नेत्रलाल अर्याल
विश्व कोरोनाको चपेटामा परेको छ। कोरोनाको नयाँ संख्यामा दिनदिनै तिब्र रुपमा बृद्दि भइरहेको कारण सबैको ध्यान यसैमा गएको छ. तर डेंगुमा भने कमैको नजर गएको छ।कोरोनाकै कारणले गर्दा डेंगु, मलेरिया तथा अन्य सरुवा रोगहरु ओझेलमा परेको छ।
कोरोनाबाट बच्नका लागि विभिन्न किसिमका क्रियाकलाप अपनाएझै डेंगु मलेरिया तथा अन्य सरुवा रोगबाट बच्न पनि केही महत्वपुर्ण क्रियाकलाप अपनाउनु जरुरी हुन्छ।त्यसका लागि डेंगु, मलेरिया तथा अन्य सरुवा रोगबारे केही जानकारी दिने जमर्को गरेको छु ।
डेंगु रोग
डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग हो। यो रोग एडिस एजिप्टाई जातको संक्रमित लामखुट्टेको टोकाईबाट सर्दछ। यो रोगले वर्षातको मौसमको अन्त्यतिर महामारीको रूप लिने गर्दछ। विशेष गरि भाद्र, असोज महिनामा देखिने गर्छ तर पनि हाल बेला बेलामा बर्षा हुने कारणले बर्षाको पानी सतह वा अन्य बस्तुहरुमा जम्मा भई सो स्थानमा लामखुट्टेको बृद्दि विकास हुने सम्भावना बढी छ।
अझ रोचक तथा दुखको कुरा त के छ भने एउटा लामखुट्टेको जीवनकाल सालाखाला ३० दिनको हुन्छ जसले आफ्नो जीवनभर करीब ८०० वटासम्म अण्डा पार्ने गर्दछ। संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन् यसको अण्डा पानी बिना पनि महिनौसम्म जीवित रहन सक्छ। यो लामखुट्टेले सामान्यतया उज्यालोमा टोक्ने गर्दछ।पोथी जातको लामखुट्टेलाई फूल पार्नको लागि रगतमा प्रचूर मात्रामा पाइने प्रोटिनको जरुरत पर्ने भएकोले पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्दछ।
संक्रमित व्यक्तिबाट एक हप्तापछि लामखुट्टेले एउटा स्वस्थ मानिसलाई रोग सार्न सक्दछ।
भाले जातको लामखुट्टेले रगत खाँदैन बोटबिरुवाको रस चुसेर जीवन यापन गर्दछ।
संक्रमित लामखुट्टेका प्रत्येक अण्डाहरु बाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक नवजात लामखुट्टेहरु संक्रमित हुन्छन्। त्यसले अर्को स्वस्थ मानिसलाई टोकेमा उक्त व्यक्ति यो रोग बाट संक्रमित हुन्छ।
डेंगु रोगका लक्षण
उच्च ज्वरो आउनु, टाउको दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जोर्नी दुख्ने, जीउ सबै दुख्ने, रातोरातो बिमिराहरु देखा पर्नु यसका प्रमुख लक्षण हुन्।
मलेरिया (औलो)
यो रोग सङ्क्रमित पोथी एनफिलिज लामखुट्टेका कारणले सर्ने गर्दछ। लामखुट्टेले टोकेपछि औलोको परजीवी त्यसको र्याल हुँदै मानिसको रगतमा पुग्छ। त्यसपछि यो परजीवी कलेजोमा पुग्छ र वयस्क हुँदै सन्तान उत्पादन गर्छ।यो वर्षातको मौसमको अन्त्यतिर महामारीको रूप लिने गर्दछ।
औलो रोगका लक्षण
ज्वरो आउने, थकान महशुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरू देखिन्छन्। यो रोगले गम्भीर रूप लिएमा छाला पहेँलो हुने, सिजरहरू आउने, कोमामा जाने वा मृत्यु हुने सम्भावना हुन्छ। लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ।
डेंगु तथा औलो रोग रोकथाम तथा नियन्त्रणका उपाय
लामखुट्टेको टोकाइबाट बच्नुनै डेंगु तथा औलो रोकथामको मुख्य उपाए हो।
१. लामखुट्टेबाट बच्ने
• झ्याल ढोकामा जालीको प्रयोग गर्ने
• झूल को प्रयोग गर्ने
• लामो बाउला भएको लुगा लगाउने
• लामखुट्टेनासक औषधि लगाउने
२. लामखुट्टेको बासस्थान खोजि नष्ट गर्ने
• पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु गाडीको काम नलाग्ने पुरानो टायर, आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ ।
• पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ ।
• नियमित रुपमा नाला , ढलको सरसफाइमा गर्ने । पानी जम्ने स्थानमा डढेको मोबिल, मट्टितेल जस्ता पदार्थ छर्कने ।
३. लामखुट्टे मार्ने
• लामखुट्टेनासक औषधिको प्रयोग गर्ने
• जमेको पानी तथा झाडीमा लामखुट्टेनासक औषधि छर्कने
कोरोना भाइरस पश्चात सामाजिक दुरी कायम गर्ने , हात धुने ,स्यानिटाइजरको प्रयोग गर्ने , मास्कको प्रयोग गर्ने जस्ता ब्यबहारमा उल्लेखनिय रुपमा बृद्दि भएको छ।यसले पक्कैपनि कोरोना भाइरसबाट बच्नका लागि महत्तवपुर्ण भुमिका खेलेको छ।तर सबैको ध्यान कोरोना तिर गएको बेलामा डेंगु र मलेरिया भने ओझेलमा पारिएका छन्। रोगनै ओझेलमा परेको भए त अतिनै उत्तम हुने थियो तर रोगबाट बच्नका लागि अपनाउनु पर्ने क्रियाकलापहरु मात्र ओझेलमा परेको हो।
गर्मीयाम संगै लामखुट्टेको बृद्दि पनि उच्च रुपमा भइरहरेको छ। हाल निर्मित क्वारेण्टाइनहरु प्राय तराई क्षेत्रमा बढि संख्यामा छन र त्यसमा मानवको संख्या पनि बढि छ।कतै विद्यालय त कतै खुला चौरमा मानिसहरु दिन बिताउन बाध्य रहँदा लामखुट्टेको टोकाईबाट बच्ने बारे त्यति चासो नदिएको वा महत्व नबुझेर हो हेलचेक्रराई गरेको पाइएको छ।
तर यो बुझाउन जरुरी छ कि डेंगु र मलेरिया जस्ता लामखुट्टेको माध्यमबाट सर्ने रोगहरुबाट बच्ने एउटा मात्रै उपाए भनेको लामखुट्टेको टोकाई बाट बच्नु हो। यसको लागि ब्यापक रुपमा जनचेतनामा अभिबृद्धि गर्नु जरुरी छ।
अर्को तर्फ हेर्ने हो भने हाल निर्मित प्राय क्वारेण्टाइनहरु ब्यबस्थित हुन सकिरहेका छैनन। निश्चित मापदण्डको पालना गर्न नसकिएको अवस्थामा रहेका छन।
ब्यक्ति ब्यक्ति बिचको दुरि , बेड प्रति कोठा , छुट्टाछुट्टै सौचालय ,नुहाउने , कपडा धुने स्थान तथा पानीको ब्यबस्था, खानेपानी र खानेकुरामा गुणस्तरियता कायम गर्ने अर्को चुनौतीको बिषय हो। आधारभुत आवस्यकताहरु को कमिले गर्दा सरसफाइ कायम गर्न पनि मुस्किल पुगको छ।
यस्तो अवस्थामा खानेपानी तथा खानेकुराको गुणस्तरियता पनि ह्रास आउन सक्छ र बिभिन्न किसिमका सरुवा रोगहरु लाग्न सक्दछ।कम्तिमा खानेपानी सुद्धिकरण गरेर खानाले पनि पानीको माध्यमबाट सर्ने हैजा , झाडा पखाला , जण्डिस जस्ता रोगहरु बाट बच्न सकिन्छ।
आ-आफ्नो संथानबाट जनचेतना फैल्याउने काम गरि थप अरु रोगबाट क्षति हुनबाट आफु पनि बचौँ अरुलाई पनि बचाँऔ।
-(वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत अर्याल स्वास्थ्य निर्देशनालय, प्रदेश नं. ५, बुटवलमा कार्यरत छन्)