डा अर्जुनहरि रिजाल
हरेक दिन बिहान ब्युँझिएर रेडियो बजाउनुस्, टिभी खोल्नुस् सबैतिर एकै खालको विषयवस्तु सुन्न पाउनुहुन्छ। करिब ६ महिनाअघिदेखिको दैनिकी नै भएको छ यो। भाइरस, सङ्क्रमण, रोग, रोगी अनि मृत्यु यिनै शब्दहरुको साथ बिहानी सुरु हुन्छ र यिनै शब्दहरुको साथ साँझ पर्दै दिनको अन्त्य हुन्छ।
हो, अहिले विश्व नै आतङ्कित भएको छ, एउटा भाइरसको सङ्क्रमणले- कोरोना भाइरस। चीनको वुहान सहरबाट गत डिसेम्बर महिनामा सुरु भएको श्वासप्रश्वास सम्बन्धी लक्षण सहितको सङ्क्रमण क्रमशः विश्वभरि नै फैलिइसकेको छ।
कोरोनाको सङ्क्रमण विश्वभरि फैलिँदै जाँदा नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन। नेपालमा पहिलो पटक चीनबाट आएका व्यक्तिमा माघ ९ गते कोरोना सङ्क्रमण देखिएको थियो। विश्वका सबै राष्ट्र कोरोनाको महामारीसँग जुधिरहँदा नेपालमा खासै बिरामीको सङ्ख्या देखिइरहेको थिएन। पहिलो सङ्क्रमण देखिएको करिब एक महिनापछि मात्र दोस्रो सङ्क्रमण देखिएको थियो।
लामो समयसम्म बिरामीको सङ्ख्या नबढेकोमा पिसिआर टेस्टको सङ्ख्या बढेसगैँ समुदायमा रहेका सङ्क्रमितको पनि सङ्ख्या उल्लेख्य रुपमा बढ्दै गहिरहेको छ। यसै अवधिमा मृत्यु हुनेको सङ्ख्या ३ जना पुगेको छ। मृत्यु सँगसँगै जनमानसमा तनावको स्थिति पनि बढ्दै गइरहेको छ।
कोरोनाको महामारीको कारणले स्वास्थ्य क्षेत्र अस्तव्यस्त भएको छ। अस्पतालको नियमित ओपिडी सेवा करिब २ महिनादेखि बन्द भएको छ। के निजी, के सरकारी सबै अस्पतालहरुको अवस्था उस्तै रहेको छ। अस्पतालको सेवा आकस्मिक अवस्थाहरुको उपचार गर्नुमा सीमित भएको छ। यस अवस्थामा बिरामीको नियमित वा लामो समयदेखि रहेको रोगको उपचारमा पनि बाधा उत्पन्न भएको छ। चैत महिनाको दोस्रो हप्ताबाट सुरु भएको बन्दाबन्दी पनि लगभग २ महिना पुग्न लागिसकेको छ। कतिपय अस्पतालले आकस्मिक उपचारको निम्ति अनलाइनको व्यवस्था पनि गरेका छन्।
मेडिकल क्षेत्र मात्रै हैन, कोरोना महामारीबाट हाम्रो स्वास्थ्य क्षेत्रको अभिन्न अङ्गको रुपमा रहेको मुख स्वास्थ्य पनि अछुतो रहन सकेको छैन। बन्दाबन्दीको समयमा मुख तथा दाँत सम्बन्धी रोगहरु अनि आकस्मिक समस्या पनि बढ्ने सम्भावना रहेको छ।
अहिलेको अवधिमा दन्त चिकित्सकहरु कोरोनाको सङ्क्रमणको जोखिममा उच्च विन्दुमा रहेका छन्। दन्त उपचारको क्रममा प्रयोग हुने मेसिनहरुबाट, धेरै उपचार विधि जस्तै: दाँत सफा गर्ने, दाँतको जरैदेखि उपचार गर्ने, दाँत निकाल्ने आदिबाट साना-साना तरल र ठोस कणहरु सहितको एरोसोल उत्पन्न हुन्छ। जुन बिरामीमार्फत स्वास्थ्यकर्मी वा स्वास्थ्यकर्मीमार्फत बिरामी जसमा पनि सर्ने सम्भावना धेरै नै हुन्छ।
दन्त उपचार विधि चिकित्सक, सहयोगी अनि बिरामी एकदमै नजिकै रहेर गरिने उपचार हो, जसमा करिब ३ मिटरको दूरी कायम गर्न एकदमै कठिन हुन्छ। पिपिई चिकित्सकले लगाए पनि बिरामीलाई उपलब्ध गराउन अहिलेको अवस्थामा एकदमै गाह्रो रहेको छ। त्यसैले उपचारको क्रममा उत्पादन भएको एरोसोल उपचार कक्षभित्र नै हुने सम्भावना धेरै हुन्छ। जुन पिपिई नलाएको बिरामीमा सजिलै सर्न सक्छ। त्यसैले अहिलेको अवस्थामा डेन्टल क्लिनिक तथा अस्पतालहरु यो किसिमको व्यवस्था गर्नको लागि असक्षम रहेका छन्।
