काठमाडौं – गर्मी मौसममा अन्य समयको तुलनामा बढी स्वास्थ्य समस्याहरू देखिने गर्छन्। गर्मी मौसममा विभिन्न प्रकारका संक्रमणको जोखिम उच्च हुने चिकित्सकहरू बताउँछन्। खानेकुरा तथा पानीमा विभिन्न जीवाणु मिसिन गई हैजा, हेपाटाइटिस, डेंगु लगायतका रोग फैलिन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।
विगतमा गर्मी मौसममा अन्य समयको तुलनामा धेरै भोजहरू आयोजना हुने तथा भोजमा खाएकामध्ये ५० प्रतिशत वान्ताका कारण सिकिस्त हुने गरेको अनुभव डा. पुन सुनाउँछन्। खानेकुराहरू नै दूषित तथा असुरक्षित भएका कारण गर्मीमा धेरैजसो रोगहरू देखिने उनको तर्क छ। सन् २०१५ मा नेपालमा जारको पानीबाट हैजा फैलिएको तथ्यलाई स्मरण गराउँदै डा. पुनले अहिले पनि जारको पानीमा 'फेकल कोलिफर्म' भेटिएको कुराहरू आइरहेकाले सजगता अपनाउन आग्रह गरे।
गर्मीको केही समयपछि मनसुन सुरु हुने बेला किटजन्य रोगको जोखिम बढ्न सक्ने पुन बताउँछन्। पछिल्लो समय 'फूड पोइजनिङ'को समस्या बढ्दै गएको डा. पुनले जानकारी दिए। खानेकुरा तथा पानीको मात्रालाई सन्तुलित गर्न नसकेमा पनि फूड पोइजनिङको समस्या आउन सक्ने उनको जिकिर छ। सकेसम्म जारको पानीलाई पनि उमालेर मात्रै पिउन डा. पुन सुझाव दिन्छन्। गर्मीको समयमा मागअनुसार जारको पानी प्रशस्त उपलब्ध नहुने कारण कतिपय व्यापारीले दूषित पानी बजारमा प्याकिङ गरेर पठाउने गरेकोले सजग हुन उनको अनुरोध छ।
कुन रोगबाट कसरी बच्ने?
१. झाडापखाला
गर्मीसँगै वर्षात् पनि सुरु हुन्छ। यतिबेला पानीका स्रोतहरू दूषित हुने सम्भावना बढी हुन्छ। मान्छे तथा जनावरका दिसा-पिसाबका साथै अन्य दूषित स्रोतबाट पानी असुरक्षित हुन्छ। त्यस्तो पानी सिधै पिउँदा झाडापखाला र आउँ जस्ता रोग देखा पर्छन्। मान्छे तथा जनावरको दिसामा पाइने ‘कोलिफर्म’ कीटाणुले आउँ र मासी पर्न सक्छ। सडेका, गलेका, बासी तथा झिँगा भन्किएका दूषित खानाबाट पनि झाडापखाला लाग्न सक्छ।
लक्षणहरू: बारम्बार दिसा लाग्ने, पेट दुख्ने, वान्ता हुने र शरीर गल्ने जस्ता लक्षण देखिन्छन्। आउँको समस्या छ भने दिसा गर्दा रगत देखा पर्ने र पूरै दिसा ननिस्किएको जस्तो महसुस हुने हुन्छ।
बच्ने उपाय: पिउने पानीलाई उमालेर वा फिल्टर गरेर मात्र प्रयोग गर्ने। पानीका मुहानहरू सफा राख्ने, ताजा खाना खाने र बासी खाना खानुपरे राम्ररी तताएर मात्र खाने। खुल्ला ठाउँमा दिसा-पिसाब नगर्ने। झाडापखाला लागेपछि शरीरमा पानीको कमी हुने भएकाले पुनर्जलीय झोल (जीवनजल) बनाएर पटक-पटक पिउनुपर्छ। निरन्तर पखाला लागिरहेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर उपचार गर्नुपर्छ। अदुवा, लसुन र ज्वानोको प्रयोगले पाचन प्रणालीलाई बलियो बनाउँछ। एक गिलास पानीमा एक चम्चा ज्वानो भिजाएर पिउँदा पेट सफा हुन्छ।
२. टाइफाइड
टाइफाइड ‘साल्मोनेला टाइफी’ जीवाणुले हुने रोग हो, जुन दूषित पानी वा खानाबाट सर्छ। वर्षायाममा खानपानमा ध्यान नदिँदा यो रोगको सम्भावना बढ्छ।
लक्षणहरू: निरन्तर ज्वरो आउने, अत्यधिक पसिना आउने, जाडो हुने, थकान, पेट दुख्ने, खान रुचि नहुने, कब्जियत वा पखाला लाग्ने र वान्ता हुने हुन्छ। केही दिनपछि छातीको तल्लो भाग र पेटमा राता बिबिराहरू देखिन सक्छन्।
बच्ने उपाय: स्वच्छ खानेकुरा खाने र शुद्ध पानी पिउने गर्नुपर्छ। फलफूल र तरकारीलाई राम्ररी धोएर मात्र खानुपर्छ। शौचालय सफा राख्नुपर्छ। टाइफाइड विरुद्धको खोप लगाउनु पनि यसबाट बच्ने उत्तम उपाय हो। धेरै दिनसम्म ज्वरो आएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ।
३. डेंगु
डेंगु 'एडिस' जातको पोथी लामखुट्टेले सार्ने गर्छ। पछिल्लो समय यो रोग बढिरहेको देखिन्छ। प्रायः वर्षायाम सकिनै लाग्दा भदौ र असोजमा यसको प्रकोप धेरै देखिने गरेको छ। डेंगु नियन्त्रणका लागि अहिलेदेखि नै सावधानी अपनाउनु आवश्यक छ।
लक्षणहरू: उच्च ज्वरो आउने, जोर्नी तथा शरीर दुख्ने, टाउको दुख्ने, शरीरमा रातो दाग देखिने र गम्भीर अवस्थामा शरीरका विभिन्न भागबाट रक्तस्राव हुने समस्या देखिन्छ।
बच्ने उपाय: लामखुट्टे नियन्त्रण र यसको टोकाइबाट बच्नु नै मुख्य उपाय हो। घर वरपर पानी जम्न नदिने, ड्रम तथा अन्य भाँडाहरूमा लामो समयसम्म पानी जमाएर नराख्ने, राति सुत्दा झुलको प्रयोग गर्ने, लामखुट्टे भगाउने क्रिम लगाउने र बाहिर निस्कँदा शरीर ढाकिने (लामो बाहुला भएको) कपडा लगाउने।
४. हेपाटाइटिस
विभिन्न खालका हेपाटाइटिसमध्ये हेपाटाइटिस 'ए' र 'ई' भाइरल संक्रमण दूषित पानी र खानाबाट सर्छ। यसले कलेजोलाई असर गर्छ र जन्डिसको समस्या निम्त्याउँछ।
लक्षणहरू: छाला र आँखा पहेँलो हुने, पिसाब गाढा पहेँलो हुने, थकान महसुस हुने र भोक नलाग्ने।
बच्ने उपाय: बाहिरको र बासी खाना नखाने। फलफूल र तरकारी राम्ररी धोएर मात्र खाने। मदिरा सेवन नगर्ने। पिउने पानीको शुद्धतामा ध्यान दिने र प्रशस्त झोलिलो कुरा खाने।
प्रतिरक्षा प्रणाली (इम्युनिटी) बलियो बनाउने उपायहरू
रोग लाग्न नदिन शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन आवश्यक छ। यसका लागि निम्न कुरामा ध्यान दिनुपर्छ:
१. पोषणयुक्त र सन्तुलित खानपान
भिटामिन सी: सुन्तला, कागती, अम्बा र गोलभेंडा जस्ता भिटामिन सी युक्त फलफूलले सेतो रक्तकोषिका निर्माणमा मद्दत गरी संक्रमणविरुद्ध लड्ने शक्ति दिन्छन्।
भान्छाका मसला: बेसार, अदुवा, लसुन र मरिच जस्ता मसलाले शरीरमा एन्टि-अक्सिडेन्टको काम गर्छन्।
प्रशस्त पानी: शरीरलाई हाइड्रेटेड राख्न र विषाक्त पदार्थ बाहिर निकाल्न पर्याप्त पानी पिउनु आवश्यक छ।
२. सक्रिय जीवनशैली
नियमित व्यायाम: दैनिक कम्तिमा ३० मिनेट शारीरिक व्यायाम गर्नाले रक्तसञ्चार सुधार हुन्छ र प्रतिरक्षा प्रणाली सक्रिय रहन्छ।
पर्याप्त निद्रा: शरीरको मर्मत र रोगसँग लड्ने क्षमता सुदृढ गर्न दैनिक ७ देखि ८ घण्टा गहिरो निद्रा लिनु अपरिहार्य छ।
३. मानसिक स्वास्थ्य र अन्य बानीहरू
तनाव व्यवस्थापन: धेरै तनाव लिँदा शरीरमा 'कोर्टिसोल' हर्मोन बढ्छ, जसले रोग प्रतिरोधी क्षमता कमजोर बनाउँछ। त्यसैले सकारात्मक चिन्तन र ध्यान गर्नुपर्छ।
सफाइमा ध्यान: नियमित हात धुने र व्यक्तिगत सरसफाइमा ध्यान दिँदा कीटाणुहरूको प्रवेश रोक्न सकिन्छ।
कुलतबाट टाढा: मद्यपान र धुम्रपानले शरीरको प्राकृतिक रक्षा प्रणालीलाई नष्ट गर्ने हुनाले यसबाट टाढै रहनुपर्छ।