डा बिडी चौरसिया
आजभोलि अभिभावकले आफ्नो समाजिक हैसियत देखाउन होस् वा हरेक दिनको घरेलु वा व्यावसायिक काम-काजको व्यस्तताका कारण, बच्चाको हातमा मोबाइल वा ल्यापटप दिने गरेका हुन्छन्। बच्चालाई यस्ता सामग्री दिएर बाबुआमा पारिवारिक जिम्मेवारीबाट बच्न र समाजिक प्रतिष्ठालाई बढाउन लागिपरेका छन्।
आजभोलि सानोभन्दा सानो बच्चा रोयो वा खाना खान मानेन भने मोबाइल/ल्यापटप देखाएर मनाउने वा खाना खुवाउने गरिन्छ। यो खराब बानी सुरुदेखि नै घरबाट सिकाइन्छ, जसको कारण अहिलेको लकडाउनको समयमा बच्चाहरुको बानी नै दिनभरि मोबाइल/ल्यापटप चलाउने भइसकेको छ। यसको सबैभन्दा बढी असर बच्चाको आँखा र दिमागमा पर्छ। जस्तै :
• सानो-सानो कुरामा रुने-कराउने वा छिटो-छिटो रिसाउने
• मोबाइल बिना एक ठाँउमा शान्तले नबस्ने वा सुस्त बस्ने
• पढाइ/लेखाइमा मन नलाग्ने इत्यादि।
लामो समयसम्म मोबाइल/ल्यापटप चलाउने वा एकोहोरो ढङ्गले लामो समय पढाइ/लेखाइ गर्नाले पनि बच्चाको आँखा कमजोर हुने सम्भावना बढी हुन्छ। जसले गर्दा नजिकका सबै कुरा सफा देखे पनि टाढाको सफा नदेखिने समस्या हुन सक्छ।
सबैभन्दा गाह्रो कुरा के हो भने आँखाको समस्या न अभिभावकले चाँडै थाहा पाउँछन् न त बच्चाहरुले नै। किनकी बच्चाहरुको बढी समय नजिकको काममा नै बित्ने गर्छ। जस्तै: कोठामा बसेर पढ्ने/लेख्ने, मोबाइल/ल्यापटप चलाउने वा टिभी हेर्ने।
त्यसैले आँखाको समस्या पत्ता लगाउन अभिभावकले आफ्ना बच्चामा तल उल्लेखित लक्षणहरुमा ध्यान राख्नुपर्ने हुन्छ:
• मोबाइल वा टिभी धेरै नजिकबाट हेर्ने
• थोरै टाढाको सामान वा मानिस चिन्नको लागि आँखा सानो परेर हेर्ने वा घाँटी टेढो गरेर हेर्ने
• आँखा धेरै झिम्काउने वा आँखा धेरै माँड्ने
• पढ्न/लेख्न बसेको बेला थोरै समयमा टाउको दुख्ने वा आँखाबाट आँसु आउने इत्यादि।
आँखाको समस्याबाट बच्चालाई बचाउन धेरै महत्वपूर्ण छ। किनभने यो समस्या सुरु भएमा र समयमै सावधानी नअपनाइएमा दिन-दिनै बच्चाको आँखा कमजोर हुँदै जान्छ। यसको कारण बच्चामा दृष्टिदोष हुने र आँखा टेढो हुने सम्भावना हुन सक्छ। जसले गर्दा बच्चाको पढाइ/लेखाइका साथ-साथै मानसिक विकासमा पनि नकारात्मक असर पर्ने र भविष्यमा कुनै काम गर्दा आत्मबल कमजोर हुने हुन्छ। जसले परिवार र समाजमा नकारात्मक असर पार्न सक्ने सम्भावना हुन सक्छ।
कुनै बच्चाको आँखामा यस्तो समस्या हुन नदिन पहिलो जिम्मेवारी अभिभावकको हुन्छ। त्यसैले तपाईंको बच्चाको आँखामा यो समस्या हुन नदिन वा समस्या भएमा त्यसलाई बढ्न नदिन तल उल्लेखित उपायहरु अपनाउनु पर्ने हुन्छ:
९० मिनेटको खेल:
घर अगाडिको खुला ठाँउ/बारी वा लकडाउनको समयमा घरको आँगन वा छत, घामको उज्यालो आउने ठाउँमा (घरको अभिभावकहरुको रेखदेखमा) हरेक दिन कम्तीमा ९० मिनेट आफ्नो बच्चालाई कुनै खेल वा सामान्य काम सिकाई प्रोत्साहन गर्नुस। विभिन्न वैज्ञानिक अनुसन्धान अनुसार घामको उज्यालोले बच्चाको आँखाको समस्यालाई बढ्न नदिने देखाएको छ। तर घामको किरण सिधा बच्चाको आँखामा नपरोस्। यो कुरा अभिभावकहरुले ध्यान दिनुपर्ने हुन्छ।
६० सेन्टिमिटरको दूरी
नजिकको कुनै काम जस्तै: पढ्ने/लेख्ने वा मोबाइल/ल्यापटप बच्चाले चलाउँदै छ भने ध्यान राख्नुहोस् कि कम्तीमा ५०-६० सेन्टिमिटरको दुरी कायम होस्। यसले बच्चाको आँखामा कम असर पर्ने सम्भावना हुन्छ।
३० मिनेटमा ब्रेक
बच्चाले एकहोरो रुपमा पढ्ने/लेख्ने काम गर्दैछन् भने हरेक आधा घण्टामा (३० मिनेटमा) थोरै समयको लागि भए पनि ब्रेक/आराम गर्नुपर्ने र बच्चाहरुले मोबाइल/ल्यापटप चलाउँदैछन भने एकचोटिमा ३० मिनेटभन्दा बढी चलाउन नदिने भन्ने कुराको ध्यान अभिभावकले राख्नुपर्ने हुन्छ।
उज्यालो हुनुपर्ने
नजिकको कुनै काम जस्तै पढ्ने/लेख्ने वा मोबाइल/ल्यापटप बच्चाले चलाउँदै छ भने घाम वा बत्तिको उज्यालो प्रशस्त मात्रामा होस्। जसले बच्चाको आँखामा कम असर पर्ने सम्भावना हुन्छ।
यसका साथै समय-समयमा बच्चाको आँखा जाँच गराउनु पर्छ। लकडाउनको समयमा अभिभावकले यी कुरामा ध्यानमा राखे बच्चाको आँखाको साथ-साथ पढाइ/लेखाइ र मानसिक विकासमा सकारात्मक असर पर्ने छ। जसले तपाईंको परिवार र समाजलाई अघि बढाउन सहयोग गर्नेछ। स्वस्थ्य रहौँ, सुखी रहौँ।
(डा चौरसिया आँखा रोग विशेषज्ञ हुन्)