विचार/ब्लग

विश्व धूमपान रहित दिवस: धूमपानले धमिलिएको स्वास्थ्य

प्रेचन थपलिया

विश्वमै धूमपान ठूलो समस्या एवं चुनौतीको विषय भइरहँदा पनि यसको सेवन गर्नेको संख्या भने दिन प्रतिदिन बढ्दै गएको छ। धूमपान तथा मदिरा सेवन गरेर आफूलाई साहसी, बहादुर र स्वतन्त्रताको अनुभूति युवा जमातको कमी छैन।

धूमपान एक प्रकारको दुर्व्यसन हो। धूमपानको रूपमा प्रयोग गरिने सुर्तीजन्य पदार्थले मानिसको स्वास्थ्यमा हानिकारक असर पारेको छ। धूमपानले शारीरिक तथा मानिसक स्वास्थ्यमा मात्र नभई व्यक्तिगत विकास, आर्थिक, सामाजिक, पारिवारिक र सांस्कृतिक क्षेत्रमा पनि नकारात्मक असर पारेको छ।

संसारभर हरेक दिन १५ अर्बभन्दा बढीको चुरोट र अन्य सुर्तीजन्य पदार्थ बिक्री भएको हुन्छ, जसमा हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनकै कारण हुने गर्छ। तर पनि हामी धूमपान सेवन नगरी स्वतन्त्र भएको महसुस गर्दैनौं। यसलाई व्यक्तिगत हेलचेक्र्याईं भन्ने कि ज्ञानको कमि?

सुर्तीजन्य पदार्थमा करिब ४ हजारभन्दा बढी प्रकारका रासायानिक तत्व पाइन्छन्। जसमा २ सयदेखि ४ सयसम्मका हानिकारक रसायानहरू हुन्छन्। मादक पदार्थ, सुर्तीजन्य तत्वमा खोटो र कार्बन मनोअक्साइड जस्ता प्राणघातक रसायान र नियमित सेवन गर्दा लत लगाउने तत्वहरू पाइन्छन्।

सुर्तीजन्य पदार्थको असरबारे (डब्लुएचओ) ले भनेको छ- सुर्तीजन्य पदार्थको सेवनले मानव शरीरमा २५ किसिमका विभिन्न रोगहरु लाग्न सक्छन्। विश्वमा धूमपानको कारणले प्रत्येक ७ सेकेण्डमा १ जनाको मृत्यु हुन्छ। विश्वमा सुर्तीजन्य पदार्थको प्रयोगबाट हरेक वर्ष ६० लाख मानिसको मृत्यु हुन्छ, जसमध्ये ६ लाखको अरुले सेवन गरेको धूमपानको असरले  मृत्यु हुने गरेको छ। यो क्रम बढेर आगामी १५ वर्षमा ८० लाख मानिसको मृत्यु हुने र यसमध्ये अधिकांशको मृत्यु नेपाल जस्तो विकासशील देशहरुमा हुनेछ।

विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) को प्रतिवेदन अनुसार सन् २०३० सम्ममा प्रतिवर्ष १ करोडको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारणले हुनेछ, जसमा ६० लाख विकासोन्मुख राष्ट्रहरु मात्र हुनेछन्।

नेपालमा पनि प्रतिवर्ष २७ हजार व्यक्तिको धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनको कारणले मृत्यु भइरहेको छ। (डब्लुएचओ )का अनुसार नेपालमा ४९ प्रतिशत पुरुष र २९ प्रतिशत महिला धूमपान गर्छन्। संसारमा १ अर्बभन्दा धेरै मानिस सुर्तीजन्य पदार्थको सेवन गर्छन्।
      
धूमपानले संसारका बालबालिकामध्ये आधाले सूर्तीको धुँवाको असरले प्रदूषित हावामा शवास फेर्छन्। बीसौं सताब्दीमा १० करोड मानिसको सुर्तीजन्य पदार्थको कारणले मृत्यु भएको थियो र हालको जस्तै अवस्था रहेमा २१औं शताब्दीमा १ अर्ब मानिसको मृत्यु हुनेछ।

सन् २०३० देखि हरेक वर्ष ८० लाखभन्दा धेरै मानिसको मृत्यु सूर्तीजन्य पदार्थको सेवनले नै हुन्छ। नियमित धूमपान सेवन गर्दा सेवन गर्नेलाई मात्र नभई सँगै भएका व्यक्तिलाई पनि उत्तिकै असर गर्छ, जसलाई प्यासिभ स्मोकर भनिन्छ। आफूले गरेको क्रियाकलापले अरूलाई असर गर्छ भने त्यसलाई एक प्रकारको अपराधभन्दा फरक नपर्ला।

नियमित धूमपान गर्दा आफ्नो स्वस्थ रहने अधिकार पखालिँदै जान्छ र विभिन्न रोगको सिकार भइन्छ। जस्तै: फोक्सोको क्यान्सर, स्तन क्यान्सर, गर्भपतन, नवजात शिशुको वृद्धि विकास नहुने, छालाचाउरी पर्ने, श्रवणशक्ति कमजोर हुने, दाँत बिग्रने, दम बढ्ने, खोकी लाग्ने, मुटु, कलेजो सम्बन्धी रोगहरु लाग्ने, रक्तचाप बढाउने, पेट र आन्द्रामा अल्सर हुने जस्ता रोग लाग्ने गर्छ।

धूमपानमा फस्न जति सजिलो भए पनि त्याग्न भने सहज छैन। यसको लागि आफूमा अनुशासन र आत्मबल हुन जरुरी छ। विभिन्न उपाय अपनाएर धूमपान सेवनबाट छुटकारा पाउन सकिन्छ। जस्तै: चुरोट खाने बेला ल्वांङ, सुकुमेल चपाउने, आफूलाई व्यस्त राख्ने, नियमित व्यायाम गर्ने, पानी प्रशस्त पिउने, धूमपान सेवन गर्ने वातावरणबाट टाढा बस्ने, अनावश्यक तनाव नलिने जस्ता उपाय अपनाउन सकियो भने भोलिका दिनमा कोही पनि धूमपानको सिकार हुँदैन।

अन्तर्राष्ट्रिय जगतमा हरेक वर्ष धूमपान रहित दिवस मनाए पनि आफू स्वास्थ्य रहन प्रत्येक व्यक्तिले दैनिक यो दिवस मनाउनु जरुरी हुन्छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने