डा श्रवणकुमार मिश्र
कोभिड-१९ संक्रमित नेपालीमा देखिएका लक्षण र रोग प्रतिरोधात्मक क्षमता विश्वका अरु देशमा भन्दा फरक छ। पिसिआर परीक्षणबाट पोजिटिभ देखिएका धेरै बिरामीमा लक्षण नै देखिएको छैन।
अस्पतालमा भर्ना भएका बिरामीमा पनि कोभिड-१९ को लक्षण नदेखिने र केही संक्रमितमा देखिएका लक्षण पनि अरु रोगजस्तै मौसमी रुघाखोकी, एलर्जीमा देखिने खोकी, झाडा पखाला र बान्ता आउने अर्थात् कोभिड-१९ मा देखिनेभन्दा बाहेकका लक्षण देखिएका छन्।
नेपालमा पहिलो संक्रामित केस १५ दिनमा डिस्चार्ज भएको थियो। उसमा लक्षण भए पनि नरम लक्षण (माइल्ड) मात्र देखिएको थियो। त्यो टिपिकल कोभिड-१९ को लक्षण थिएन।
नेपालमा संक्रमित भएपछि निको हुने औसत समय अवधि २१ देखि २५ दिनको छ।
के नेपालीको शरीरमा यो भाइरस विरुद्ध लड्ने प्रतिरक्षा शक्ति (इम्युनिटी) बढी छ?
प्रारम्भिक तथ्यांकलाई केलाउँदा नेपालीमा भाइरस विरुद्ध लड्ने प्रतिरक्षा शक्ति (इम्युनिटी) बढी देखिन्छ।
भाइरस संक्रमण भइसकेपछि यसको विरुद्धमा दुई खालको एन्टिबडी बन्छ- आइजिजी र आइजिएम। रोगको संक्रमण भएको सातदेखि १० दिनको बीचमा बन्ने एन्टिबडी आइजिएम बन्छ। संक्रमण भएको १५ देखि २० दिनको अवधिमा आइजिजी बन्छ।
नेपाली संक्रमित निको भएर घर जाँदा जाँच गर्ने क्रममा आइजिजी हेर्छौं। नेपालमा देखिएको पहिलो केस १५ दिनमा डिस्चार्ज भएको थियो। उनमा लक्षण भए पनि माइल्ड लक्षण मात्र थियो। त्यो टिपिकल कोभिड-१९ को लक्षण थिएन।
नेपाली संक्रमित कम्तीमा १५ र बढी ३८ दिनसम्ममा निको भएर घर गएका छन् भने औसत रुपमा २१ देखि २५ दिनभित्र निको भएर घर गएका छन्।
अरु देश र हाम्रो देशका संक्रमितको कुरा गर्ने हो भने धेरै कुरा मिल्दैन। त्यसैले बाहिरी देश र हाम्रो देशका संक्रमितको तुलना गरेर आत्तिने अवस्था छैन। अर्को अरु देशमा गरिने अनुसन्धानबाट भएको नतिजा नेपालको लागि उपयुक्त नहुने समेत देखिन्छ।
नेपाली संक्रमितमा किन लक्षण नभएको होला?
यो नेपालमा बारम्बार सोधिने प्रश्न हो। किनभने चीन र भारतमै पनि कोरोना पुष्टि भएका संक्रमितमा लक्षण देखिएको छ तर नेपाली संक्रमितमा (नरम) माइल्ड लक्षण वा कुनै लक्षण नै किन नदेखिएको होला भन्ने जिज्ञासा लाग्नु स्वाभाविक नै हो।
पहिलो कारण: नेपालमा मौसम परिवर्तन हुँदा वर्षको तीन पटक रुघाखोकी लाग्छ। त्यो मौसमी रुघाखोकीमा पनि कोरोना भाइरस वा मौसमी रुघाखोकी गराउने खालको संक्रमण पहिलादेखि नै हुन सक्छ।
अमेरिकन विश्वविद्यालयले २०११ देखि २०१४ सम्म सर्लाही जिल्लाका जन्मेदेखि ६ महिनासम्मका बच्चामा गरेको अनुसन्धानमा मौसमी रुघाखोकी गराउने चार प्रकार कोरोना भाइरसका परिवारका भाइरस भेटिएका थिए, जुन सन् २०१८ मा जर्नलमा प्रकाशित भएको छ। त्यसैले यसको विरुद्धमा नेपालीमा पहिलादेखि नै प्राकृतिक संक्रमण भएर पनि यो कोरोना भाइरसको विरुद्धमा प्रतिरोधात्मक क्षमता भएको हुन सक्छ।
दोस्रो कारण: नेपालमा क्षयरोगको भ्याक्सिन बिसिजी दिने गरिएको छ। भ्याक्सिन नपाएका व्यक्तिमा पनि क्षयरोगको किटाणुले गर्दा प्राकृतिक संक्रमण गराएर पनि यसको विरुद्धमा बनेको प्रतिरोधात्मक क्षमताले समेत कोरोना संक्रमणको विरुद्धमा काम गरेको हुन सक्छ। यसैको आधारमा युएसए, क्यानडा, नेदरल्याण्डमा चिकित्सक, नर्स, सफाइ कर्मचारीलाई बिसिजी खोप लगाएर कोरोना भाइरसको उपचारमा खटाइएको छ। यो अनुसन्धानबाट प्रमाणित हुन भने बाँकी छ।
बिसिजी खोप ब्याक्टेरिया विरुद्धको खोप हो। यसले बनाएको एन्टिबडीले यो रोगको लागि काम गर्दैन। तर यो खोप लगाइसकेपछि शरीरमा ‘टी लिम्फोसाइट’ सक्रिय हुन्छ। जसले कोरोना भाइरस संक्रमित कोषहरुलाई मार्छ र रोगको कडापनलाई कमजोर पार्छ।
तेस्रो कारण: नेपालमा लगाइने अन्य खोपहरु जस्तै: इन्फ्लुएन्जा भाइरस, हेमोफिलस इफ्लुएन्जा बी ब्याक्टेरिया विरुद्धको खोप, पोलियो, मिजल्स, रुबेला जस्ता भाइरस विरुद्ध दिएका खोपहरुको कारणले पनि हुन सक्छ। त्यो बारेमा भविष्यमा हुने अध्ययनबाट थप पुष्टि हुनेछ।
त्यसैले माथि उल्लेखित कारणहरुले नेपाली संक्रमितले सुरुको चरणमा भारसलाई मार्न सक्ने, भाइरसको मात्रा बढ्न नदिने हुनाले लक्षण नदेखिने वा देखिए पनि नरम खालका देखिने र रोग कडा हुन नसक्ने अनुमान गरिएको छ। नेपालीमा अहिले भनिएका कारणबारे प्रतिरोधात्मक प्रक्रिया बारेमा विस्तृत अनुसन्धान हुन बाँकी नै छ। त्यो अध्ययन अहिले नै सुरु गर्नु आवश्यक छ। अनुसन्धान गर्दा लक्षण नदेखिएका, नरम लक्षण देखिएका र कडा लक्षण देखिएका समूह (कोहर्ट) हरु बनाएर गर्नुपर्छ।
कोरोना भाइरसको विरुद्धमा बनेको इम्युनिटी कसरी जाँच गर्न सकिन्छ?
कोरोना भाइरसको विरुद्धमा बनेको इम्युनिटीको जाँच टी लिम्फोसाइट र बी- लिम्फोसाइटको सक्रियताको जाँच रगतमा भएको पिबिएमसीको जाँच गरेर साथै इन्टरफेरोन गामाको जाँच लगायत अन्य मार्करहरुको जाँच हुन आवश्यक छ।
पिसिआर परीक्षणबाट पुष्टि भएका संक्रमित नेपालीमा एन्टिबडीको जाँच गर्दा निको भएका ५० देखि ७० प्रतिशत बिरामीमा मात्र एन्टिबडी बनेको देखिन्छ। तसर्थ र्यापिड टेस्ट किटलाई कोरोना संक्रमण पत्ता लगाउन प्रयोग गर्नु उचित मान्न सकिँदैन। भारतमा पनि र्यापिड टेस्ट किटलाई फल्स निगेटिभ देखाएपछि रोग पहिचानका लागि प्रयोग नगर्ने निर्णय गरिएको छ।
र्यापिड टेस्ट किट प्रयोग गर्दा पहिला प्रयोगशालामा जाँच गरी त्यसले दिएको सुझाव अनुसार प्रयोग गर्दा उपयोगी र प्रभावकारी हुन सक्छ। नेपालमा त्यसरी प्रयोगशालामा जाँच नगरी प्रयोगमा ल्याइएको छ। नेपालमा नौ वटा र्यापिड टेस्ट किटलाई युएसए र क्यानडा एउटा एउटा र चीनका सात वटा किटहरु सो किटको कागजमा लेखेको सेन्ससेटिभिटीको आधारमा मात्र प्रयोगमा ल्याइएको हो।
नेपालमा प्रतिरोधात्मक क्षमतालाई कसरी उपयोग गर्न सकिन्छ?
पहिलो यो रोगको भाइरसको जिन विश्लेशण गरेर यस रोगको खोप बनाउन अनुसन्धान गर्न सकिन्छ। दोस्रो रोग लागेर निको भइसकेका बिरामीको रगतबाट निकालिएको प्लाज्माको प्रयोग गरेर कडा लक्षण देखिएका बिरामीको उपचार गर्न सकिन्छ।
प्लाज्मा थेरापी के हो ? यसलाई नेपालमा कसरि प्रयोगमा ल्याउन सकिन्छ ?
रोग लागेर निको भइसकेका बिरामीको रगतबाट निकालिएको प्लाज्माको प्रयोग गरेर कडा लक्षण देखिएका बिरामीको उपचार गर्ने विधिलाई प्लाज्मा थेरापी भनिन्छ।
कुनै संक्रमित व्यक्तिमा भाइरसको विरुद्धमा एन्टिबडी निर्माण हुन्छ। यसरी उत्पादन भएको इम्युनिटीलाई प्लाज्मा थेरापीको रुपमा उपयोग गर्न सकिन्छ। नेपालमा अहिलेसम्म संक्रमित ५० देखि ७० प्रतिशत बिरामीमा जाँच गर्दा एन्टिबडी देखिएको सन्दर्भमा सो एन्टिबडीको मात्रा कति छ? एन्टिबडीको प्रकार र उक्त एन्टिबडी भाइरसलाई निष्क्रिय गराउन सक्ने खालको गुण भएको छ कि छैन, त्यसको पहिला जाँच गरेर एकिन गर्नुपर्ने हुन्छ।
कुनै संक्रमित व्यक्तिमा एन्टिबडी बन्दा भाइरसलाई निष्क्रिय पार्न सक्ने खालको हुन सक्छ भने कुनै संक्रमित व्यक्तिमा बनेको एन्टिबडीले त्यो भाइरसलाई निष्क्रिय पार्न सक्दैन। यस अवस्थामा संक्रमित निको भइसकेको बेलामा त्यो एन्टिबडी भाइरसलाई निष्क्रिय पार्न सक्ने खालको भेटिएको खण्डमा र एन्डिबडीको मात्रा पर्याप्त भएको अवस्थामा त्यस्ता बिरामीको रगतबाट निकालिएको प्लाज्मालाई कडा रुपमा संक्रमण भएको संक्रमितको उपचारमा प्रयोग सकिन्छ। अहिलेसम्म यो उपचार विधि केही देशमा गरिएको छ र सबैभन्दा सस्तो उपचार विधि सावित भएको देखिन्छ।
तर, नेपाली संक्रमितमा कडा रुपको रोग नभएको र कडा रुपमा संक्रमित नभएको खण्डमा भाइरस निष्क्रिय पार्न सक्ने गुण भएका एन्टिबडी बन्न सक्ने सम्भावना कम हुन्छ। तसर्थ यसको सम्बन्धमा समेत अनुसन्धान हुन पहल गर्नुपर्छ।
विश्वका अन्य देशमा समेत यो भाइरसको संक्रमण भएपछि यो रोगको कडापन बढ्दै गएर अनि मात्र निको भएका बिरामीमा यस्ता भाइरसलाई निष्क्रिय पार्ने एन्टिबडी र मात्रा पर्याप्त पाइएको अनुसन्धानबाट देखिएको छ।
-(डा मिश्र भाइरोलोजिस्ट हुन्)