बन्दाबन्दीको अवधि करिब २ महिनाको हाराहारीमा पुग्न लागिसकेको छ। क्लिनिक अनि अस्पतालहरुको अवस्था पहिलेको भन्दा झनै दयनीय हुँदै गइरहेको छ। बिरामीको लागि पिपिई व्यवस्था गर्न सक्ने अवस्था एकदमै कम छ। मानिस बाहिर निस्किन पाएका छैनन्। यो समयमा दाँत तथा मुख सम्बन्धी समस्या आएमा के गर्ने भन्ने खुल्दुली सबैको मनमा रहेको हुन्छ।
कति समयमा त सामाजिक सन्जाल तथा फोनमा सोधिने क्रम बढ्दै गइरहेको छ। तर पनि मानिसको जिज्ञासाको समाधान भइरहेको छैन। जनमानसमा दाँत तथा मुख सम्बन्धी आकस्मिक समस्याहरु के हुन्, कुनकुन समस्या आउँदा अस्पताल जाने, कुनकुन समस्या हुँदा घरबाटै चिकित्सकसँग परामर्श लिने भन्ने बारेमा जिज्ञासा रहिआएको पाइन्छ।
दाँत तथा मुख सम्बन्धी आकस्मिक अवस्था
१, सहनै नसकिने गरेर दाँत दुखेमाः किराले खाएको दाँत नसा छुने अवस्थामा पुगेमा दाँत सहनै नसकिने गरेर दुख्न सक्छ। दाँतको दुखाइ मुखको अन्य भागमा सरेको अवस्था तथा दुखाइ कम गर्ने औषधि खाँदा पनि कम नभएमा नजिकैको अस्पताल वा क्लिनिकमा सम्पर्क राख्नुपर्छ।
२, अत्यधिक मात्रामा रक्तश्राव भएमा वा रगत नरोकिएमा
३, दुर्घटना वा अन्य कारणले दाँत भाँचिएमा वा झरेमा
४, सङ्क्रमण वा चोटपटकको कारणले गर्दा अनुहार, गाला वा घाँटी वरिपरि सुन्निएर थुक निल्न वा श्वास फेर्न गाह्रो भएमा
५, विभिन्न कारणले गर्दा मुखको हड्डी भाँचिएमा वा पूरै मुख बन्द भएमा
माथि देखिएका समस्याहरु देखिएमा छिटोभन्दा नजिकैको अस्पताल वा क्लिनिकमा गएर चिकित्सकसँग सल्लाह लिनुपर्छ तथा उचित उपचार गराउनु पर्छ।
कुनकुन समस्या आकस्मिक होइनन्
१, दन्तेलेउ तथा दन्तेपत्थरको कारणले गर्दा देखिने फोहोर दाँत
२, किराले खाएको तर नदुख्ने अवस्था
३, मुख तथा गालाको भित्र आउने अल्सर
४, बुद्धि बङ्गाराको वरिपरि हुने सामान्य इन्फेक्सन
५, कृत्रिम दाँत लगाउने काम
६, बाङ्गोटिङ्गो भएर मिलाउन पर्ने दाँत
आकस्मिक बाहेकका अन्य समस्याहरुको लागि अहिलेको समयमा अस्पताल जानु हुँदैन। अस्पताल जानु भनेको रोगको नजिकै जानु जस्तै हो। त्यसैले सामान्य समस्याको उपचारको निम्ति टेलिफोनमार्फत जानकारी लिन सकिन्छ। सामाजिक सन्जालको उपयोग गरेर विभिन्न अस्पताल वा क्लिनिकले उपलब्ध गराएको हटलाइनमार्फत पनि उक्त रोगहरुको बारेमा जानकारी लिन सकिन्छ।
बन्दाबन्दीको समयमा नियमित प्रक्रियाहरु सबै अवरुद्ध भएका छन्। मानिसको दैनिकी सबै नै परिवर्तन भएको छ। यस समयमा दाँत तथा मुख सम्बन्धी समस्या आउन नदिने उपाय भनेको नै आफ्नो बानी सुधार्नु हो। आफ्नो दन्त स्वास्थ्यको लागि केही समय निकालेर यी कार्यहरु गर्न सकिन्छ, जसले दाँत तथा मुखको समस्या हुनबाट बचाउँछ।
- दिनको दुई पटक खाना खाइसकेपछि उपयुक्त तरिका प्रयोग गरेर दाँत माझ्ने गर्नुपर्छ। दाँत माझ्नको लागि प्रयोग गरिने ब्रसको अवस्था पनि ख्याल राख्नुपर्छ। विगत ३/४ महिनादेखि एउटै ब्रस प्रयोग गरिरहेको छ भने तुरुन्तै नयाँ किनेर प्रयोग गर्नुपर्छ। साथसाथै फ्लोराइडेटेड पेस्टको प्रयोग गर्नुपर्छ, जसले दाँतलाई मजबुत बनाउँछ। दाँत माझ्नुको अलावा हरेक पटक खाना खाइसकेपछि राम्रोसँग कुल्ला गर्नुपर्छ, जसले दाँतमा दन्तेलेउ जस्तो फोहोर बस्न दिँदैन।
- दाँतको बीचबीचमा रहेका फोहोर ब्रस गर्दा ननिस्किन सक्छ, त्यसैले डेन्टल फ्लस, इन्टरडेन्टल ब्रसको प्रयोग गरेर निकाल्न सकिन्छ।
- यदि बुद्धि बङ्गाराको वरिपरिको गिजाको सामान्य इन्फेक्सन भएर सुन्निएको छ भने गिजाको वरिपरि राम्रोसँग सफा गर्ने, मनतातो पानीले कुल्ला गर्ने, माउथवासको प्रयोग पनि गर्न सकिन्छ। दुखाइ कम गर्नको लागि पारासिटामोलको प्रयोग गर्न सकिन्छ। यदि कोरोनाको सङ्क्रमण नभएको खण्डमा आइब्रुपोफिनको पनि प्रयोग गर्न सकिन्छ।
- पहिल्यैदेखिको दाँतमा भरिएको फिलिङ टुक्रिन सक्छ, टुक्रिएको छ तर दुखाइ छैन भने केही समय कुर्न सकिन्छ। यो अवस्था इमर्जेन्सी हैन, त्यसैले आत्तिनु हुँदैन।
- सामान्य दाँत दुखेमा दुखाइ कम गर्ने औषधिको प्रयोग गर्नुपर्छ तर ल्वाङको तेल तथा अन्य रासायनिक पदार्थहरु कहिल्यै दाँतमा राख्नु हुँदैन। यदि राखिएको खण्डमा सँगैको गाला तथा गिजा पाछिन सक्छ। साथै गाला/गिजाको घाउ भएर इन्फेक्सन पनि हुनसक्छ।
- दाँतको झन्झनाहट बढेको खण्डमा कम गराउने पेस्टहरुको प्रयोग गर्नुपर्छ।
- खानेकुराहरुमा पनि विशेष ध्यान दिनुपर्छ। दाँतमा टाँसिने खानेकुराको प्रयोग एकदमै कम गर्नुपर्छ। साथै गुलिया खानेकुराको खपत पनि कम गर्नुपर्छ।
- एन्टिबायोटिक, माउथवास, दुखाइका धेरै डोजका औषधि खानु वा प्रयोग गर्नुभन्दा अगाडि सधैँ दन्तचिकित्सकको सल्लाह लिनुपर्छ।
- दाँत तथा मुखसम्बन्धी समस्याहरुको बारेमा जानकारी लिनको निम्ति नजिकैको अस्पताल, क्लिनिक वा दन्तचिकित्सकको सम्पर्क ठेगाना र फोन नम्बर लिइराख्नुपर्छ।
अहिलेको कोरोनाको महामारीको समयमा दन्तचिकित्सा अनि दन्तचिकित्सकहरु एकदमै जोखिममा परिरहेको अवस्था छ। चिकित्सक र सहायक स्वास्थ्यकर्मीले आवश्यक सावधानी अपनाउन उपयुक्त र मापदण्ड अनुसारका उपकरणको अभाव चुनौतीको रुपमा खडा छ। गुणस्तरको त कुरा छाडौं, सामान्य मास्क र स्यानिटाइजर समेत बजारमा पाइँदैन।
उपचारको क्रममा उत्पादन हुने एरोसोलले कोरोना भाइरसको सङ्क्रमण गराउन ठूलो भूमिका खेल्छ। उपचारको लागि प्रयोग हुने सामग्री, डेन्टल चेयरको निर्मलीकरण गर्न हुने समस्या, उपचार कक्षको निर्मलीकरणमा हुने समस्याहरुको कारणले पनि जोखिम बढाइरहेको हुन्छ। यस्तो जोखिमपूर्ण अवस्थामा उपचार गर्नुपर्ने अवस्था रहेकोले सकेसम्म अस्पताल जानु नै नपर्ने अवस्थाको लागि पहल गर्नु नै जोखिमबाट बच्ने उत्तम उपाय हो।
सामान्य समस्याहरु घरमै बसेर चिकित्सकको सल्लाहमा समाधान गरौँ, आकस्मिक अवस्थामा मात्रै अस्पतालको ढोका ढक्ढक्याउँ। महामारीको समयमा आफू, आफ्नो परिवार तथा समाजलाई जोगाउन एक जिम्मेवार नागरिकको भूमिका निभाऔ। स्वस्थ रहौँ, खुसी रहौँ। कोरोनालाई जित्ने लडाईंमा स्वास्थ्यकर्मीलाई साथ दिऔँ।