काठमाडौं- स्याङजा जिल्ला अस्पतालले आइसोलेसन वार्डमा रहेका कोरोना संक्रमितको रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि आयुर्वेद औषधिको प्रयोग सुरु गरेको छ।
अस्पतालले संक्रमितलाई जीवनशैली परामर्श योगसँगै रोग प्रतिरोधात्मक क्षमता बढाउन जडिबुटी चिया र आयुर्वेद औषधिको प्रयोग सुरु गरेको हो। प्रयोग गरिएका औषधिले संक्रमित व्यक्तिमा रोगसँग लड्ने क्षमता बढाउन सहयोग गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङजाका आयुर्वेद चिकित्सक डा. सुभद्रा कार्कीले बताइन्।
उनका अनुसार आयुर्वेदिक औषधिले कुनै नकारात्मक प्रभाव नपार्ने र जुडिबुटीमा भएका रासायनिक पदार्थमा एन्टी अक्सिडेन्ट, इम्युनोमोडुलेसका साथै एन्टीइन्फालामेटरी गुण पाइएको छ। यो माइल्ड मोडरेट संक्रमितका लागि सुरक्षित रहेको डा. कार्कीले जानकारी दिइन्।
सरकारीले जारी गरेको आयुर्वेद एवं वैकल्पिक चिकित्साबाट कोभिड १९ रोकथाम एवं व्यवस्थापन सम्बन्धी निर्देशिक बमोजिम हाल आईसोलेसनमा रहेका चार जना संक्रमितलाई आयुर्वेद औषधिको प्रयोग गरिएको उनले बताइन्।
संक्रमितहरुमा अहिले अश्वगन्धा, तुलसी, गुर्जो र महासुदर्शन चुर्ण जस्ता जडिबुटी एवं आयुर्वेद औषधिको प्रयोग गरिएको छ। संक्रमितको तनाब व्यवस्थापनका लागि योग र प्राणयम पनि सुरु गरिएको अस्पतालले जनाएको छ।
आईसोलेसन व्यवस्थापनको अनुगमनका क्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले अस्पतालसँग समन्वय गरी अन्य जिल्लामा पनि यसको अनुसरण गर्ने बताए। उनीसँगै स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्मा, मन्त्रालयका नीति योजना कानून तथा जनस्वास्थ्य महाशाखा प्रमुख शम्भु ज्ञवाली पनि अस्पताल पुगेका थिए।