अन्तर्वार्ता

९३ संक्रमित निको बनाएको नारायणी अस्पतालका मेसु डा उपाध्याय भन्छन्- पूर्वतयारी बिना सम्भव थिएन

वीरगञ्जस्थित नारायणी अस्पतालले अहिलेसम्म ९३ जना संक्रमितलाई उपचारपछि घर पठाउन सफल भएको छ। अहिले पनि ९ जना संक्रमितको उपचारमा यो अस्पताल दिनरात खटिरहेको छ। तर यो त्यति सहज छैन। 

नेपालमा कोरोना देखिएसँगै नारायणी अस्पतालले संक्रमितको उपचारका लागि पूर्वतयारी अघि बढाएको थियो। ५ शय्याबाट आईसोलेसन वार्ड सुरु गरेको अस्पतालमा हाल ७० शय्या क्षमता छ। तर संक्रमितको चाप अनुसार यो क्षमता पर्याप्त होइन। 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्याय भन्छन्, ‘पूर्व तयारी र सफल नेतृत्व बिना महामारीको सामना गर्न सकिँदैन।’ ९३ संक्रमितलाई निको बनाउनु कतिको चुनौतीपूर्ण थियो? कर्मचारी व्यवस्थापन कसरी भइरहेको छ? यीलगायतका विषयमा हामीले डा उपाध्यायसँग कुराकानी गरेका छौं। प्रस्तुत छ, डा उपाध्यायसँग गरिएको कुराकानीको सम्पादित अशं:

नारायणी अस्पतालले ९३ जना संक्रमितलाई निको बनाएर घर पठाएको छ। यो कत्तिको चुनौतीपूर्ण थियो?
कोरोना संक्रमितको उपचारका लागि हामीले पाँच शय्याबाट सुरु गरेका थियौं। अहिले ७० जना संक्रमितको उपचार गर्ने हाम्रो क्षमता छ। संक्रमितहरुको उपचारमा यस अस्पतालका स्वास्थ्यकर्मी खटिरहनु भएको छ। संक्रमितहरुलाई आईसोलेट गर्ने, हेरचाह गर्ने, उहाँहरुको अवस्था अवलोकन गर्ने काम गर्छौं। हामीले २४सै घण्टा उहाँहरुको मनिटरिङ गर्ने गर्छौं।

आवश्यकताअनुसार संक्रमितको औषधि उपचार गर्छौं। आवश्यक नहुनेलाई खानपिनमा र हेरचाहमा बढी जोड दिने गरेका छौं। यस अस्पतालले बिहान र बेलुकी खाना र दिउँसो खाजा दिने गरेकामा अहिले दाताकै सहयोगमा भएपनि हामीले केही पौष्टिक खानेकुराहरु उपलब्ध गराउन सकेका छौं। योसँगै आईसोलेसनभित्रै संक्रमितलाई व्यायाम तथा योगा गर्न पनि परामर्श गछौं।

उहाँहरु बिरामी होइन, संक्रमित हो। त्यहीमाथि सबैजसो संक्रमित लक्षणविहीन हुनुहुन्छ। त्यसैले पनि उहाँहरु निको भएर घर जान सफल हुनु भएको हो। 

९३ जना संक्रमित निको भए। बाँकी संक्रमितको उपचारमा खटिरहनुभएको छ। नेपालको लागि यो सबै नयाँ विषय हो। यी सबै कुराबाट तपाईहरुले के सिक्नुभयो?
यो क्रममा हामीले धेरै कुराहरु अनुभव गर्न र सिक्न पाएका छौं। कुनै पनि विपत्तिको सामना गर्न पूर्व तयारीको आवश्यक पर्ने रहेछ। नेपालमा जब पहिलो संक्रमित भेटियो। त्यो समयदेखि नै हामीले तयारी सुरु गरेका थियौं। 

संक्रमितको उपचारका लागि पाँच शय्याको आईसोलेसन वार्ड बनाएका थियौं। ड्युटी गर्ने कर्मचारीको रोष्टम पनि बनाएका थियौं। अस्पतालले ४० थान पिपिई पनि खरिद गरेर राखिसकेको थियो। 
त्यो समय संक्रमित उपचारका लागि आउँछन् या आउँदैनन् भनेर थाहा थिएन। तर हामी संक्रमितको उपचारका लागि तयार भइसकेका थियौं। हाम्रो पूरा टिम तयारी अवस्थामा थियो। चैत ६ गतेबाट यस अस्पतालमा संक्रमित भर्ना हुन सुरु भएको हो। 

हामीले पूर्व तयारी गरेकै कारण एकैपटक १८ जना संक्रमित आउँदा व्यवस्थापन गर्न समस्या हुन्थ्यो। त्यसैले म आफैं पनि पूर्वतयारीमा थिएँ। २५ शय्याको इमरजेन्सी कक्ष हाम्रो अहिले पनि तयारी अवस्थामा छ। पूर्वतयारी सबैभन्दा महत्वपूर्ण पाटो हुने रहेछ। किनभने यस किसिमको महामारी कहिले कसरी आउँछ भन्ने कुराको अनुमान लगाउन सकिँदैन। मलाई लाग्छ, नेपालमा योभन्दा पनि अझै बढी संक्रमित बढ्छन्। त्यसैले त्यो अवस्थाको लागि पनि तयार हुनुपर्नेछ।

अर्को महत्वपूर्ण पक्ष भनेको 'टिम वर्क' रहेछ। कुनै पनि काम सफल बनाउन 'टिम वर्क' चाहिन्छ। नेतृत्वको भूमिका पनि धेरै महत्वपूर्ण हुने रहेछ। त्यसैले यदि सफल नेतृत्व र टिम वर्क भए कुनै पनि विपत्तिको सामना गर्न सकिदो रहेछ। त्यसमा स्वास्थ्यकर्मीलाई उत्प्रेरणाको आवश्यक पनि उत्तिकै पर्छ। जसमा सरकारले सुरक्षाको व्यवस्था लगायतमा जोड दिनुपर्छ। 

स्थानीय निकायबाट समन्वय भएन भन्ने तपाईंहरुको गुनासो थियो। यो समस्या अहिले पनि उस्तै छ कि समाधान भयो?
महामारीको यो घडीमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारको भूमिका निकै महत्वपूर्ण हुन्छ। तर त्यो भूमिका उनीहरूले निर्वाह गरेको पाएनौं। सुरुदेखि नै समन्वय र सहकार्यको कमी भएको हामीले महसुस गरेका छौं। हामीलाई यो अस्पताल प्रदेशको पनि होइन, स्थानीयको पनि होइन भन्दै पन्छिन खोज्ने या सौतेनी व्यवहार गरे। 

सुरुमा प्रदेश र स्थानीय सरकार पन्छिन खोजेपनि अहिले हामीले काम गर्दै गएपछि केही समन्वय हुन थालेको छ। सुरुमा जसले हामीलाई सहयोग गर्न इच्छा देखाएका थिएनन्, उनीहरु अहिले पिपिई उपलब्ध गराउनेदेखि लिएर अन्य सहयोग गर्न तयार पनि भए। सहयोग गर्छु भन्नेहरु पनि आएका छन्। 

हामीलाई सुरुवाती चरणमा प्रादेशिक र स्थानीय सरकारबाट जुन किसिमको सहकार्य र समन्वयको आवश्यकता थियो, त्यो हामीले पाएनौं। अहिले विस्तारै पाउँदै गएका छौं। तर जति समन्वयात्मक भूमिका हुनुपर्ने हो, त्यति चाहिँ अहिलेसम्म पनि छैन। कसले सुरु गर्ने भन्नेमै अड्किरहेको छ। 

नारायणी अस्पतालमा स्वास्थ्यकर्मी र अन्य जनशक्ति कसरी परिचालन गर्नु भएको छ। यसको व्यवस्थापन कत्तिको चुनौतीपूर्ण छ?
सबैभन्दा ठूलो चुनौती भनेको कर्मचारी व्यवस्थापन हो। अस्पतालभित्रको कर्मचारी र युनिटबाट सहयोग पाउन थालेका छौँ। तर जति हुनुपर्ने हो, त्यो भने छैन। कोरोना संक्रमितको भूमिका मेडिसिन विभाग र डाक्टर गर्नुपर्छ भन्ने मात्र होइन। अन्य स्वास्थ्यकर्मीले पनि आफ्नो तर्फबाट उत्तिकै सहयोगी भूमिका निर्वाह गर्न सक्छन् र त्यो महत्वपूर्ण पनि छ। 

अहिले करीब १ सय ५० जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली कोरोना संक्रमितको उपचारका लागि खटिइरहनु भएको छ। जसमध्ये केही टोली एक हप्ता ड्युटी गरेर २/३ हप्ता क्वारेन्टाइनमा बसेर फेरि उहाँहरु नै ड्युटीमा आउनुपर्ने बाध्यता छ। हामीले हरेक हप्ता स्वास्थ्यकर्मीको टोली 'रोटेसन' गर्ने गरेका छौं। 

विदेश र नेपालमा देखिएका संक्रमितको अवस्था र उपचारमा के फरक पाउनु भएको छ?
मुख्य कुरा बुझाईमा फरक छ। कोही संक्रमित भएर आएपछि २४सै घण्टामा चिकित्सक उनीहरुसँग भइदियोस् भन्ने चाहना गर्छन्। तर आवश्यकताअनुसार मात्र चिकित्सक तथा स्वास्थ्यकर्मी जाने हुन्।

उनीहरु बिरामी नभई संक्रमित हुन्। तर उनीहरू बिरामीलाई जस्तै गरी २४सै घण्टा चिकित्सक त्यहाँ हुनुपर्छ भन्ने चाहना हुन्छ। हामीहरुले उनीहरुलाई आईसोलेट गर्ने, मनिटरिङ र हेरचाह गर्ने गर्छौं। यो प्रक्रिया प्रायः सबै अस्पतालहरुमा एउटै हुन्छ। 

बाहिरी मुलुकमा पोजेटिभ केसहरु पनि घरमै उपचार भइरहेको छ। लक्षण देखिएका बाहेक अन्य लक्षणविहीन संक्रमितको घरमै उपचार हुने गरेको छ। तर नेपालमा भने लक्षण नदेखिएका सबै संक्रमितलाई पनि अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था छ। त्यसैले बिरामीको बुझाईमा भिन्नता हो।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने