पद व्यक्तिको संख्या दैनिक बढ्दो छ। मंगलबार मुलुकभर २१ हजार ६ सय २३ जना क्वारेन्टाइनमा थिए। यो संख्या १ हजार ५ सय ७९ ले वृद्धि हुँदै बुधबार २३ हजार २ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। 

मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार ३ सय ४, प्रदेश २ मा ४ हजार १ सय ४४, बागमतीमा ३ सय ५३, गण्डकीमा ४ सय ६६, प्रदेश ५ मा १४ हजार २ सय ६२, कर्णालीमा ७ सय ६४ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ९ जना क्वारेन्टाइनमा छन्। 

यस्तो छ मापदण्ड

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने