डा सम्मोद आचार्य
विश्वमा एकातिर रोबोटिक्सबाट गरिने कलेजो, मिर्गौला, मुटु, फोक्सोको प्रत्यारोपण अनि उच्च क्षमता भएका कम्प्युटरद्वारा औषधिका सम्भावित काम गर्ने लक्ष्य पत्ता लगाउने तथा ती लक्ष्यमा भनेको जस्तो प्रभाव देखाउन सक्ने अणुहरुका मोडेल तयार गर्ने र त्यसैमा जग बनाएर औषधि पत्ता लगाउने जस्ता यन्त्रमा भर पर्ने विधाको व्यापक विकास भएको छ। अर्कोतिर, विश्वमै सबैभन्दा प्राचीन भइकन आज पनि व्यापक रूपमा साधारण समस्याका लागि घरायसीदेखि अरु कुनै चिकित्सा पद्धतिले ठिक गर्न नसकेका रोगसम्ममा प्रयोग हुने आयुर्वेदको सर्वाङ्गिण चिकित्सा प्रणालीको बारेमा पनि व्यापक चासोमात्र हैन, प्रयोग र अनुसन्धान पनि बढ्दो छ।
घाटे वैद्य भनेर जानिने घाटमा बिरामीको प्राण कति समयमा जानसक्छ बनेर बताउने परम्परागत वैद्यहरुको उपचारले कति आधुनिक अस्पतालमा अब केही हुन सक्दैन भनेर पठाइएका बिरामी घाटबाटै ठिक भई घर गएर वर्षौं बाँचेका उदाहरण पनि हाम्रै वरपर छन्।
यसै प्रसङ्गमा क्यानेडियन लेखक टोड क्याल्डेकटले आयुर्वेदका आधारभूत सिद्धान्तको पश्चिमी जगतमा परिचय दिन लेखेको सन् २००६ मा प्रकाशित प्रसिद्ध पुस्तक 'आयुर्वेद : द डिभाइन साइन्स'को भूमिकामा आफू कसरी आयुर्वेदको अध्ययनतिर लागेँ र १० वर्षको मिहिनेतले यस्तो ग्रन्थ लेख्न सक्ने आयुर्वेद-चिकित्सक पनि बनेँ भनेर गरेको वर्णन स्मरणीय छ। उनी लेख्छन्, 'सन् १९९२ मा भारत र पश्चिम एसियाको भ्रमण गरेर स्वदेश फर्केपछि मलाई कडा किसिमको रगतमासीले दु: ख दियो। डाक्टरहरुले मलाई पाचन प्रणालीको दीर्घकालीक समस्या भनेर भने। धेरै उपचार गरे पनि। तिनको उपचारले नभएर विभिन्न खालका वैकल्पिक चिकित्साको शरण पनि परेँ। आखिरमा तिनले खासै फाइदा नभइराखेकोमा केरलाबाट आएका आयुर्वेदिक चिकित्सकको उपचारले मलाई यो समस्याबाट राम्ररी मुक्ति दियो। उनको उपचार पद्धतिबाट म यति प्रभावित भएँ कि मैले जीवनमा आयुर्वेदका कुरा आफ्नो क्षमताले भ्याउनेसम्म सिक्ने पनि अठोट गरें। पहिले मैले निजी रूपमा उहाँसित पढ्दै पश्चिमी वनस्पति चिकित्साको ३ वर्षे पढाइ गरें। त्यतिले मेरो यो विद्याप्रतिको भोक मेटिएन र १९९६ मा म मेरी पत्नी र १ वर्षको छोरा लिएर यो चिकित्साशास्त्र पढ्न भारततिर लागें।'
औपचारिक रूपमा आयुर्वेदिक चिकित्सक बनेर क्यानडामा सेवा दिइरहेका क्याल्डेकट धेरै पश्विमी आयुर्वेद-चिकित्सकका प्रतिनिधि पात्र हुन्। यो लेखकको अनुभवमा पनि आधुनिक चिकित्सकहरुका लागि आयुर्वेदको उपयुक्त प्रारम्भिक पुस्तकका रूपमा यो पुस्तकलाई लिन सकिन्छ।
आयुर्वेदका काय-चिकित्सा, शल्य-चिकित्सा, शालाक्य, कौमारभृत्य, अगदतन्त्र, रसायन, वाजीकरण, भूतविद्या गरी आठ अङ्ग छन्। आयुर्वेदका मुख्य ग्रन्थमध्ये एक चरकसंहितामा आयुर्वेदको सिद्धान्त हाम्रै हिमालयको काखमा बसेर ऋषिहरुको सम्मेलनले प्रतिपादित गरेको कुरा वर्णित छ र ठाउँठाउँमा हिमालय क्षेत्रका वनस्पति अरु क्षेत्रका भन्दा प्रभावकारी वा गुणकारी भएको कुरा पनि बताइएको छ।
विश्वमा नै अब शल्यचिकित्साका पिताका रूपमा महर्षि सुश्रुतको नाम विख्यात छ। उनको सुश्रुत संहितामा आजभोलिका जस्तै शल्यचिकित्साका औजारहरु र मिल्दाजुल्दा आँखाको मोतिविन्दु हटाउने, प्लाष्टिक सर्जरीका, मूत्रासयको पत्थरी निकाल्ने प्रक्रियाका जस्ता धेरै प्रक्रियाहरु वर्णित छन्। अथर्ववेद आयुर्वेदीय उपचारको उल्लेख भएको सबै भन्दा पुरानो ग्रन्थ मानिञ्छ।
आयुर्वेदका वात, पित्त, कफ जस्ता त्रिदोष वा खाद्य पदार्थ वा औषधिका रस, विर्य, विपाक जस्ता मूलभूत सिद्धान्तको परिचय दिनु यहाँ सम्भव छैन र त्यो यस लेखको उद्देश्य पनि हैन। तर किन आयुर्वेदिक उपचार पद्धतिप्रति विशेष गरी आधुनिक चिकित्साशास्त्र मात्र पढेका चिकित्सकहरुमा उदासिनता, शङ्का वा कतिपयमा यसले केही काम गर्दैन, उल्टो हानि गर्न सक्छ भन्ने धारणा छ भन्ने कुरा भने केही विश्लेषण गर्नु आजको सन्दर्भमा अत्यावश्यक देखिएको छ र लेखक स्वयं आयुर्वेदको औपचारिक शिक्षा नपाएको तर संस्कृत शिक्षा पाएको र आयुर्वेदको स्वाध्ययनमा लागेको आधुनिक चिकित्साशास्त्री भएकाले यो कुरा जनसाधारण र खुला सोच राख्न सक्ने अनि बिरामीको हितलाई नै सर्वोपरि राख्ने चिकित्सक वर्गलाई उपयोगी हुने विश्वास पनि गरिएको छ।
बुझ्नै पर्ने कुरा के हो भने रोगको उत्पति, विकास र उपचारको मूलभूत सिद्धान्तमा आयुर्वेदको सिद्धान्त एक किसिमले अलि पुरानो आधुनिक सिद्धान्त जसमा मुख्य रूपमा एउटा कारणले रोग लाग्छ र त्यसका विरुद्ध काम गर्ने औषधि प्रभावकारी हुन्छ भन्ने सिद्धान्तभन्दा धेरै नै व्यापक र अब बुझ्न थालिएको व्यक्तिको शारीरिक, मानसिक अवस्थाले र इनले गर्दा प्रतिरोध क्षमता र वातावरणको कारण र जीवनशैलीको कारणले पनि रोग लाग्छन् र सबै किसिमका कारण बुझेर सम्पूर्ण उपचार गर्नु नै सबैभन्दा प्रभावकारी हुन्छ भन्ने सिद्धान्तसित लगभग ठ्याक्कै मिल्न आउँछ।
अहिलेको विश्वव्यापी महामारीको प्रसङ्गमा केही व्यापारिक र प्रभुत्त्ववादी स्वार्थसित जोडिएका बाहेक अरु सबैको ध्यान कि आ-आफ्ना परम्परागत जडिबुटी कि सर्वाङ्गिण चिकित्सा विज्ञानको रूपमा प्रसिद्ध हाम्रो प्राचीन चिकित्साशास्त्र आयुर्वेदतिर निकै नै गएको छ चाहे त्यो मडागास्कर होस् वा चीन नै होस्।
भारतका प्रसिद्ध मुटु शल्यचिकित्सक शङ्करन वालियाथनले आफ्नो परिश्रम, लगनशीलता र आयुर्वेदको परम्पराप्रति श्रद्धा र विश्वास राखेर तथा आयुर्वेदको सर्वाङ्गिण चिकित्सा पद्धतिका रूपमा महत्त्व देखेर वृद्ध भइसकेपछि सक्नेसम्मको गहिरो अध्ययन, मनन, चिन्तन गरेर आयुर्वेदका बृहत्-त्रयी (ठूला ३ मूल ग्रन्थ) भनिने ग्रन्थहरु चरक-संहिता, सुश्रुत संहिता र अष्टाङ्गहृदयममाथि छुट्टाछुट्टै ३ मौलिक विश्लेषणात्मक ग्रन्थ (अनुवाद धेरै समयदेखि नै उपलब्ध भए पनि) लेखेर आधुनिक चिकित्साशिक्षा पाएका चिकित्सकहरुको लागि समेत आयुर्वेदका र आयुर्वेदीय शल्यचिकित्साका समेत सिद्धान्त र प्रयोग बुझ्न र तिनका आधार बुझ्न सहयोग गरेका छन्। यो उदाहरणले पनि आधुनिक चिकित्सा सिद्धान्त बुझेरसँगै आयुर्वेदको सिद्धान्त बुझ्न सकिन्छ र यिनलाई एक अर्काका परिपूरकका रूपमा प्रयोग गरेर रासायनिक औषधिको प्रयोग कम गर्दै रासायनिक उद्योगहरुले पनि ठूलो भूमिका खेलेको वातावरण विनासको चपेटाबाट मानवसमाजलाई बचाउने र स्वस्थ राख्ने दिशामा महत्त्वपूर्ण उपलब्धि प्राप्त गर्न सकिने ठूलो सम्भावना बारे बुझ्न सकिञ्छ। रोगप्रतिरोधी क्षमता (व्याधिक्षमत्व) को सिद्धान्त पश्चिममा नयाँ भए पनि आयुर्वेदमा अति प्राचीन भएको कुरा चरकसंहितामा यसको सिद्धान्त वर्णन गरिएकाले थाहा हुन्छ।
आजको सन्दर्भमा आयुर्वेदको प्रयोग व्यापक बनाउने आवश्यकताका बारेमा कुरा गर्नुअघि दुईथरी विचार वा पक्षमा छोटो चर्चा गर्नु आवश्यक देखिएको छ। आयुर्वेदिक औषधि वा घरेलु परम्परागत रूपमा समाजमा चलेर विभिन्न समस्या वा रोगका लागि प्रयोग गरिने जडीबुटीहरु (जरीबुटी) को रोगहरुमा खासै प्रभाव हुँदैन। ती विना दृढ आधार केही विकल्प नभएर प्रयोग गरिएका मात्र हुन् भन्ने वा औषधिमा विषाक्त वस्तु मिसिन सक्ने वा ठिकसित कतिपय रसादी औषधि नबनाउँदा हुने गलत प्रभाव नबुझिकनै आयुर्वेदि औषधिले धेरै रोगमा हानि गर्ने वा विशेष गरी मिर्गौला वा कलेजो बिगार्नेसम्म गर्न सक्छन् भन्ने ती दुई पक्ष हुन्।
आयुर्वेदमा प्रयोगबाट प्रमाणित नभएका परम्परागत शास्त्रीय उपचार मात्र छन् भन्ने पनि भ्रम व्यापक देखिन्छ। तर यो विल्कुल सत्य होइन। एकातिर आयुर्वेदका मूल शास्त्रीय ग्रन्थ कसरी बने र तिनमा बताइएका विभिन्न वनस्पति आदि औषधिका गुण र प्रयोग कसरी निश्चित गरिए भन्ने कुरा साधारण आधुनिक विज्ञानको विकासको क्रमसित तुलना गरेर हेर्नेहरुको दृष्टिमा आश्चर्यजनक छ। तर त्यो आश्चर्यलाई ऋषिमुनिको ज्ञानमा सोझै विश्वास गर्न नसक्ने वा नचाहनेहरुका लागि पनि विश्वासमा परिणत गर्न र उपलब्ध औषधिमा कुन अवस्थामा के को प्रयोग गर्नु उत्तम हुन्छ भनेर चिकित्सकहरुलाई ज्ञान दिन पनि विभिन्न कालमा रोगीहरूको उपचार गर्ने लामो अनुभव र दखल भएका चिकित्सकहरुले अनुभूत-चिकित्सा अर्थात् अनुभवले खारिएका वा प्रमाणित भएका औषधिको रोगसहितको विवरणका ग्रन्थ लेखेर गर्ने परम्परा पनि बनेको हो।
आधुनिक दृष्टिमा आश्चर्य मान्नु पर्ने कुरा यस्ता प्राकृतिक स्रोतबाट सोझै प्राप्त बहुयौगिक औषधिका यौगिकहरु छुट्याएर प्रयोगशालामा वा मानिसमा चिकित्सकीय परीक्षण गर्दा हाम्रा प्राचीन ग्रन्थले भनेका धेरै प्रभावहरू मिल्न आउनुलाई मान्न सकिन्छ। केही भष्मजस्ता औषधि बाहेक एउटै वनस्पतिको एउटा भाग मात्र नै स्रोत भए पनि आयुर्वेदिक औषधिहरुमा कुनै अपवाद विना दसौं वा अझ भनौं सयौं यौगिकका अणुहरु हुञ्छन् (जस्तै: अमला चूर्ण) जुन आधुनिक एक मात्र औषधीय यौगिकयुक्त औषधिहरु जो आजभोलि धेरैजसो कि त प्रयोगशालामा संश्लेषित गरिएका नयाँ अणुका रूपमा अथवा प्राकृतिक रूपमा पाइने अणुमा केही परिवर्तन गरी बनाइएका अणुका रूपमा बनाइने औषधिभन्दा कार्य गर्ने प्रक्रियामा धेरै फरक हुने तथ्य कुनै आश्चर्य मान्नुपर्ने कुरा होइन।
आधुनिक अध्ययनका प्रमाणहरु पनि अब व्यापक रूपमा उपलब्ध भएका छन्। उदाहरणका लागि धेरै रैथाने औषधि विज्ञान समाजबाट रैथाने औषधि विज्ञान नामक अन्तर्राष्ट्रिय अनुसन्धान पत्रिका सन् १९७९ देखि निरन्तर प्रकाशित छ भने फाइटोथेरापी रिसर्च भन्ने अर्को विश्वप्रसिद्ध अनुसन्धान पत्रिका सन् १८८७ देखि निरन्तर प्रकाशित छ। यी र अरु धेरै आयुर्वेदसित सम्बन्धित अनुसन्धान पत्रिकामा फरम्परागत जरिबुटी र तिनमा भएका यौगिकहरुका प्रभावकारिताका विषयमा आधुनिक विज्ञानले बुझ्ने प्रमाणहरु जम्मा भएका छन्। जेठिमधुमा हुने मुख्य यौगिकको सार्स (सार्स १)सम्बद्ध कोरोना भाइरसविरुद्ध जर्मनीको प्रयोगशालामा गरिएको परीक्षणमा धेरै प्रभावकारी भएको नतिजा प्रसिद्ध अनुसन्धान पत्रिका दि लान्सेट्मा २००३ मा प्रकाशित भएको एउटा उदाहरण मात्र हो।
वास्तवमा भन्ने हो भने कतिपय कडा खालका आयुर्वेदीय औषधिमा मात्रा मिलाएरै सेवन गर्दा पनि कसै कसैलाई गम्भीर पार्श्व प्रभाव (साइड इफेक्ट) देखिने भए पनि धेरै औषधिहरु भने कुनै रोग वा समस्याका लागि प्रयोग गर्दा अरु धेरै किसिमले फाइदा पुग्ने सम्भावना प्रशस्त हुन्छ। उदाहरणका लागि अमला चूर्ण नै लिऊँ । अपच वा अम्लपित्तका लागि अमला चूर्ण लिँदा यसबाट धेरै खनिज र भिटामिन तथा अरु शरीरका विभिन्न अङ्ग तन्दुरुस्त राख्न समेत सहायता पुग्छ, मधुमेहका लागि भनेर गुर्जो खाँदा सङ्क्रमणविरुद्ध लड्ने क्षमता र पिसाब पोल्ने जस्तो समस्या पनि ठिक हुन्छ।
औषधीय चिकित्सकीय परीक्षणको कुरा गर्दा जीवनशैली खानपान आदिमा परिवर्तन गर्नु आयुर्वेदीय उपचारको अभिन्न अङ्ग भएकाले आधुनिक परीक्षणमा सर्वोत्तम मानिने औषधि उपचार गर्ने र बिरामी दुवै पक्षलाई थाहा नदिई गरिने परीक्षण साधारणतया आयुर्वेदीय उपचारका हकमा गर्नु सम्भव नहुने वा भए पनि त्यसबाट राम्रोसित पूरै चिकित्साको लाभको नतिजा सही नआउने हुनसक्छ भन्ने कुरा पनि यहाँ बुझ्नु अति नै उचित हुन्छ।
गोमन सर्पको विरुद्ध आयुर्वेदिक चिकित्सकको आश्चर्यजनक परीक्षण
सामान्यतया आयुर्वेदको परम्परामा बिरामीमा प्रयोग गरेर अनुभवका आधारमा उपलब्ध हुनसक्ने अनुभूत उपचारका विषयमा ग्रन्थ वा लेख लेखेर अरु चिकित्सक र बिरामीलाई लाभ पुगोस् भन्ने सदाशय राखिने प्रचलन रहेको कुरा देखिन्छ। आधुनिक परीक्षणका पद्धतिको विकास भएपछि सो अनुरूप परीक्षण गर्ने प्रचलन भारत आदि देसमा व्यापक रूपमा विगत केही दशकदेखि आएको छ। करिब ५० वर्ष पहिले एउटा सुदूर क्षेत्रमा काम गर्ने एक आयुर्वेद-चिकित्सकले देखाएको मौलिक र वैज्ञानिक किसिमले परीक्षणको एउटा अनौठो उदाहरणले हामी सबैलाई आश्चर्यचकित गराउन सक्छ।
विसं २०२९ सालमा नेपालको आयुर्वेद-चिकित्सक-समाजबाट प्रकाशित 'आयुर्वेद' पत्रिकाको विशेषाङ्कमा नेपालका आयुर्वेद चिकित्सक रामआदर शर्माले गोमन सर्पको विषको प्रभावलाई निष्क्रिय गराउने भनेर जानिएको सजिलै प्राप्त हुने प्याउली फूलबाट निर्मित रसको जिउँदा गोमन सर्प समातेर सङ्कलन गरिएको विषमा जिउँदा भ्यागुता डुबाएर थी भ्यागुतामा विषको प्रभाव देखिइसकेपछि सो रसमा डुबाएर औषधिको प्रभाव अध्ययन गरी यो उपचारबाट ती भ्यागुता पुन: स्वस्थ भएको देखाउने अनुसन्धान प्रकाशित गरेका थिए। तर आज पनि यसको परिणाममा अरु चिकित्सकीय अध्ययन र प्रयोगको काम अगाडि नबढ्दा आयुर्वेद क्षेत्रले दिनसक्ने ठूलो योगदान दिन नपाएको र आधुनिक उपचार पाउन ढिला हुने वा नपाउने स्थितिमा यो भयानक सर्पको टोकाइबाट जनसाधारणको ज्यान गइराख्ने दुर्भाग्यपूर्ण स्थिति रहिरहेको छ। यो पनि एउटा सुलभ औषधिको प्रमाणीकरण र प्रयोगको अभावको एउटा उदाहरण मात्र हो। अरु धेरै रोगहरूको उपचारको पनि यस्तै अवस्था रहेको हुनसक्ने सम्भावना प्रशस्त छ।
तत्काल लिन सकिने दिशा
यसरी आयुर्वेदले स्वस्थको स्वास्थ्यको रक्षा गर्ने, आयु बढ्दै जाँदा हुने शारीरिक क्षयको गति घटाउने तथा विभिन्न रोगको उपचारमा गरी आजभोलिको सर्वाङ्गीण चिकित्सासास्त्रका आवश्यक सबै पक्षमा अत्यन्त धनी चिकित्सा विधाका रूपमा देशको आर्थिक अवस्थालाई पनि उपचारको खर्चमा तथा औषधिको आयातमा कमी ल्याएर ठूलो योगदान दिनसक्छ भन्ने कुरा सबै पक्षले बुझेर यसको सदुपयोगका लागि कार्य गर्न ढिलाइ गर्न नहुने स्पष्ट हुन्छ।
आयुर्वेदका मात्र नभई चिकित्साका स्नातक तह र त्यसमुनिका सबै पाठ्यक्रममा तह सुहाउँदो रूपमा आयुर्वेदका वात, पित्त, कफ जस्ता त्रिदोषका र औषधिका रस, विर्य, विपाक जस्ता मूलभूत सिद्धान्तको तथा दिनचर्या, ऋतुचर्या जस्ता स्वस्थ व्यक्तिलाई स्वस्थ राख्न्न सहयोग गर्ने नियमहरुको अनि नियमित खान सकिने अमला, हर्रो, ब्राह्मी जस्ता जडिबुटी र मरिच, अदुवा, बेसार, टिम्मुर, ज्वानो, जस्ता मसलाका गुण र विभिन्न समस्यामा प्रयोग गर्ने तरिकाको बारेमा ज्ञान समावेश हुनुपर्ने देखिन्छ। चिकित्साशास्त्र पढ्नुअघि सबैलाई दुई वर्ष विज्ञान पढ्दा वनस्पतिशास्त्र पनि पढाइन्छ तर शिक्षा पद्धति नै पढ्ने परीक्षा दिने र बिर्सने भएकाले र पाठ्यक्रम हाम्रो आवश्यकता र सर्वाङ्गिण लाभ हेरेर नबनाइएकाले त्यो पढाइको सदुपयोग हुन पाएको देखिँदैन। वास्तवमा जताततै पाइने तर महत्त्वपूर्ण औषधीय वनस्पति राम्ररी चिनाउने कामसम्म पनि यो पढाइले गरेको छैन, जुन कुरा त्यो पाठ्यक्रममा समावेश गर्नु अति नै उपयुक्त र आवश्यक पनि देखिन्छ।
हाम्रो देशभित्र उत्पादन गर्न सकिने वास्तविक रूपमा देशलाई औषधिमा आत्मनिर्भर बनाउनेतर्फ लाग्ने एकमात्र सम्भावना बोकेको र देसको स्वास्थ्य र ठूलो धनराशि जोगाउने मात्र होइन, आधुनिक औषधिका अनावश्यक प्रयोगबाट हुने हानिबाट बच्न लामो प्रयोगबाट खारिएका शास्त्रीय र अनुभवसिद्ध आयुर्वेदिक औषधिको पूर्ण रूपमा गुणस्तर कायम गरेर उत्पादन गर्नेतर्फ ध्यान दिनु अत्यावश्यक छ। सामान्य खोकीमा पनि विदेशबाट आएका आयुर्वेदिक भनिने र आधुनिक औषधिका बोत्तलमा करोडौं खर्च हुनबाट रोक्न साधारण स्वास्थ्य शिक्षामा व्यापक सुधार गरी शिक्षामा घरबारिमा सजिलै पाइन सक्ने साधारण घरेलु औषधिको ज्ञान जीवनजलको ज्ञान जस्तै गरेर दिने काम गर्नुपर्छ। घरैमा भएको महले साधारण पोलेको घाउमा रामवाणको काम गर्नसक्छ र पाक्न र फोका उठ्नबाट पनि रोक्छ भनेर परम्पराले सिकाएको कुरा प्रमाणित हुँदा पनि जनताले सिक्न नपाउनु सही उपचार नपाएको र दु:ख, पीडामा बाँच्नुपर्ने स्थिति विडम्बना नै हो। धेरै दीर्घरोगहरु विशेष गरी पेट र आन्द्राका दीर्घरोग वा मधुमेह जस्ता रोगमा सस्तो र स्थानीय रूपमा सजिलै उपलब्ध हुनसक्ने आयुर्वेदिक उपचार पनि अरु सबै नियमको पालन गरेमा प्रभावकारी हुनसक्ने कुरा पनि स्मरणीय छ।
निष्कर्षमा भन्दा देश र जनताको भाग्य र स्वास्थ्य निर्माण गर्न एकातिर गाउँघरका हजारौं पाटा, पाखा र खेतबारीमा स्थान र वातावरण अनुसार अदुवा, हलेदो, अलैँची, पिप्ला, टिम्मुरदेखि हर्रो, बर्रो अमला चिराइतो गुर्जो, घोडटाप्रे, रुदिलो, तितेपाती जस्ता सयौं औषधिले हराभरा पार्दै देशका युवावर्ग देशमा बसेर काम गर्ने वातावरण बनाउने र अर्कोतिर प्रशोधित औषधि निर्माण गर्ने सानाठूला उद्योग व्यापक रूपमा खोलेर रोजगारीका व्यापक अवसरका साथै कच्चा पदार्थ थोरै मूल्यमा विदेश पठाएर प्रशोधित औषधि धेरै मुल्यमा किन्ने घाटाको व्यापार क्रमश: बन्द हुने स्थिति ल्याउने कार्य गर्नुपर्छ। यसरी आयुर्वेद र स्थानीय परम्परागत जडिबुटीको ज्ञानको संरक्षण र प्रवर्धन गर्नु समृद्धि र दिगो विकासको समेत आधार बन्न सक्छ।
[डा. आचार्य आयुर्वेदको स्वाध्ययनमा विशेष रुचि राख्ने औषधि -चिकित्साविज्ञान ( Clinical Pharmacology)का विशेषज्ञ चिकित्सक हुन्]