कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्री तथा प्रदेशसभा सदस्यसहित १६५ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
बिहीबार प्रदेशसभा सदस्य, कर्मचारी र सुरक्षाकर्मी गरी १६५ जनाको ‘नोजल स्वाब’ सङ्कलन गरिएको थियो । जेठ ११ गते प्रदेशसभाको आह्वान गरिइएको छ।
मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले ‘नोजल स्वाब’ दिएका थिए।
त्यसैगरी कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्तीलगायत ४० प्रदेशसभा सदस्य, सुरक्षाकर्मी, मर्यादापालक कर्मचारी, सवारी चालक र केही पत्रकारसहित १६५ जनाको ‘नोजल स्वाब’ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा चेतनारायण अधिकारीले जानकारी दिए।
प्रदेशसभा सचिव जीवराज बुढाथाकीले सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको र यसले निर्धारित मितिमा बैठक शुरु हुने जानकारी दिए। उनले प्रदेशसभाभित्र प्रवेश गर्ने सबैले अनिवार्य मास्क, पञ्जा लगाउनुपर्नेछ । सामाजिक दूरी कायम गरेर सदस्यहरुलाई आशनग्रहण गराउने तयारी भइरहेको बताए। सामाजिक विकासमन्त्री दल रावलले प्रदेशसभा सचिवालयलाई कोभिड–१९ विरुद्ध अपनाउनुपर्ने सबै सावधानीमा सरकारले सहयोग गर्ने बताए। रासस